लोकसेवाले १७५ उपसचिव र १०० सहसचिवको नयाँ भर्ना खुलाउँदै


२० भाद्र २०७६, शुक्रबार
Loksewa Aayog 1

काठमाडौं, २० भदौं । लोकसेवा आयोगले ठूलो संख्यामा नयाँ कर्मचारी भर्ना खुलाउने भएको छ ।
संघमा कर्मचारी समायोजनका कारण झण्डै दुई वर्षदेखि अवरुद्ध रहँदै आएको कर्मचारी भर्ना प्रक्रिया शुरु भएको छ ।

केन्द्रीय सरकारअन्तर्गत रिक्त रहेका विभिन्न सेवा समूहका १ सय सहसचिव र १७५ उपसचिवको पदपूर्ति प्रक्रिया शुरु भएको लोकसेवाले जानकारी दिएको छ ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले विभिन्न मन्त्रालय र निकायबाट माग भई आएको संख्याको आधारमा पहिलो चरणमा १ सय सहसचिव र १७५ जना उपसचिवको माग आकृति फारम लोकसेवा आयोगमा पठाउने निर्णय गरेको हो ।

मन्त्रालयको बिहीवारको सो निर्णयसँगै लोकसेवाले केन्द्रीय सरकारमा कर्मचारी भर्नाको प्रक्रिया थाल्ने जनाइएको छ । लोकसेवाले पनि आवश्यक तयारी थालिएको जानकारी दिएको छ ।

मन्त्रालयले आयोगलाई पठाउने निर्णय गरेको माग आकृति फारममा प्रशासन सेवाका ७० भन्दा बढी सहसचिवको माग गरिएको छ भने उपसचिवमा पनि प्रशासन सेवाकै बढी रहेको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रलायले जानकारी दिएको छ ।

मन्त्रालयको यस निर्णयसँगै संघमा रिक्त रहेका विभिन्न सेवा समूहका अन्य ७ हजार रिक्त पदमा पनि कर्मचारी भर्नाको प्रक्रिया समेत शुरु हुने बताइएको छ ।

केन्द्रीय सरकारमा लामो समयदेखि रिक्त पदहरूमा पदपूर्तिको प्रक्रिया शुरु हुन नसक्दा नीतिगत निर्णयदेखि सेवा प्रवाह समेत प्रभावित हुँदै आएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७