‘सर्च अपरेसन’ क्रममा भारतका लागि सहिद भए अर्जुन


१९ पुष २०७६, शनिबार
arjun thapa magar

काठमाण्डौ, १९ पुस । कश्मीरको राजोरी जिल्लाको नियन्त्रण रेखा (एलओसी) नजिक नौशेरा क्षेत्रमा केही दिनदेखि तीन जना संदिग्ध घुसेको भन्ने खबर पाएपछि गएको मङ्गलबारदेखि भारतीय सुरक्षा बलले पूरै इलाकामा ‘सर्च अपरेसन’ चलाएका थिए । 


मंगलबार बिहान सुरक्षा बलले मंगला देई क्षेत्रमा तीन जना संदिग्धलाई देखेका थिए । त्यसपछि सुरक्षा बलले पूरै इलाकामा सर्च अपरेसन चलाएको थियो ।

साँझसम्म पनि संदिग्धका बारेमा केही थाहा पाएका थिएन । तर बुधबार उनीहरुले नै फाइरिङ सुरु गरेपछि सुरक्षा बलले पनि जवाफी कारबाही सुरु गरेको थियो ।

यसैबीच आतंकवादीको गोली लागेर नेपालका गोरखा जिल्लाको विकट रिप गाउँका २५ वर्षीय जवान अर्जुन थापामगर र भारतका सन्दीप सावन्त रघुनाथका घाइते भए । उनीहरुलाई तत्काल उपचारका लागि अस्पताल र्पुयाए पनि उनीहरुको मृत्यु भयो ।

सैन्य प्रवक्ता कर्णेल देवेन्द्र आनन्दले नौशेरा क्षेत्रमा घेराबन्दी र खोजी अभियानमा दुई जना जवान शहीद भएको बताए ।

त्यहाँबाट तीन जना आतंकवादीलाई सुरक्षा बलले नियन्त्रणमा लिए । अहिले पनि खोजतलाश अभियान जारी छ ।

उच्च सम्मानका साथ अन्त्येष्टि
आतङ्कवादी आक्रमणमा ज्यान गुमाएका नेपालका अर्जुन थापा मगरको शुक्रबार उच्च सैनिक सम्मानका साथ अन्त्येष्टि गरिएको छ ।

भारतको पश्चिम बङ्गाल राज्यको बागडोगरा सैनिक क्याम्पमा अर्जुनको पारिवारको उपस्थितिमा उच्च सम्मानका साथ अन्त्येष्टि गरिएको हो । उनीसँगै आक्रमणमा ज्यान गुमाएका भारतीय नागरिक सावन्त सन्दीप रघुनाथको पनि अन्त्येष्टि गरिएको हो ।

मृतकको शवमा सैनिक कमाण्डर, विशिष्ट अधिकारी लगायतले माल्यार्पण गर्दै हार्दिक श्रद्धाञ्जली प्रदान गरेका थिए । अर्जुन र सन्दीप निकै अनुशासित र कर्मनिष्ठ सैनिक भएको भन्दै सेनाले प्रशंसा गरेको छ ।

२५ वर्षे जवान अर्जुन थापा मगर गोरखा जिल्लाको विकट गाउँ रिपका हुन् । उहाँकी श्रीमती सरिता थापा मगर हुनुहुन्छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७