चीनलाई तनाव गराउने अमेरिकी संसदद्वारा हङकङसम्बन्धी विधेयक पारित, के छ विधेयकमा ?


३० आश्विन २०७६, बिहीबार
xijingping and donald trump 1

काठमाडौं, ३० असोज (एजेन्सी) । अमेरिकी संसदद्वारा हङकङमा गरिरहेको प्रदर्शनकारीको पक्षमा एउटा विधेयक पारित गरेको छ । अमेरिकाको तल्लो सदन हाउस अफ रिप्रिजेन्टेटिभले ‘हङकङ ह्युमन राइट्स एन्ड डेमोक्रेसी एक्ट’ सर्वसम्मत पास गरेको हो ।

अमेरिकी प्रतिनिधिसभाको सभामुख न्यान्सी पेलोसीले ट्वीटरमा हङकङ सम्बन्धी नयाँ कानून बनेकोमा अमेरिकीहरु खुशी भएको बताएकी छिन् । 

‘व्यावसायिक चासोका कारण अमेरिकाले चीनमा मानवअधिकारबारे बोलेन भने हामीले विश्वका कुनै पनि कुनामा मानवअधिकारबारे आवाज उठाउने नैतिक धरातल गुमाउनेछौँ,’ सभामुख नेन्सी पेलोसीले भनिन् ।

यस्तै डेमोक्र्याट सांसद बेने रे लुजानले भने, ‘सदनले हङकङका जनतालाई एउटा बलियो सन्देश दिएको छः प्रजातन्त्र र न्यायका लागि भइरहेको लडाइमा हामी तपाईंहरूका साथ छौँ । ’
अमेरिकी विधेयकको हङकङका आन्दोलनकारीले स्वागत गरेका छन् । अमेरिकाको यस कानुन चीन र हङकङको स्थानीय सरकारलाई समस्यामा पार्ने किसिमको भएको बताइएको छ ।


हङकङका प्रदर्शनकारीको पक्षमा अमेरिकाले विधेयक नै पास गरेपछि चीनले आपत्ति जनाएको छ । विधेयकले कानुनको रूप लिए त्यसले चीन–अमेरिका सम्बन्धलाई नै क्षति र्पुयाउने चेतावनी चीनले दिएको छ ।

‘तल्लो सदन हाउस अफ रिप्रिजेन्टिेटिभबाट कथित हङकङ ह्युमन राइट्स एन्ड डेमोक्रेसी एक्ट पारित भएकोमा चीनले कडा विरोध गर्छ,’ चिनियाँ विदेश मन्त्रालयकी प्रवक्ता जेङ सुआङले भनिन् । उनले विधेयक पारित गरेपछि हङकङमा हस्तक्षेप नगर्न अमेरिकाले चीनलाई चेतावनी दिएको छ ।
गत शनिबार र आइतार मात्र चीनका राष्ट्रपति सी चिनफिङले नेपाल भ्रमणका क्रममा रहेका बेला चीनको ‘एक चीन नीति’ नमान्ने कुनै पनि शक्ति परास्त गर्ने बताएका थिए ।

अमेरीकाको माथिल्लो सदन सिनेटबाट भने विधेयक पारित हुन बाँकी छ । सो विधेयक कानुन बनेमा अमेरिकाबाट हङकङ निर्यात हुने टियर ग्याँस र रबर बुलेटमा रोक लाग्नेछ । ती हतियारलाई हङकङ प्रहरीले अनावश्यक रूपमा प्रयोग गरेको अमेरिकी दाबी छ ।

के छ विधेयकमा ?
हाउस अफ रिप्रिजेन्टेटिभबाट पारित भएको सो विधेयकलाई हङकङमा गत जुन महिनामा प्रदर्शन सुरु भएलगत्तै पेस गरिएको थियो ।

विधेयकलाई रिपब्लिकन र डेमोक्र्याटिकले समर्थन गरेका थिए । विधेयक तल्लो सदनमा ध्वनि मतले पारित भएको थियो

‘हङकङ चीनको अभिन्न अंश हो, तर उसको अलग्गै कानुनी र आर्थिक प्रणाली छ,’ विधेयकमा भनिएको छ । हङकङको आधारभूत कानुनले रक्षा गरेको हङकङको नागरिक स्वतन्त्रता र विधिको शासनलाई चीनले अतिक्रमण गरेको विधेयकमा जनाइएको छ ।

शान्तिपूर्ण आन्दोलनमा पक्राउ परेका प्रदर्शनकारीलाई अमेरिकाले भिसाको अनुमति दिनुपर्नेसमेत विधेयकमा उल्लेख गरिएको छ । अन्तर्राष्टिय तहमा मान्यता दिइएको मानवअधिकारको उपयोग गरिरहेको अवस्थामा प्रदर्शनकारीलाई यातना दिने व्यक्तिलाई अमेरिकाले प्रतिबन्ध लगाउनुपर्ने विधेयकमा जनाइएको छ ।

हङ्‌कङमा प्रर्दशनको कारण के हो ?

केही समयअघि प्रस्तुत एउटा विधेयकमा मुख्यभूमि चीन, ताइवान र मकाऊबाट आपराधिक सुपुर्दगीको अनुरोध आएमा हङ्‌कङ अदालतले प्रत्येक मुद्दाका आधारमा गरेको निर्णयमा टेकेर सुपर्दगी गर्न सकिने व्यवस्था राखिएको थियो।

ताइवानमा बिदा मनाउन गएका बेला हङ्‌कङका एक व्यक्तिले आफ्नी प्रेमिकाको हत्या गरेको आरोप लागेपछि निजलाई ताइवानसमक्ष बुझाउन नसकेको सन्दर्भ पारेर यो विधेयक ल्याइएको थियो।

चीन सरकारले राजनीतिक विपक्षीहरूलाई तारो बनाउन सो विधेयकका आधारमा बन्ने कानुनको दुरुपयोग हुने त्रासका कारण हङ्‌कङमा त्यसको विरोध भएको थियो।

ठूलो विरोध भएपछि सो विधेयक फिर्ता भयो।  हङकङमा सरकारविरोधी प्रदर्शन रोकिएको छैन, बरु झन् हिंश्रक बनेको छ । आन्दोलनका क्रममा पक्राउ परेकालाई निसर्त छोड्नुपर्ने, घाइतेको निःशुल्क उपचार गर्नुपर्ने र हङकङवासीले बृहत प्रजातान्त्रिक अधिकार उपभोग गर्न पाउनुपर्नेलगायतका माग प्रदर्शनकारीले गरेका छन् । उनीहरूले प्रमुख कार्यकारी लामको राजीनामासमेत मागेका छन् ।
जुन महिनायता हङ्‌कङ आन्दोलित छ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७