कार्यकर्ताको दबाबले पार्टीभित्रको व्यक्तिवादी सोच मत्थर हुँदै गएको छ : नेता महत


९ फाल्गुन २०७६, शुक्रबार
Prakash Sharan Mahat

पर्सा, ९ फागुन । नेपाली कांग्रेसका सहमहामन्त्री प्रकाशशरण महतले पार्टीका नेताको व्यक्तिवादी सोचलाई आम कार्यकर्ताले नकारेपछि कांग्रेसभित्र व्यक्तिवादी सोच मत्थर हुँदै गएको बताएका छन् ।

उनले व्यक्तिगत स्वतन्त्रताको परिधिलाई पार गर्दै बेलाबखत पार्टीभित्र देखिने नेताको व्यक्तिवादी चरित्रलाई आम कार्यकर्ताले नामन्जुर गरेपछि नेताहरु विस्तारै सच्चिँदै गएको बताए ।

नेपाल प्रेस युनियन पर्साले आज वीरगञ्जमा आयोजना गरेको पत्रकार सम्मेलनमा नेता महतले पार्टीको विचार र विधानविरुद्ध गई आफू अनुकूलको व्यक्तिवादी चरित्र प्रदर्शन गर्ने नेतालाई विचार र पार्टीलाई केन्द्रविन्दुमा राख्न अघि बढ्न खबरदारी गरेपछि व्यक्ति केन्द्रित सोच मत्थर हुँदै गएको प्रष्ट पारे ।

उनले रु ७० करोड कमिसन प्रकरणको स्वतन्त्र र निष्पक्षरूपमा छानबिन गर्नुपर्ने धारणा व्यक्त गरे । उनले निवर्तमान सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाको राजीनामाले मात्र नपुग्ने भएकाले यस कमिसन प्रकरणको तल्लो तहसम्म स्वतन्त्र तथा निष्पक्ष छानबिन आवश्यक रहेको बताए ।

भ्रष्टाचारविरुद्ध शान्तिपूर्ण प्रदर्शनमा उत्रिएका नेविसङ्घका नेता–कार्यकर्तामाथि बल प्रयोग गरी भ्रष्टाचारलाई ढाकछोप गर्न सरकार उद्यत रहेको उनको भनाइ थियो । मुलुकमा बढदै गएको महङ्गी, अनियमिता, भ्रष्टाचारविरुद्ध आम जनतालाई जानकारी दिन चाँडै काँग्रेस सडकमा उत्रिने नेता महतले जानकारी दिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७