उपत्यकाका चालकलाई ‘ट्राफिक नियम र यात्रुमैत्री’ व्यवहार तालिम


२६ मंसिर २०७६, बिहीबार

काठमाडौं, २६ मंसिर । काठमाडौँ महानगरपालिकाले ट्राफिक व्यवस्थापनलाई सुरक्षित र मर्यादित बनाउन सवारी चालकलाई सचेतनामूलक तालीम दिने भएको छ ।

सवारी चालकको व्यवहारमा परिवर्तन गर्नका लागि उनीहरुलाई योजनाअनुरुप प्रशिक्षण दिन लागिएको हो । पहिलो चरणमा करीब दुई हजार ५०० सवारी चालकलाई तालीम दिइने महानगरपालिकाले जनाएको छ । तालीममा उनीहरुलाई यात्रुसँग गनुपर्ने मीठो व्यवहार, कहाँ रोक्ने, कसरी यात्रु ओराल्ने भन्ने कुरा व्यवहारमा लागू गराउनका लागि प्रशिक्षण दिन लागिएको महानगरपालिकाका प्रवक्ता ईश्वरमान डङ्गोलले जानकारी दिए ।

सार्वजनिक यातायात चालकलाई दिइन लागिएको उक्त प्रशिक्षणका लागि काठमाडौँ उपत्यकामा सञ्चालित विभिन्न यातायात व्यवसायी प्रालिलाई पत्राचार गरिएको उनको भनाइ छ । प्रालिले सहभागी गराउनका लागि चालकको नामावली पठाएपछि महानगरले तालीमको आयोजना गर्नेछ । सचेतनामूलक तालीमपछि यात्रु र चालकबीचको सम्बन्ध सुमधुर हुनुका साथै दुर्घटना समेत न्यूनकिरण हुने विश्वास गरिएको छ ।

काठमाडौंका सडकमा गुड्ने सवारी साधनमध्ये एक दशमलव पाँच प्रतिशत यात्रु मात्रै साइकलमा यात्रा गर्ने गरेका छन् । अन्य सबै निजी वा सार्वजनिक सावरी साधनको प्रयोग गर्ने गर्दछन् । भौगोलिक अवस्था, जलवायु र आकारका दृष्टिले काठमाडौँ उपत्यका पैदल यात्रा तथा साइकल प्रयोगका लागि अनुकूल मानिन्छ । तर यसको अभ्यास अत्यन्तै कम भएको छ भने सार्वजनिक सवारी साधनको बढ्दो प्रयोग र अस्वस्थ प्रतिस्पर्धाका कारण सवारी दुर्घटना दिनहुँ जस्तै हुने गरेका छन् ।

छोटो तथा मध्यम दूरीका लागि शहरका प्रायःजसो सबै ठाउँमा सजिलै हिँडेर र साइकलबाट पुग्न सकिन्छ । उपयुक्त भौतिक पूर्वाधार तथा नीति नियमको अभावमा यस्ता वातावरणमैत्री यातायात प्रणाली अवलम्बन गर्न शहरवासीलाई कठिनाइ भइरहेको छ । ठूला सवारी साधनको कम प्रयोग गरेर साइकल यात्रालाई प्रोत्साहन गर्नका लागि आगामी शनिबारदेखि पहिलो चरणमा माइतीघर तीनकुने साइकल मार्गको सञ्चालन तयारी समेत गरिसकिएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७