कवि विनोदविक्रम केसीका ५ कविता


२० चैत्र २०७६, बिहीबार
Binod Bikram KC 1

ओ घाम नअस्ताउने साम्राज्य !

सर जोन !
गोली लागेको छ तपाईँको गोलीगाँठोमा
आउनुस्, तपाईँलाई पिठ्युँमा बोक्छु म

गोली मलाई पनि लागेको छ–
छातीमा, देब्रेतिर

यो घाम नअस्ताउने साम्राज्यको कसम !
एक खेप आत्थासम्म गरेको छैन मैले

तर, होइन म मेसिन

मेरो नशामा बग्दैन लुब्रिकेन्ट
बग्छ रगत नै

मभित्र इस्पातका पाटपुर्जा होइनन्
छन् मुटु, कलेजो र फोक्सो नै

यी जो निहारिरहेछन् तपाईँलाई
क्रिस्टलका डल्ला होइनन्
आँखा हुन् मेरा

म मेसिन होइन, किलिङ मेसिन होइन
हिंसा हुँदै होइन मेरो स्वभाव
म खुनको प्यासी होइन
दिगमिग लाग्छ मलाई रगत देख्दा
यो खुकुरी जो बत्तिरहेछ
घाम नअस्ताउने साम्राज्यका बैरीउपर
बिलकुल होसमा छैन यो
लड्नमात्रै जन्मेको होइन म
किन्तु अभिशप्त छु लड्न

मैले सेरिदिएको त्यो मलायालीका सवालग्रस्त आ“खाले
निदाउन दिनेछैनन् मलाई युगौँयुग

आफ्नै भूमिबाट धपाइएँ म
छक्कापञ्जा नजान्ने मेरो नश्लले
डुबायो मलाई
कपट–कलुष नजान्ने मेरो खुनले
डुबायो मलाई

खुनी महाराज जङ्गबहादुर
त्यही क्या त–
‘नाइट ग्य्रान्ड क्रस अफ द अर्डर अफ द ब्याथ’ले सुशोभित हिंसा–सरदार

उसैले गरेको हो मेरो खुनको सौदा
उसैले हो–
काँससरी सेतै फुलेकी मेरी आमा
गुराँससरी भर्भराउँदी मेरी जहान
र, तामाका मुनासरी कोमल मेरा लालाबालालाई
खुनको आँसु रुवाएको
उसैले हो


मेरा साठी हजार बन्धुका हाडखोरमाथि
उभिएको यो भव्य बकिङ्घम दरबार
हेरोस्
हेर्ने धृष्टता गरोस् कसैले
उप्काएर
यसका एक एक संगमर्मर
रसाउनेछ रगत हाम्रै

के गरूँ ?
म यो भिक्टोरिया क्रसलाई के गरूँ ?
ताप्केमा उमालूँ र पिऊँ बहादुरीको तम्तमाइलो सुरुवा ?
के गरूँ ?
म यो इतिहासलाई के गरूँ ?
यसका उपर भद्दा शब्दहरूको अम्लवर्षा गरूँ ?

सर जोन, मलाई गाह्रो भइरहेको छ
समानताको भोकले आकुल छु म
न्यायको तिर्खाले व्याकुल छु म
उत्रिनुस् मेरो पिठ्युँबाट ।


 


अप्ठ्यारो मान्छे


सजिलै त मलाई केही पनि चाहिँदैन
सजिलो त मलाई केही पनि गर्नु छैन १

सजिलो त
नानीहरूको हातको पापा खोस्न सजिलो हुन्छ
लडेको मान्छेको अण्डकोषमा लात्ती हान्न सजिलो हुन्छ
वृद्ध आमाबाउलाई वृद्धाश्रमको गेटबाहिर फालेर भाग्न सजिलो हुन्छ

सजिलो त
पुँजीवादको पुत्ररत्न बनेर मजदुरको माड लुट्न सजिलो हुन्छ
कुनै सत्तासीनको ढोकामा आत्माको बलि दिन सजिलो हुन्छ
अत्याचारबाट नजर हटाएर अन्यत्र आँखा टाँग्न सजिलो हुन्छ
जिब्रो चपाएर बोल्न या मौन बस्न सजिलो हुन्छ

