अतिक्रमण गर्नेले नै खुशीका साथ फिर्ता गरे सरकारी जग्गा


२० फाल्गुन २०७६, मंगलवार
mahotari

महोत्तरी, २० फागुन । महोत्तरी गौशालाका सन्तलाल साह गौचरन मिचिएकोमा चिन्तित थिए । आँखै अगाडि तीन सय भन्दा बढी गाईका बथान देखेका ७० वर्षीय साहले अतिक्रमणमा परेको यहाँको जग्गा फिर्ता होला भन्ने आश मारिसकेका थिए ।

उनले भने, ‘पहिला गौशालामा गाईका बथानले भरिभराउ हुन्थे, विस्तारै अतिक्रमणको चपेटामा पर्‍यो । पहिला जस्तो अहिले गाई पनि छैनन् । करिब डेढ सय गाई थिए । ती पनि अर्को स्थानतिर लगिएको छ ।’

यहाँका जग्गा अतिक्रमण गरी घरटहराले भरिभराउ थिए । सरकारी जग्गा फिर्ता गर्ने अभियानले स्थानीयवासीको मुहारमा खुशी छायो । स्थानीयवासी राकेशकुमार सिंह घरजग्गा भएका समेतले अतिक्रमण गरेर बनाएको गौशालाका जग्गा फिर्ता गर्ने सरकारको अभियान राम्रो भएको बताउँछन् । ‘सरकारले ठीक काम गरेको छ, सरकारी जग्गा खाली गर्नुपर्छ , अतिक्रमित हुनु हँुदैन’, उनले भने ।

स्थानीयवासी अनिता यादव र मञ्जुकुमारी मण्डलकोे वास्तविक गरिब परिवारको पहिचान गरी बसोबासको व्यवस्था सरकारले गरिदिए हुन्थ्यो भन्ने चाहना छ । ‘घर जग्गा भएकाले पनि अतिक्रमण गरेर बनाएका जग्गा फिर्ता हुनु खुशीको कुरा हो, वास्तविक गरिब तथा सुकुम्बासीको उचित बसोबासको व्यवस्था होस्’, दुवैले एकै स्वरमा भने ।

गत आइतबार अपराह्न भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्माकुमारी अर्याल यहाँ आइपुग्दा स्थानीयवासीले तालीले स्वागत मात्रै गरेनन् वर्षौंदेखि अतिक्रमणमा परेको जग्गा फिर्ता भएकामा खुशी व्यक्त गरे । तीन वटा डोजरले अतिक्रमित घरटहरा भत्काइएको थियो । मन्त्रालयले पछिल्लो समय सरकारी जग्गामा बनेका घरटहरा भत्काइ जग्गा फिर्ता गराउने अभियान सञ्चालन गर्दै आएको छ । सोही क्रममा यहाँका घरटहरा भत्काइएको हो ।

मन्त्री अर्यालले सो अवसरमा कोही पनि सुकुम्वासी र भूमिहीन अन्यायमा नपर्ने जानकारी दिइन् । गौशाला नगरपालिकास्थित निगोन गौशालाको नाममा रहेको सरकारी जग्गा फिर्ता भएको घोषणा गर्दै उनले वास्तविक सुकुम्वासीको व्यवस्थापन हुने जानकारी दिइन् । ‘भूमिहीन सुकुम्वासीको समस्या भूमि ऐन आठौं संशोधनमार्फत हुन्छ, कोही सुकुम्वासी अन्यायमा पर्नु हँुदैन’, उनले भनिन् ।

मन्त्री अर्यालले पछिल्लो समय अतिक्रमित सरकारी र सार्वजनिक गुठीको जग्गा फिर्ताको अभियानलाई तीव्रता दिएको बताइन् । यही क्रममा उनले यहाँस्थित गौशलाको नाममा रहेको अतिक्रमित जग्गा फर्काएकी हुन् ।

विगत एक वर्षदेखि यहाँको सरकारी जग्गा संरक्षण गर्ने अभियान शुरु भएको थियो । गौशाला जग्गामा बसोबास गर्दै आएकालाई स्थानीय प्रशासन र नगरपालिकाले घरटहरा खाली गर्न पटक– पटक पत्राचार तथा सार्वजनिक सूचना टाँस गरेको थियो । ती स्थानमा बसोबास गरेकाले घरटहरा नछाडेपछि डोजर लगाएर भत्काइएको हो ।

गौशालाका नाममा रहेको १४८ बिघा सरकारकी जग्गामध्ये करिब १५ कट्ठा जग्गामा बनाइएको ३० वटा घरटहरा भत्काइएको थियो । राष्ट्रिय सहकारी विकास बोर्डको स्वामित्वमा रहेको करिब २०० बिघा जग्गा घट्दै गएर हाल १४८ बिघा जग्गा सीमित भएको छ । गौशालालाई संरक्षण गरी उद्योग तथा कृषि फार्म सञ्चालन गर्ने सो बोर्डले जनाएको छ ।

प्रमुख जिल्ला अधिकारी सूर्य खत्री, सो नगरपालिकाका प्रमुख शिवनाथ महतो, सशस्त्र प्रहरी बल नं २ छिन्नमस्ता वाहिनी मुख्यालयका निमित्त प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक गणेश ठाडामगर, जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक माधवप्रसाद पुडासैनी लगायत स्थानीय तहका नेताको उपस्थितिमा घरटहरा भत्काइएका हुन् ।

बोर्डको व्यवस्थापन र सञ्चालनमा रहेको सो गौशालाको जग्गामा विभिन्न व्यक्तिले पटक पटक अतिक्रमण गर्दै आएका थिए । पछिल्लो पटक सरकारले गएको माघ ७ गते अन्तिम सूचना जारी गरी जग्गा खाली गराई दिन आग्रह गरेको थियो । गत वर्ष पनि सरकारले उक्त ठाउँको जग्गा फर्काउन पहल गरेको थियो ।

तर उनीहरुकै आग्रहमा सरकारले केही समय दिएको बोर्डका सदस्यसचिव चक्रबहादुर पराजुलीले जानकारी दिए । सो नगरपालिकाका प्रमुख शिवनाथ महतोले भत्काइएका मध्ये तीन घर परिवार वास्तविक भूमिहीन रहेको र उनीहरुको व्यवस्थापन गरिने जानकारी दिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७