कोरोनाबाट इटालीमा एकै दिन ६२७ को मृत्यु, कोरोना नदेखिएको देश अब १० वटा मात्र

हालसम्म विश्वर ११ हजार ३९७ मृत्यु, के छ नेपालको अवस्था ?


८ चैत्र २०७६, शनिबार
korona case

काठमाडौं, ८ चैत । विश्वव्यापी त्रास फैलाइरहेको कोरोना (कोभिड–१९) भाइरसको संक्रमण विश्वका अधिकांश देशमा फैलिन थालेको छ ।

आज शनिबार विहानसम्ममा विश्वका १८५ देशमा कोरोना भाइरसको संक्रमण देखिइसकेको छ । संयुक्त राष्ट्रसंघमा सूचीकृत १९५ देशमध्ये आज (शनिबार) विहानसम्ममा १८५ देशका कोरोना भाइरसको संक्रमण देखिएको छ । संयुक्त राष्ट्रसंघमा सूचीकृत भएका समेत गरी विश्वमा २३० वटा देश रहेका छन् ।

हालसम्म १० वटा देशहरुमा मात्र कोरोना भाइरसको संक्रमण देखिएको छैन । तर, बाँकी १० देशहरु पनि कोरोना जोखिमको सन्निकट रहेको विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ) ले बताएको छ । चीनको वुहानबाट शुरु भएको कोरोनाले अहिले युरोपियन मुलुकमा भयावह रुप लिएको छ । जसमा इटाली सबैभन्दा मारमा परेको छ । कोरोना भाइरसको बढ्दो संक्रमणका कारण इटालीमा एकै दिन ६२७ जनाको मृत्यु भएको छ ।

पछिल्लो एक महिनामा इटालीमा सबै भन्दा बढी भाइरसको महामारीबाट मानिसको ज्यान गएको छ । हालसम्म इटालीमा मात्र कोरोनाका कारण चार हजार भन्दा बढीको मृत्यु भइसकेको अधिकारीहरुले जनाएक छन् ।

इटाली, जर्मन र स्पेनमा संक्रमण बढ्दै गएपछि कोरोनाका कारण मृत्यु हुनेको संख्या पाँच हजार भन्दा बढी पुगेको अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन् ।

डब्ल्युएचओले भन्यो, ‘युवा पनि कोरोनाको जोखिममा, सचेत बनौं’
विश्व स्वास्थ्य संगठन डब्लुएचओले कोरोनाको संक्रमणबाट कोही पनि मुक्त नरहेको स्पष्ट पारेको छ ।

युवाहरुको तुलनामा बालबालिका र वृद्धवृद्धा बढी प्रभावित भए पनि युवाहरु पनि संक्रमणको जोखिमबाट मुक्त नरहेको डब्लुएचओले स्पष्ट पारेको छ । गत वर्षको डिसेम्बरमा चीनको हुबेइ प्रान्तको वुहान शहरमा पहिलो पटक भेटिएको कोरोनाको संक्रमण पछिल्ला दिनहरुमा युरोपमा फैलिएको छ । संक्रमणका कारण मृतकको संख्या पनि दिनहुँ बढ्दै गएको छ ।
कोरोना १८५ देशमा फैलियो, ९२ हजार उपचारपछि निको भए
कोरोना भाइरसको संक्रमण विश्वका १८५ देशमा फैलिएको छ ।
शनिबार बिहान ७ बजेसम्म विश्वभरमा कोरोना भाइरसको संक्रमण दुई लाख ७५ हजार ७४१ जनामा देखिएको छ ।

भाइरसका कारण हालसम्म ११ हजार ३९७ जनाको मृत्यु भइसकेको छ । यस्तै ९१ हजार ९१२ जना उपचारपछि निको भएका छन् ।

शुक्रबार र शनिबार बिहान मात्रै विभिन्न ८६ देशमा गरेर ३० हजार ८०८ जना नयाँ बिरामी थपिएका छन् भने ३७ देशमा एक हजार ३६६ जनाको मुत्यु भएको छ ।

