भरतपुर विमानस्थल खुल्यो, पूर्वका दुई विमानस्थलमा सेवा प्रदान


२५ मंसिर २०७६, बुधबार
bharatpur airport

चितवन, २५ मंसिर । भरतपुर विमानस्थल आजदेखि सञ्चालनमा आएको छ । नागरिक उड्डयन प्राधिकरण भरतपुरले धावन मार्ग मर्मतसम्भार गर्नका लागि मंसिर १५ गतेदेखि विमानस्थल बन्द गरेको थियो ।

धावन मार्ग मर्मत र रङरोगनका काम सम्पन्न भएसँगै विमानस्थल आजदेखि सञ्चालनमा ल्याइएको कार्यालयका प्रमुख पवनकुमार गौतमले जानकारी दिए । विमानस्थलको धावनमार्गमा मर्मतसम्भार र माथि कालोपत्रे थप गरिएको छ ।

गौतमका अनुसार धावनमार्ग मर्मतसँगै भ्रमण वर्षलाई लक्षित गर्दै विमानस्थललाई आकर्षक बनाइएको छ । भरतपुर विमानस्थलबाट दैनिक बुद्ध र यतिका पाँच–पाँच वटा जहाजले काठमाडौं र एकरएक वटा जहाजले पोखरा उडान भर्दै आएका छन् ।

पूर्वका दुई विमानस्थलमा सेवा प्रदान गरिने
पूर्व क्षेत्रको दुई विमानस्थलमा सीता एयर र माउन्टेन हेलिकोप्टरले सेवा प्रदान गर्ने भएको छ । खासगरी धार्मिक पर्यटकका लागि शुरु गरिएको यो सेवाबाट हलेसी महादेव र ताप्लेजुङको पाथीभराको दर्शन गर्न चाहने पर्यटकका लागि निकै फलदायी बन्ने सीता एयरका प्रबन्धक निर्देशक राजेन्द्रबहादुर सिंहले जानकारी दिए ।

उनले पूर्व क्षेत्रमा सबैभन्दा बढी विमानस्थल रहे पनि निजी क्षेत्रले सो विमानस्थलको उपयोग नगरिरहेको अवस्थामा सीता एयरले चालेको पाइलाबाट प्रदेश सरकार र सङ्घीय सरकारको लक्ष्यलाई पूरा गर्न मद्दत गर्ने विश्वास व्यक्त गरे ।

सीता एयरले भद्रपुर र विराटनगर विमानस्थलबाट हप्तामा एक पटक सुकेटार र लामिडाँडा उडान भर्ने तथा यी दुवै विमानस्थलबाट हलेसी र पाथीभरा दर्शन गर्न हेलिकप्टर उपलब्ध हुने प्रबन्धक सिंहले जानकारी दिए ।

प्याकेज टूरका लागि एक यात्रुले रु २३ हजार तिर्नुपर्ने र ती यात्रुले हवाईजहाज एवं हेलिकोप्टरको सुविधा पाउने भनिएको छ । खासगरी पर्यटन वर्ष २०२० लाई लक्षित गरी ल्याइएको सो सेवाले नेपाल–भारतका लागि हजारौं तीर्थालुले लाभ पाउने अनुमान गरिएको छ ।

पहाडी क्षेत्रका विमानस्थल ५०० देखि ७०० सम्मको रनवे हुने र यस्ता रनवेमा ठूला जहाज जान नसक्ने अवस्थामा सीता एयरले सेवा शुरु गर्नु यस क्षेत्रका जनताका लागि फाइदा पुग्ने बताइएको छ ।

यही मंसिर २९ गतेदेखि शुरु हुने उक्त सेवाबाट यस क्षेत्रका होटल व्यवसायी र ट्राभल्स सञ्चालक उत्साही भएका ट्राभल्स एवं होटल व्यवसायी भविष्य श्रेष्ठले बताए । मोरङ व्यापार सङ्घका अध्यक्ष एवं सीता एयरका प्रवद्र्धक प्रकाश मुन्दडाले नेपाल वायु सेवा निगमले फाटफुट उडान भर्ने सो स्थानका लागि सीता एयरले गरेको प्रयास सराहनीय रहेको बताए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७