कालोधन कमाउन जनप्रतिनिधिदेखि एआइजीसम्मको सेटिङ


२५ पुष २०७४, मंगलवार
lalitpur godawari nagarpalika Crasar khani loot 1

ललितपुर : ‘पैसा भनेपछि महादेवको पनि तीन नेत्र’ भनेझैं ललितपुरका जनप्रतिनिधिहरू विकास भन्दा पनि विश्वास गुमाउने बाटोतिर लागेका छन् । उनीहरूको जसरी भए पनि पैसा कमाउने धन्दामा लागेका जानकारको आरोप छ ।

lalitpur godawari nagarpalika Crasar khani loot 1

ललितपुरको दक्षिणी भेग ओगटेको गोदावरी नगरपालिकाका प्रमुख गजेन्द्र महर्जन र कार्यकारी प्रमुख टेकराज पन्थीको सेटिङमा मापदण्ड विपरीतका खानी, क्रसर र जग्गा प्लटिङ गर्न दिई मोटो रकम असुल गर्दै आइरहेका छन् । नगरपालिकाले मापदण्ड विपरीत खानी सञ्चालन गर्न दिए बापत क्रसर व्यावसायीले नगरपालिका प्रमुख महर्जनदेखि महानगरीय प्रहरी आयुक्त, ललितपुरका एसएसपी, प्रमुख जिल्ला अधिकारीसम्मलाई घुसको भागबण्डा लगाएको नगरपालिकाका एक वडाध्यक्षले नयाँपेजलाई बताएका छन् ।

ललितपुरको दक्षिणी भेगमा पर्ने करीब ५२ वटा क्रसरबाट मासिक २६ लाख रुपैयाँ उठाई भागबण्डा गराउने काममा मेयर महर्जन सक्रिय रूपमा लागेको नगरपालिकाका असन्तुष्ट जनप्रतिनिधिहरू र स्थानीयबासी बताउँछन् । मेयर महर्जनको सक्रियतामा घरेलु उद्योगमा नवीकरण नभएका दर्जनौं खानी र क्रसरलाई नगरपालिकाले नै पत्र दिई सञ्चालन गर्न दिएको समाचार छ । यसरी उठाइएको घुसमा मेयर महर्जन, महानगरीय प्रहरी आयुक्त एआइजी जयबहादुर चन्द, ललितपुरका प्रमुख जिल्ला अधिकारी महादेव पन्त, ललितपुर प्रहरी परिसरका एसएसपी गणेश ऐर, चापागाउँ प्रहरी वृत्तका डिएसपी रविन्द्र रेग्मी, गोदावरी नगरपालिकाका कार्यकारी प्रमुख टेकराज पन्थीलाई भागबण्डा गर्ने गरी सेटिङ मिलाइएको छ ।

गुण्डाहरुको भाग मिलाउन क्रसर व्यावसायी र मेयर महर्जनका कार्यकर्ता राजभाइ देसार, अमन महर्जन, बाबुकाजी महर्जनलाई दुई लाख रुपैंयाँ छुट्याइएको समाचार स्रोतले बताएको छ । अन्यलाई मिलाउन भनि क्रसर व्यवसायी संघका अध्यक्ष सुदर्शन विष्ट, क्रसर व्यावसायी प्रकाश डोटेल र वडाध्यक्ष तथा क्रसर व्यावसायी विष्णुमान महर्जनले ४ लाख लिने गरेको कुरा गोदावरी नगरपालिकाभरी अहिले चर्चाको विषय बनेको छ । ५२ वटा क्रसरमध्ये ठूलो क्रसरबाट मासिक एकदेखि दुई लाख रुपैंयाँसम्म लिने गरेको र सानातिना क्रसरबाट ५० हजार उठाउने गरेको क्रसर व्यावसायीहरूले नै बताउने गरेका छन् ।

मेयर महर्जनले सुदर्शन विष्ट, मधु डोटेल र वडाध्यक्ष विष्णुमान महर्जनसँग मिली सेटिङ मिलाएको चर्चा गोदावरी नगरपालिकाभर फैलिएको छ । विष्ट, डोटेल र वडाध्यक्ष महर्जनको खानी र अन्य दर्ता समेत नभएका खानीबाट पनि राम्रै रकम असुलउपर गरी प्रतिदिन सयौं ट्रिप ढुङ्गा उत्खनन् गर्न दिइरहेका छन् । यसरी जनताको अगाडि नमुना गोदावरी नगरपालिका बनाउने उद्घोष गरेका जनप्रतिनिधिले नै विकासको नाममा विनाश गरी आर्थिक लाभ लिन अगुवाई गर्ने र स्थानीय जनतालाई भन्दा कार्यक्रमहरुको उद्घाटन र सेमिनारमा मात्र समय खर्चने मेयरका कारण गोदावरी नगरपालिकाका जनताहरू निरास बन्न थालेका छन् ।

प्रतिनिधिसभा र प्रदेशसभा चुनाव अगाडि चापागाउँ प्रहरी वृत्तका डिएसपी आभूषण तिमल्सिनाले गैरकानुनी रूपमा खानी, क्रसर, जग्गा प्लटिङ, मदिरा नियन्त्रण र समाजमा उच्श्रृंखल गतिविधि गर्नेलाई ठाउँको ठाउँ कार्बाही गर्दै आइरहेका थिए । तर, खानी सञ्चालन गरी घुस खान नदिएपछि मेयर महर्जनकै दबाबमा तिमिल्सिनाको सरुवा गरिएको थियो । आफ्नो स्वार्थ अनुकूल मात्र काम गर्ने, पैसा भनेपछि कानूनी प्रक्रिया मिचेर अगाडि बढ्ने मेयर महर्जन नेपाली कांग्रेसबाट विजयी बनेका हुन् । मेयर महर्जन कुनै राजनीतिक हैसियत नभए पनि पार्टी सभापति मदनबहादुर अमात्यको आशिर्वादले टिकट पाएर विजयी भएका थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७