गुण्डा नाइकेहरूमाथि सम्पत्ति शुद्धीकरणको अनुसन्धान


२ मंसिर २०७६, सोमबार
money 7qO2Yi7UeQ

काठमाडौं, २ मंसिर । गुण्डागर्दी तथा आपराधिक गतिविधिबाट सम्पत्ति आर्जन गरेको आशंकामा गुण्डा नाइकेहरूमाथि सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले छानबिन थालेको छ । प्रहरीको सहयोगमा विभागले उनीहरूमाथि छानबिन थालेको हो ।

जुवा खालबाट पक्राउ परेका बलराम सापकोटामाथि विभागले थुनामै राखेर अनुसन्धान गरिरहेको छ । उनले जुवा खेलेर तथा जुवाडेलाई पैसा लगानी गरेरै करोडौँ कमाएको आशंकामा विभागले छानबिन थालेको हो ।

६ वर्षअघि पनि उनीमाथि विभागले छानबिन गरेकोमा दबाबका भरमा बीचैमा अनुसन्धान रोकिएको थियो । जुवाखालबाट पक्राउ परेका उनीसहित केही व्यक्तिमाथि विशेष अनुसन्धान हुने विभागका एक अधिकारीले बताए । दुई करोड ६७ लाखसहित ९ कात्तिकमा पक्राउ परेका उनीहरूलाई सोमबार सम्पत्ति शुद्धीकरण विभाग बुझाइएको थियो ।
‘बाघे’ को सम्पत्ति छानबिनमा
गुण्डागर्दीको आडमा निर्माण व्यवसायको सिन्डिकेट चलाएका सुकबहादुर लामा ‘बाघे’ को सम्पत्तिको पनि विभागले छानबिन गर्ने भएको छ ।

ट्रक नै ‘मोडिफाई’ गरेर तोकिएभन्दा कम तौल सामान बेचेर ठगी आरोपमा उनीसहित २३ जना निर्माण सामग्री व्यवसायी पक्राउ परेका थिए । ठगी मुद्दामा अदालतको आदेश आएलगत्तै प्रहरीले उनीहरूलाई सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागमा बुझाउने तयारी गरेको छ ।

पाँच जनाको मुद्दा सर्वाेच्चमा
सात वर्षअघि विभागले पाँच गुन्डा नाइकेविरुद्ध मुद्दा दायर गरेको थियो । गणेश लामा, दीपक मनाङे भनिने राजीव गुरुङ, चक्रे मिलन (मिलन गुरुङ), परशुराम बस्नेत र अभिषेक गिरीविरुद्ध विभागले मुद्दा दायर गरेकोमा लामाबाहेक अरूले सफाइ पाएका थिए । सो मुद्दा हाल सर्वाेच्च अदालतमा छ ।

परदेशीको सम्पत्ति रोक्का
कीर्ते तमसुक गराई २९९ गरिबमाथि ठगी गर्ने सर्लाही मलंगवाका श्यामकृष्ण साह (श्याम परदेशी) को चलरअचल सम्पत्ति रोक्का भएको छ । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले उनीमाथि छानबिन थालेको हो । हाल उनी पुर्पक्षका लागि गौर कारागारमा थुनामा छन् ।

परदेशी जेल पुग्दा पनि पीडित भने त्रासमै छन् । उनी छुटेमा विभागमा उपस्थित गराउन भन्दै गत १८ कात्तिकमा विभागले जिल्ला प्रहरी कार्यालय सर्लाहीलाई पत्राचार गरेको छ । सर्वसाधारण ठगेर करोडौं कमाएको भन्ने समाचारका आधारमा उनीमाथि विभागले छानबिन थालेको हो । नयाँ पत्रिका दैनिकबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७