प्रधानन्यायाधीशको राजीनामा माग्दै डा. केसीले भने–पराजुली भ्रष्ट माफिया हुन्
काठमाण्डौं : प्रधानन्यायाधीश गोपाल पराजुलीको राजीनामा माग गर्दै त्रिवि शिक्षण अस्पतालका प्रा. डा. गोविन्द केसीले सोमबारबाट आरमण अनसनमा बसेका छन् ।
पाँच बुँदे माग राख्दै अनसन थालेका डा. केसीले पराजुलीको राजीनामालाई पहिलो माग बनाएका छन् । साथै उनीमाथि छानविन गरेर कार्बाही गर्नुपर्ने बताएका छन् । चिकित्सा शिक्षा आयोग गठन, आईओएमका डीनमा जेपी अग्रवाललाई कायमै राख्नु पर्ने तथा शशी शर्माका साथै त्रिवि पदाधिकारीलाई बर्खास्त गर्नु पर्ने उनको माग छ । अनसन बस्नुअघि पत्रकार सम्मेलन गर्दै डा. केसीले प्रधानन्यायाधीश पराजुली भ्रष्ट र माफिया भएको आरोप लगाएका छन् । ‘हाम्रो न्यायालय न्याय दिने होइन, न्यायको किनबेच गर्ने, भ्रष्ट र अपराधीहरुसँग मिलेमतो गरेर तिनीहरुको संरक्षण गर्ने तथा इमान्दारहरुलाई दण्डित गर्ने गिरोहको नियन्त्रणमा छ’–उनले भने ।