काठमाडौंमा १० करोडको तरुल, भाउ ९१ प्रतिशतले वृद्धि


१ माघ २०७६, बुधबार
tarul 2

काठमाडौं, १ माघ । आज माघेसङ्क्रान्ति अत्यधिक तरुल खपत हुने दिन । यसका लागि काठमाडौंका बजारमा सिमल तरुल, हात्तीपाइले तरुल, घर तरुल, वन तरुल, सिमल तरुल र पानी तरुल भित्रिएको छ ।

देशकै ठूलो तरकारी बजार कालीमाटी फलफूल तथा तरकारी बजारमा तरुल किनबेच गर्नेको भीड लागेको छ । माघेसङ्क्रान्तिकै अवसर पारेर अत्यधिक बिक्री हुने गरेकाले नेपालमा तरुलको व्यावसायिक खेती पनि सुरु भइसकेको छ ।

यो वर्ष माघे सङ्क्रान्तिका लागि काठमाडौं उपत्यकामा भित्रिएको तरुल गत वर्षको तुलनामा महँगिएको छ । उपत्यकाको बजारमा मागभन्दा कम तरुल भित्रिएपछि भाउ महँगिएको हो ।

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका वरिष्ठ योजना अधिकृत विनय श्रेष्ठले यो वर्ष तरुलको आयात बढेसँगै माग पनि बढेकाले बजारमा यसको मूल्य पनि बढेको जानकारी दिए । उनका अनुसार गत वर्ष माघे सङ्क्रान्तिका लागि एक हजार टन तरुल भित्रिएकोमा यसपटक भने झण्डै एक हजार ५०० टनको हारहारीमा तरुल भित्रिएको छ ।

समितिका अनुसार माघे सङ्क्रान्तिका लागि काठमाडौं उपत्यकामा सबैभन्दा धेरै सर्लाहीबाट तरुल भित्रिएको छ भने नवलपरासी, धादिङ, नुवाकोट, काभ्रे लगायतका जिल्लाबाट पनि तरुल आयात भएको छ । नेपालमा माघे सङ्क्रान्तिको आसपासमा बर्षेनी झण्डै १० करोड रुपैंयाँको तरुलको कारोबार हुने गरेको व्यवसायीले बताएका छन् ।

तरुल र सखरखण्डको मूल्य ९१ प्रतिशतले वृद्धि
माघे संक्रान्तिमा बढी खपत हुने तरुल, सखरखण्ड र पिँडालुजस्ता कन्दमूलको मूल्य यस वर्ष झण्डै दोब्बरले वृद्धि भएको छ । यी कन्दमूलको मूल्य गत वर्षको तुलनामा ९१ प्रतिशतसम्मले बढेको कालिमाटी तरकारी तथा फलफूल बजार विकास समितिले बताएको छ ।

समितिको दैनिक मूल्य सूचीअनुसार गत वर्ष पुस ३० गतेको तुलनामा यस वर्ष सखरखण्ड र तरुलको मूल्य ९१ प्रतिशतले बढेको छ भने पिँडालुको मूल्य ३० प्रतिशतले वृद्धि भएको हो ।

गत वर्ष पुस ३० गते सखरखण्ड र तरुलको खुद्रा मूल्य प्रतिकेजी रु. ५५ र पिँडालुको खुद्रा मूल्य रु ६५ थियो । यस वर्षको पुस २९ गते (मंगलबार) सखरखण्ड र तरुलको खुद्रा मूल्य प्रतिकिलो रु. १०५ र पिँडालुको खुद्रा मूल्य प्रतिकिलो रु ८५ पुगेको छ ।

मूल्य बढे पनि यसको कारोबार भने चलायमान रहेको समितिका उपनिर्देशक विनय श्रेष्ठले बताए । गोरखापत्र दैनिक र अभियान दैनिकबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७