शुक्रबार सबैभन्दा बढी इटलीमा पाँच हजार ९८६ जना नयाँ संक्रमित बिरामी थपिएका छन् । इटालीमा शुक्रबार मात्र ६२७ जनाको मृत्यु भएको छ । हालसम्म इटलीमा मृत्यु हुनेको संख्या ४ हजार ३२ पुगेको छ । यस्तै संक्रमितको संख्या ४७ हजार २१ पुगेको छ।

15559314e13d4d70a01776dcacf54c8c 15559314e13d4d70a01776dcacf54c8c b338497f012f4193b69c895398d37135

स्पेनमा शुक्रबार र शनिबार बिहान ३ हजार ४ सय ३३ जना नयाँ बिरामी संक्रमित भएका छन्। स्पेनमा शुक्रबार र शनिबार बिहान ७ बजेसम्म थप २ सय ६२ जनाको मृत्यु भएको छ । यो सँगै स्पेनमा मृत्यु हुनेको संख्या १ हजार ९३ पुगेको छ । स्पेनमा हालसम्म संक्रमितको संख्या २१ हजार ५ सय १० पुगेको छ ।

त्यस्तै जर्मनीमा ४ हजार ५ सय २८ जना नयाँ बिरामी थपिएका छन् । शुक्रबार र शनिबार बिहान ७ बजेभित्र थप २४ जनाको मृत्यु भएको छ । योसँगै जर्मनीमा संक्रमित हुनेको संख्या १९ हजार ८ सय ४८ पुगेको छ भने ६८ जनाको मुत्यु भएको छ ।

इरानमा शुक्रबार र शनिबार बिहान मात्र १ हजार २ सय ३७ जना नयाँ बिरामी भेटिएका छन् भने १ सय ४९ जनाको मृत्यु भएको छ । यो सँगै इरानमा १९ हजार ६ सय ४४ जना संक्रमित भएका छन् भने १ हजार ४ सय ३३ जनाको मुत्यु भएको छ ।

अमेरिकामा शुक्रबार मात्र थप ५ हजार ७३३ जना नयाँ बिरामी थपिएका छन् । शुक्रबार कोरोना संक्रमणका कारण ५५ जनाको मृत्यु भएको छ । हालसम्म अमेरिकामा मृत्यु हुनेको संख्या २६२ पुगेको छ भने संक्रमितको संख्या १९ हजार ५२२ पुगेको छ ।

त्यस्तै चीनमा शुक्रबार र शनिबार बिहानसम्म ४१ जना नयाँ बिरामी थपिएका छन् भने थप ७ जनाको मृत्यु भएको छ । योसँगै चीनमा संक्रमित हुनेको संख्या ८१ हजार ८ पुगेको छ भने मुत्यु हुनेको संख्या ३ हजार २५५ पुगेको छ ।

के छ नेपालको अवस्था ?
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा कोरोना भाइरसको आंशकामा शुक्रबार ४० जनामध्ये ३३ जनाको रिपोर्ट नेगेटिभ आएको छ ।

बाँकी ७ जनाको परीक्षणको रिपोर्ट आज शनिबार आउने प्रयोगशालाले जानकारी दिएको छ ।
शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, पाटन अस्पताल र बाहिर जिल्लाका विभिन्न अस्पतालबाट परीक्षणका लागि नमूना संकलन भएको थियो ।

आजसम्म प्रयोगशालामा विहिबारसम्म ५७९ जनाको कोरोना भाइरस परीक्षण गरिएको छ । नेपालमा भएका सबै परीक्षणमा नेगेटिभ रिपोर्ट आएको छ । नेपालमा हालसम्म एक जनामा कोरोना भाइरसको संक्रमण देखिएको थियो । चीनबाट फर्केका एक विद्यार्थीमा कोरोना संक्रमण देखिएको थियो । उनी निको भइसकेका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७