सजिलो त
विजेताहरूको इतिहास रटेर
पराजितका काटिएका नाक–कानमाथि
पर्दा हाल्न सजिलो हुन्छ
सजिलो त
विष पिउन सजिलो हुन्छ

सजिलै त कायर भइन्छ, कायर
सजिलोले त प्राप्त गराउँछ केवल गुलामी

म सजिलै जन्मिएको होइन
एउटा समरै लडेर
मेरी आमाले मलाई यो धर्तीमा ल्याएकी हुन्
सजिलै हुर्किएको होइन म
हुँडारजस्तो गरिबीको निर्दयी अट्टहासबीच
हुर्किएको हुँ

म कम्युनिस्ट बनेको दिन
उनीहरूले मेरा लालाबालालाई तोप दागेका थिए
म सत्यको उज्यालो खोज्न निस्केको साँझ
उनीहरूले देशमा ब्ल्याकआउट गरेका थिए
मेरा सपनाहरू फुल्न–फुल्न लागेकै याममा
उनीहरूकै आदेशमा गडगडाएको थियो आकाश
र, भएको थियो भारी अम्ल वर्षा
कुन दुःखले जोगाए हुँला सपनाहरूलाई मैले

म अप्ठ्यारैअप्ठ्यारोहरूबाट बनेको
अप्ठ्यारो मान्छे हुँ
मैले सजिलो खोजेँ भने
मैले सजिलो रोजेँ भने
मृत्यु हुन्छ एउटा बागीको
बिच्किन्छ एउटा तुफानी यात्रा
दुनियाँ कुरूप बनाउने नियतहरूविरुद्ध चलाउन
बाँकी बच्ने छैन एउटै अस्त्र
समाप्त हुनेछ खराब र असलको भेद

सजिलै मलाई केही चाहिँदैन
एक दानो अनाज र एक घुट्को पानी चाहिँदैन
जून चाहिँदैन, फूल चाहिँदैन

सजिलै त मलाई कसैको प्रेम पनि चाहिँदैन ।


 

तपाईं सीसी टीभीको निगरानीमा हुनुहुन्छ

फुक्काफाल हिँडिरहेछन् चोरहरू
खुलेआम घुमिरहेछन् हत्याराहरू
पुलिसचौकीकै छायामुन्तिर
निष्फिक्री चुरोट फुकिरहेछन् लुटेराहरू
निर्धक्क सिकारमा निस्किरहेछन् बलात्कारीहरू
हाकाहाकी हप्ता उठाइरहेछन् गुन्डाहरू
अलमस्त घूस खाइरहेछन् कर्मचारीहरू
र, यता
तपाईं सीसी टीभीको निगरानीमा हुनुहुन्छ

तपाईं अस्पतालमा बिरामी कुरिरहनुभएको छ
खाडीबाट नआइपुगेको, सद्गत गर्न बाँकी
आफन्तको लास कुरिरहनुभएको छ
चढ्न नसकेर चारवटा बस छोडेपछि
पाँचौं बस कुरिरहनुभएको छ
बजेट भाषणसँगै महँगी घट्ने असम्भव शुभ खबर कुरिरहनुभएको छ
कहिल्यै नआउने सुदिन कुरिरहनुभएको छ
यत्तिकै कसैलाई कुरिरहनुभएको छ
यति मामुली गतिविधिमा संलग्न हुनुहुन्छ र पनि
तपाईं सीसी टीभीको निगरानीमा हुनुहुन्छ

मानौं, अदना मानव बस्तीमा
बम खसाल्न ठिक्क परेर बसेको
बाराक ओबामा हो तपाईं
मानौं, बीच बजारमा आत्मघाती विस्फोट गर्नुअघि
अन्तिम मन्त्र जपिरहेको आतंककारी हो तपाईं

यसरी चौबीसै घन्टा नियालिरहनुपर्ने
कसलाई भय छ तपाईंबाट ?
कुन मितिमा कसको पिठ्यूँमा छुरा घोपेर भाग्नुभयो तपाईं ?
कसको गाँस खोस्नुभयो ?
कसको बास उखेल्नुभयो ?
सृष्टिको प्रथम घडीदेखि
आकाशले नियालिरहेकै त छ
तपाईंको निरपराध जिन्दगीलाई

कसले दियो अधिकार यो एकआँखे गोलटिनलाई
जो तपाईंका समस्त निरीहता निगरानी गरिबस्छ ?
किन कोही अभिलेख राखिबस्छ तपाईंका दुःखहरूको ?
किन यसरी गिज्याइन्छ तपाईंलाई सर्वदा ?

