८० वरिष्ठ सहसचिवको एकैपल्ट सरुवा, को कहाँ पुगे ?


६ भाद्र २०७६, शुक्रबार
pm office 1

काठमाडौं, ६ भदौं । सरकारले निजामती सेवाका वरिष्ठ सहसचिवहरुलाई एकैपल्ट ठूलो संख्यामा सरुवा गरेको छ ।

सरकारले ८० जना वरिष्ठ सहसचिवको एकै पटक प्रदेशमा सरुवा गरेको हो । चालु आर्थिक वर्षभित्रमा सचिवमा बढुवा हुने वा उमेर हदका कारण अनिवार्य अवकास पाउने बाहेक प्रशासन र प्राविधिक दुवै समूहका गरी ती सहसचिवको प्रदेशमा सरुवा गरिएको छ ।

सहसचिव सरुवाको प्रस्ताव मन्त्रिपरिषद्बाट स्वीकृत भइसकेको छ । सरुवा भई जाने स्थान पनि तय भइसकेको र अब पत्र दिन मात्रै बाँकी रहेको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय स्रोतले जानकारी दिएको छ ।

प्रशासन सेवातर्फ वरिष्ठ सहसचिव वीरेन्द्रकुमार यादव हुन् । उनी अहिले पनि काठमाडौं बाहिरै छन् । २०३१ असार १५ गते जन्मिएका यादवको उमेरहदले अवकाश पाउने समय धेरै छ । उनले सचिव बढुवा हुन लिनुपर्ने तालिम नलिएकाले वरिष्ठको सूचीमा पहिलो नम्बरमा भएर पनि बढुवा हुन पाएका छैनन् । सहसचिवहरु चुडामणि शर्मा र चन्द्रमान श्रेष्ठमाथि भ्रष्टाचारको आरोप विचाराधीन रहेकाले उनीहरुको बढुवा हुने छैन ।

यो समूहमा बढुवाको योग्यता पुगेकामध्ये वरिष्ठ सहचिव दिनेश भट्टराई हुन् । भट्टराईसँगै वरिष्ठताको सूचीमा अगाडि रहेका सहसचिवहरु रामकृष्ण सुवेदी (गृह मन्त्रालय), एकनारायण अर्याल (महावाणिज्यदूत, कलकत्ता), रामशरण पुडासैनी (अर्थ मन्त्रालय) र अर्जुनप्रसाद पोखरेल (प्रमुख जिल्ला अधिकारी, रुपन्देही) को सरुवा नभएको स्रोतले जानकारी दिएको छ ।

सरुवाको सूचीमा राष्ट्रपति कार्यालयमा कार्यरत लक्ष्मीकुमारी बस्नेतपछिका वरिष्ठ सहसचिव रहेका छन् । अर्थ मन्त्रालयअन्तर्गत आन्तरिक राजश्व विभागका महानिर्देशक विष्णुप्रसाद नेपाललाई प्रदेश–१ को अर्थ तथा योजना मन्त्रालयको सचिव बनाइएको छ । भन्सार विभागका महानिर्देशक रामेश्वर दंगालको सरुवा गण्डकी प्रदेशमा भएको छ ।

उद्योग विभागका महानिर्देशक विनोदप्रकाश सिंहको पनि सरुवा भएको छ । उद्योगकै सहसचिव मधुकुमार मरासिनीको पनि सरुवा भएको छ । प्रशासनतर्फकै ५० जनाभन्दा धेरै वरिष्ठ सहचिवहरुको सरुवा भएको स्रोतले जनाएको छ । प्रदेश–१ को अर्थ तथा योजना मन्त्रालयका सचिव जीवनप्रकाश सिटौलाको सरुवा उद्योग मन्त्रालय काठमाडौंमा भएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७