सुन भन्दै नक्कली गहना बेच्ने ज्वेलर्स पक्राउ


२५ भाद्र २०७६, बुधबार
sun thagi 1

मोरङ, २५ भदौं । सुन भन्दै नक्कली गरगहना बिक्री गरेर ठगी गर्ने मोरङका एक ज्वेलर्स सञ्चालकलाई प्रहरीले पक्राउ गरेको छ । मोरङको बूढीगंगा गाउँपालिका–२ मा सञ्चालित गणेश लक्ष्मी ज्वेलर्सका सञ्चालक ३६ वर्षीय जितेन्द्र साहलाई सुनको दाम लिएर नक्कली गहना बेचेको आरोपमा पक्राउ गरेको हो ।

विराटनगर महानगरपालिका–४ घर भएका साहलाई पक्राउ गरेर आवश्यक कारबाही अघि बढाउन अनुसन्धान थालिएको मोरङ प्रहरीका डीएसपी घनश्याम श्रेष्ठले बताए ।

डीएसपी श्रेष्ठका अनुसार साहले विभिन्न मिति र समयमा नक्कली सुनका गहनालाई सक्कली भन्दै आफ्नै ज्वेलर्सबाट बिक्री गरेको पुष्टि भएको छ । सर्वसाधारणलाई विश्वासमा पारेर झुक्याउँदै नक्कली सुनका गहनालाई सक्कली भनेर बिक्री गर्ने धन्दामा संलग्नता देखिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको उनको भनाइ छ ।

पछिल्लो समय साहले खड्गबहादुर श्रेष्ठलाई नक्कली सुनका दुईवटा बाला, दुईवटा औंठी, एउटा बेरुवा औंठी, सातवटा टप, १० वटा कुण्डल र जुलीसमेत सक्कली सुनको हो भन्दै बिक्री गरेको खुलेको छ ।

डीएसपी श्रेष्ठकाअनुसार साहले श्रेष्ठसँग नक्कली सुनका गहना बिक्री वापत १ लाख ४० हजार रुपैयाँ लिएको पनि खुलेको छ । उनले विभिन्न समयमा महिला तथा पुरुष गरेर आठ जनामाथि ८ लाख रुपैयाँ भन्दा बढी रकम ठगी गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

सुनका गहना भनेर सुन भन्दा सस्तोमा बिक्री गर्ने गरेको पाइएपछि प्रहरीले सामान परीक्षणका लागि पठाएको थियो ।

परीक्षणका क्रममा सुनका गहना भनेर बिक्री गरिएका वस्तु सुनको नभएको खुलेको डीएसपी श्रेष्ठले बताए ।

उनकाअनुसार साहविरुद्ध हालसम्म आठजनाले उजुरी दिएका छन् । प्रहरीले ठगिनेको संख्या बढ्न सक्ने जनाएको छ । साहविरुद्ध ठगी मुद्दा चलाउन अदालतबाट म्याद थप गरेर अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७