संवादहिनता तोड्दै ओली-प्रचण्डबीच डेढ घण्टा ‘वान टु वान’ वार्ता


२ माघ २०७६, बिहीबार
KP oli And Prachand 19

काठमाडौं, २ माघ । रिक्त सभामुख पदका लागि कसलाई उम्मेद्वार बनाउने भन्ने विषयमा असमझदारी बढेपछि संवादहिनताको अवस्थामा पुगेका नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्षद्वयबीच बिहीबार डेढ घण्टा ‘वान टु वान’ वार्ता भएको छ ।

तीन दिनको संवादहिनतालाई तोड्दै प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओली र नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच वार्ता भएको हो । प्रधानमन्त्री निवास बालुवाटारमा ओली–प्रचण्डबीच डेढ घण्टादेखि छलफल जारी छ । ओलीले बोलाएपछि प्रचण्ड बिहीबार दिउँसो बालुवाटार पुगेको उनको सचिवालयले जनाएको छ ।

उपसभामुख शिवमाया तुम्बाहाङ्फेलाई आइतबार बालुवाटारमा बोलाएर दुई अध्यक्षले राजीनामा दिन आग्रह गरेका थिए । तर, दुई अध्यक्ष आग्रहलाई उपसभामुखले अस्वीकार गर्दै पार्टीले सभामुखको उम्मेद्वारको नाम सार्वजनिक गर्नुपर्नेलगायतका शर्त राखेकी थिइन् । उपसभामुख तुम्वाहाम्फेको राजीनामा नदिने अडानपछि प्रचण्ड बालुवाटार गएका थिएनन् ।

पछिल्लो समय सभामुख चयन, मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) र आफूबाहेकका नेतासँग प्रचण्डले छुट्टै भेला गरेपछि दुई शीर्ष नेताबीच मतभेद देखिएको थियो । शनिबार बसेको नेकपा सचिवालय बैठकले उपसभामुख तुम्बाहाङ्फेलाई पदबाट राजीनामा दिन आग्रह गर्ने निर्णय गरेको थियो । आफू अनुपस्थित बैठकले उपसभामुखलाई राजीनामा गर्न लगाएको भन्दै ओलीले प्रचण्डको निर्णयप्रति असन्तुष्टी जनाएका थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७