त्रिपुरेश्वरमा स्कुटर चेक गर्दा भेटियो स्रोत नखुलेको १३ लाख, मगर पक्राउ


३० भाद्र २०७६, सोमबार
pakrau

काठमाडौं, ३० भदौं । प्रहरीले काठमाडौंको त्रिपुरेश्वर स्कुटर चेक गर्दा स्रोत नखुलेको ठूलो रकमसहित एक जना पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा ओखलढुंगा मोलुङ गाउँपालिका–५ का घर भई हाल काठमाडौं डल्लु बस्दै आएका २२ वर्षीय उमेशकुमार मगर रहेका छन् ।

उनलाई १३ लाख ९ हजार ७०५ रुपैयाँ नगद र विभिन्न बैङ्क तथा वित्तीय संस्थाको ४१ लाख ६२ हजार ५ सय रुपैयाँ बराबरको चेकसहित आइतबार साँझ प्रहरीले पक्राउ गरेको हो ।

महानगरीय प्रहरी वृत्त कालीमाटीबाट खटिएको प्रहरीले उमेश सवार प्रदेश नम्बर ३–०२–००५ प ६१५२ नम्बरको स्कुटर जाँच गर्ने क्रममा उक्त नगद र चेक फेला पारी स्कुटर सहित उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

यता, प्रहरीलाई नगद १ हजार रुपैयाँ दिई आर्थिक प्रलोभनमा पार्न खोज्ने भक्तपुर दुवाकोट बस्ने दोलखा मेलुङ गाउँपालिका–२ का २६ वर्षीय गोपाल थापा मगरलाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ ।

चाँगुनारायण नगरपालिका–२ दुवाकोटस्थित गोपालको भट्टी पसल राति अबेरसम्म सञ्चालन गरेको फेला पारी महानगरीय प्रहरी प्रभाग दुवाकोटबाट खटिएको प्रहरीले पसल बन्द गराउन खोज्दा उक्त नगद दिइ प्रलोभनमा पार्न खोजेकोले उनलाई प्रहरीले पक्राउ गरेको हो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७