कठ्याङ्ग्रिदो जाडोमा विद्यार्थी चिसो भुइँमा बसेर पढ्न बाध्य


१० पुष २०७४, सोमबार
siraha schook 2

महोत्तरी : महोत्तरी जिल्लाको रानी रतबारास्थित लक्ष्मीनारायण आधारभूत विद्यालयका विद्यार्थी पुसको कठ्याङ्ग्रिँदो जाडोमा चिसो भुइँमा बसेर पढ्न बाध्य छन् ।

siraha schook 2जिल्लाको महोत्तरी गाउँपालिका वडा नम्बर–४ मा पर्ने रानी रतबारास्थित लक्ष्मीनारायण आधारभूत विद्यालयमा कक्षा १ देखि ८ सम्म गरी जम्मा ४७८ विद्यार्थी अध्ययनरत रहेकामा विद्यालयमा टेबल र बेञ्चको अभावमा उनीहरु विगत १० दिनदेखि जिल्लामा बढेको कठ्याङ्ग्रिँदो जाडोमा चिसो भुइँमा बसेर पढ्न बाध्य रहेका देखिन्छन् । चिसोले तराईका कतिपय जिल्लाका विद्यालय बन्द भइसकेका छन् । तर महोत्तरीका सो विद्यायलका सयौं बालबालिका भने टिनले छाएको छानोमा चिसो भुइँमा बसेर राज्यले खोजे जस्तै नागरिक बन्ने प्रयासमा निरन्तर अध्ययनमा लागेका छन् ।

सयौं बालबालिका अध्ययनरत सो विद्यालयमा टेबल र बेञ्च नभएपछि बालबालिका आ–आफ्ना घरबाट नै बोरा बोकेर विद्यालय धाउने गरेका छन् । आवश्यक फर्निचरको अभावमा घरबाटै ल्याएको बोरामा बसेर पढ्न विवश विद्यार्थी चिसो भुइँमा बसेर अध्ययन गर्नुपर्दा आफूहरुलाई रुघाखोकी लाग्ने, ज्वरो आउने र अन्य शारीरिक समस्या हुने गरेको बालबालिकाको गुनासो छ । चिसोले त्यसै त बालबालिकालाई सोझै असर पार्ने गर्छ । त्यसमाथि विद्यार्थी भुइँमै बसेर पढ्नुपर्ने बाध्यता र केही दिनदेखि तराईमा बढेको चिसोका कारण विद्यालयमा विद्यार्थी पनि घट्दै जान थालेको विद्यालयका शिक्षकको भनाइ छ ।

आर्थिक अभाव, सरकारको बेवास्ता तथा विद्यालय व्यवस्थापन समितिको लापर्बाहीका कारणले गर्दा बालबालिका अध्यारो छाप्रोमा चिसोमै भुइँमै बसेर अध्ययन गर्न बाध्य रहेको स्थानीय सर्वसाधारणको गुनासो रहेको छ । जिल्ला शिक्षा कार्यालय महोत्तरीले वर्षेनी सो विद्यालयमा भौतिक निर्माणका लागि बजेट निकासा गरे पनि विद्यालय समितिले सो विद्यालयमा हालसम्म बेञ्च टेबुलको व्यवस्था नगरेका कारण विद्यार्थी आफू बस्नका लागि बोरा र गुन्द्री बिहान ल्याउने र साँझ घरमा लग्ने गरेका छन् ।

सो विद्यालयमा विद्यार्थी भुइँमा बसेर पढ्दै गरेकाबारे जिल्ला शिक्षा अधिकारी ठूलोबाबु दाहाललाई जानकारी गराउँदा उनले विद्यालयमा भौतिक पूर्वाधारका लागि गएको बजेटबारे छानविन गरिने बताए । महोत्तरीको महोत्तरी गाउँपालिका–४ मा रहेको लक्ष्मीनारायण माध्यमिक विद्यालय त एउटा प्रतिनिधि उदाहरण मात्र हो । यस जिल्लाका अन्य कैयौं ग्रामीण भेगका बालबालिका पनि यसैगरी फर्निचरबिनाको चिसो भुइँमा पढ्न बाध्य छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७