१३ औं साग : १७ खेलमार्फत २१ स्वर्णका लागि हुँदै प्रतिष्पर्धा

कस्तोे रहला आज नेपालको खेल ?


१८ मंसिर २०७६, बुधबार
2nd south asin games medal12 scaled

काठमाडौं, १८ मंसिर । नेपालमा तेस्रो पटक आयोजना भइरहेको १३ औं दक्षिण एशियाली खेलकुद (साग) अन्तर्गत आज (बुधबार) १७ खेल विधामा २१ स्वर्णका लागि खेलाडीहरु भिड्दै छन् ।

बुधबार एथलेटिक्स, ब्याडमिन्टन, महिला र पुरुषको क्रिकेट, साइकलिङ, महिला र पुरुषको फुटबल, गल्फ, ह्याण्डबल, कबड्डी, कराते, खोखो, सुटिङ, टेबल टेनिस, टेनिस, तेक्वान्दो, ट्रायाथलन र उसुका खेल हुँदैछन् ।

एथलेटिक्समा तीन स्वर्णको फाइनल हुँदैछन् । महिला र पुरुषको लङ्ग जम्प, हाई जम्प र डिक्कस थ्रोका फाइनल हुँदैछन् भने आठ सय मिटर दौड, २ सय मिटर दौड र ४ सय मिटर हर्डल्सको पुरुष र महिलातर्फकै छनोट चरणका खेल हुनेछन् ।

यस्तै ब्याडमिन्टनतर्फ सिंगल्स र डबल्सका क्वार्टर फाइनलका खेलहरु हुने आयोजकले जानकारी दिएका छन् । क्रिकेटमा पुरुषतर्फ बंगलादेश यू–२३ र माल्दिभ्स तथा श्रीलंका यू–२३ र भुटान प्रतिष्पर्धा गर्दैछन् ।

पोखरामा हुने महिला क्रिकेटमा बंगलादेश र नेपाल तथा श्रीलंका र माल्दिभ्स प्रतिष्पर्धा गर्दैछन् । साइकलिङमा डाउनहिल च्याम्पियनसिपको फाइनल हुँदैछ । फुटबलतर्फ नेपाल र श्रीलंका प्रतिष्पर्धा गर्दैछन् । खेल नेपाली समय अनुसार साँझ पाँच बजे हुने जनाइएको छ ।

पोखरामा हुने महिला फुटबलतर्फ नेपाल र माल्दिभ्सबीच खेल हुँदैछ । गोकर्णमा गल्फका ब्यक्तिगत र टिम इभेन्टका दोस्रो चरणका खेलहरु हुँदैछन् । पोखरामा हुने ह्याण्डबलमा पुरुषतर्फ नेपाल र पाकिस्तान खेल्दैछन् भने महिलातर्फ नेपाल र बंगलादेश प्रतिष्पर्धा गर्दैछन् ।

यस्तै बुधबार नै पुरुषतर्फ भारत र बंगलादेश र महिलातर्फ भारत र माल्दिभ्स पनि खेल्दैछन् । यस्तै कराँते प्रतियोगिता बुधबारदेखि सकिँदैछ ।

बुधबार ब्यक्तिगत कुमितेतर्फ पुरुषको ५० किलोमुनि र महिलाको ६१ किलोमाथिमा प्रतिस्पर्धा हुँदैछ । यस्तै महिला र पुरुषको टिम कुमितेको फाइनल पनि हुँदैछ ।

खोखोमा महिलातर्फ बुधबार नेपालले स्वर्ण पदकका लागि भारतसँग प्रतिष्पर्धा गर्दैछ । पुरुषतर्फ भने भारत र बंगलादेश स्वर्ण पदकका लागि खेल्दैछन् ।

सुटिङमा पनि महिलाको थ्री पोजिसन राइफल र पुरुषको एयर राइफलका प्रतिष्पर्धा हुँदैछन् । तेक्वान्दोमा ६ स्वर्णका लागि प्रतिष्पर्धा हुने जनाइएको छ । पुरुषको ६३ किलोमुनि, ७४ किलोमुनि र ८७ किलोमाथिको प्रतिष्पर्धा हुनेछ भने महिलातर्फ ५३ किलोमुनि, ६२ किलोमुनि र ७३ किलोमाथिमा प्रतिष्पर्धा हुने जनाइएको छ ।

टेनिसमा महिला र पुरुषको टिम इभेन्टका फाइनल हुनेछन् । महिलाको फाइनलमा भारत र श्रीलंका प्रतिष्पर्धा गर्दैछन् भने पुरुषतर्फ पाकिस्तान र भारत प्रतिष्पर्धा गर्नेछन् ।
ट्रायाथलन अन्तर्गत बुधबार मिक्स रिलेका स्वर्ण पदकका लागि प्रतिष्पर्धा हुँदैछन् । यस्तै टेबल टेनिसमा पुरुष र महिलाको सिंगल्स तथा डबल्सका खेलहरु सञ्चालन हुँदैछन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७