आर्थिक वर्षभित्र १ हजार मेगावाट विद्युत थपिँदैछ : उर्जामन्त्री पुन


२७ माघ २०७६, सोमबार
1581343880urja mantri

 


काठमाडौं, माघ २७ । ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री वर्षमान पुन अनन्तले यस आर्थिक वर्षभित्र राष्ट्रिय प्रशारणलाइनमा १ हजार मेगावाट विद्युत थपिने दावी गरेका छन्।


४ सय ५६ मेगावाटको माथिल्लो तामाकोसीसहित १ हजार मेगावाट विद्युत केन्द्रीय प्रसारणमा थपिने उनको दावी छ। नुवाकोटको तुप्चेमा दिवंगत तत्कालीन माओवादी नेता पोष्टबहादुर बोगटीको शालिक अनावरण तथा चण्डेश्वरी माविको अभिभावक समारोहलाई सम्वोधन गर्दै उनले भने ‘यो वर्षबाट हामी विद्युतमा आत्मनिर्भर हुँदैछौं, हाल वार्षिक १८ अर्बको बिजुली छिमेकी मुलुकबाट आयात भइरहेकोमा यो वर्षदेखि प्रतिस्थापन गर्दैछौं।’

मन्त्री पुनले आगामी पाँच वर्षमा ५ हजार र १० वर्षमा १६ हजार मेगावाट बिजुली उत्पादन गर्ने लक्ष्यका साथ काम अघि बढिरहेको बताए। विद्युत वितरणका लागि प्रसारण लाइन निर्माणको काम पनि तीव्र रुपमा अघि बढेको उनको भनाइ छ।

‘अबदेखि प्रासरण लाइनको मुनि परेको जग्गाको पनि पूर्ण मुआब्जा दिने गरी कार्यविधि तयार भएको छ’ मन्त्री पुनले भने। यसअघि सरकारले प्रसारण लाइनको जग्गामा आंशिक मात्र मुआब्जा दिने गरेको थियो।

वर्तमान सरकार बन्नुअघि मुलुकमा ९ सय मेगावाट मात्र विद्युत रहेकामा पछिल्लो दुई वर्षमा ४ सय मेगावाट थपिएर कूल जडित क्षमता अहिले १३ सय मेगावाट पुगेको उनले बताए।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७