आम्दानीको स्रोत बन्दै मौरीघार


६ चैत्र २०७६, बिहीबार
mahuri ghar

लम्जुङ, ६ चैत । छिमेकी जिल्ला तनहुँ र कास्कीसँग सीमाना जोडिएका मध्यनेपाल नगरपालिका– १० हाँडीखोलाका ४७ वर्षीय कालु दुरा बिहानदेखि झमक्क साँझ पर्दासम्म घर वरिपरी नै लुटुपुटु गरिरहन्छन् ।

गाउँ छाडेर टाढा जाने फुर्सद त उनलाई हुँदैन नै केही दिनसम्म त गाउँघरमा घुम्न समेत फुर्सद हुँदैन । असिना पसिना हुनेगरी काम गरेको देखिँदैन तर उनको आम्दानी भने वर्षेनी लाखौं रुपैयाँ हुन्छ । उनको रहर लाग्दो आम्दानीको बाटो भने मौरीपालन, मह र घार (गोला) बिक्री व्यवसाय नै हो ।

हाँडीखोलास्थित आफ्नै घरमा उहाँले विगत पाँच वर्षदेखि मौरीपालन गर्दै आएका छन् । मौरीपालनमा रम्दैजम्दै आएका उनले विशेष गरी मौरीको गोला (घार) र मह बिक्रीबाट राम्रो आम्दानी गरिरहेका छन् ।

वर्षेनी सयौं घार र महको बिक्री गरेर लाखौं रुपैयाँ आम्दानी भइरहेको उनले बताए । दुराका अनुसार गत वर्ष मात्रै ९० घार बिक्री भएका थिए । प्रतिघार रु आठ हजार ५०० का दरले बिक्रीबाट मात्रै रु सात लाख ६५ हजार आम्दानी भएको उनको भनाइ छ ।

त्यस्तै करिब १०० लिटर मह बिक्रीबाट प्रतिलिटर रु एक हजार १०० का दरले रु एक लाख बढी आम्दानी भएको दुराकी श्रीमती धनमायाले बताइन् । यस वर्ष १०० भन्दा बढी घार बिक्री गर्ने लक्ष्यका साथ काम गरिरहेको दुराको भनाइ छ । बिहानैदेखि मौरीको हेरचाह, स्याहार, चरनको व्यवस्था, पुराना घारबाट मौरी छुुट्याएर नयाँ मौरीघार बनाउने काममा दुरा परिवार खट्दै आएको छ ।

उनको यतिबेला ५४ घार मौरी छन् । तिनै घारबाट मौरी छुट्याएर नयाँ घारमा राख्दै बिक्री गरिने दुराको भनाइ छ । जिल्लाभित्र र बाहिरका धेरै ठाउँबाट मौरीघार र महको माग आउने भएकाले बजारको कुनै समस्या नभएको उनको भनाइ छ ।

यो व्यवसाय शुरु गरेदेखि हालसम्मको अवधिमा दुरालाई रु १४–१५ लाख आम्दानी भइसकेको छ । घर परिवारको पुरानो ऋण तिर्नाका साथै छोरालाई विदेश पठाउने लगायत काममा उक्त आम्दानीले ठूलो सहयोग पुगेको उनले बताए ।

दुराका अनुसार उनको व्यवसायलाई नगरपालिकाबाट गत वर्ष रु एक लाख अनुदान पाइएको थियो । जुन ठाउँमा जे व्यवसायको सम्भावना हुन्छ सोही व्यवसाय गर्नसके सफलता मिल्छ भन्ने सिकाइ दुराबाट भएको सोही वडाका वडाध्यक्ष रामचन्द्र भण्डारीको भनाइ छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७