झापाका दुई वटा सडक कालोपत्र हुँदै

झापा, २० पुस । झापाको धुलाबारी हुँदै ज्यामिरगढी– भद्रपुर सडकखण्ड र धुलाबारी–इरौटार सडकखण्ड कालोपत्र हुने भएको छ ।
१ नं प्रदेश सरकारले धुलाबारी–भद्रपुर सडकखण्डका लागि रु २५ करोड ३२ लाख ८४ हजार ८२२ र धुलाबारी–इरौंटार सडकखण्डका लागि रु ४६ करोड २३ लाख ८२ हजार ९८३ बजेट विनियोजन गरेसँगै दुईवटा सडक कालोपत्र हुने भएका हुन् ।
दुई चरणमा हुने कालोपत्रको शिलान्यास प्रदेश नं १ का आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बोले शिलान्यास गरे । धुलाबारी–भद्रपुर सडकखण्ड हिम्डुङ्ग एन्ड थोकर सरोज जेभीले कालोपत्र गर्ने भएको छ । सो सडक २०७९ साल असार ३१ गतेसम्ममा निर्माणसम्पन्न गर्ने सहमति भएको छ ।
यसैगरी प्याकेज २ मा धुलाबारी– इरौंटार सडकखण्ड कालोपत्र हुने भएको छ । कन्काई झापाली जेभी विर्तामोडले निर्माणको जिम्मा लिएको सो सडक २०७९ साल असार ३१ गते निर्माण सम्पन्न गर्ने सम्झौता भएको छ ।