सीसी टीभीलाई तपाईंको पर्वाह छैन
तपाईंको सुरक्षा या असुरक्षा उसको सरोकार होइन
ऊ त डराउँछ, एलिटहरूको भोजनमा बाधा पर्ला कि भनेर
चिन्ता गर्छ, ठूला मान्छेहरूको सुबिस्ता बिथोलिएला कि भनेर
र, घोप्टे नजरले ताकिबस्छ तपाईंलाई

प्रधानमन्त्री, मन्त्री, सांसद, नेता… ठूलाठूला अरूहरू
कदम–कदम शंकास्पद गतिविधिमा संलग्न छन्
र, यता तपाईंचाहिँ
सीसी टीभीको निगरानीमा हुनुहुन्छ

मिठाई सजाइएको सिसाको सोकेसजस्तो
बनाइएको छ यो पृथ्वीलाई
र, तपाईं अबोध बालकजसरी फुटपाथमा उभिएर
हेरिरहनुभएको छ यसै
कुनै घातक कर्म गर्नुभएजस्तो
तपाईं सीसी टीभीको निगरानीमा हुनुहुन्छ


पद्धति

हामी तिम्रो पद्धतिका
सबैभन्दा ठूला व्यवधान हौँ

बरालिदैनौँ हामी तिम्रा पुस्तकालयहरूमा
जहाँ दराजभरि अटाई नअटाई गुडुल्किएर बसेका हुन्छन् सर्पहरू
हिउँदे बिहान सडकपेटीमा
भोक र जाडोको संयुक्त मोर्चाविरुद्ध लड्दालड्दै ढलेको
सत्तरी वर्षीय मजदुर
हाम्रो सबैभन्दा ठूलो पुस्तकालय हो
आमाको ओखती जुटाउन
साँझतिर ग्राहकको खोजीमा निक्लिएकी
सि“गाने फुच्ची नगरवधू
सबैभन्दा पठनीय ग्रन्थ हो हाम्रो

भोक हाम्रो यौटैमात्र विश्वविद्यालय हो
जोसँग सम्बन्धनमा छन् सङ्घर्ष विविध
र, पेटको विराट रित्तोपनमा पनि
सही र गलत, सेतो र कालो, अमृत र विष
छुट्याउन सक्ने भएपछि
पूरा हुन्छ स्नातकोत्तर हाम्रो
दीक्षान्त समारोहका काला–चुच्चा टोपीहरू
बकवास लाग्छन् हामीलाई

तिम्रो पद्धतिमा
कविश्रीहरू राष्ट्र जलिरँहदा
स्त्रीका एक–एक अङ्गमाथि एक–एक गान लेख्छन्
र अनुमोदन गर्छन् एक–एक प्रमिथसका हत्या,
हत्याराहरू तयार गर्छन् सार्वजनिक सुरक्षा नियमावली
र प्रयोग गरिदिन्छन् ट्वाइलेट पेपरका रूपमा,
तिम्रो पद्धतिमा
‘छोरीको सट्टा बहिनी बेच्नु जाती’ भन्ने
विकल्पवादी सिद्धान्तलाई नैतिकता भनिन्छ
बेइमानीको सबैभन्दा काइते अनुहारलाई
इमान भनिन्छ

तिम्रो पद्धतिमा
बेस्कन धान फल्ने फाँट
जबरजस्ती चर्चेर बस्छ विश्वविद्यालय
र, उमार्छ केवल नाभो

चिहानघारी जस्ता लाग्छन् अदालतहरू
जहाँ सदासर्वदा जलाइन्छन्
पृथ्वीका प्रथम प्रसुनजस्ता निर्दाेषहरू

संसदको ठाउँमा बरु सार्वजनिक शौचालय भएको भए
जनसाधारणलाई केही काम लाग्थ्यो होला

तिम्रो पद्धतिमा
मान्छे हरहमेशा लाचारीको सुपरलेटिभ डिग्रीमा हुन्छ

हामी मान्छेका सर्वाेच्चताका बाधकजति
सबैलाई ढाल्न चाहन्छौं
चाहे त्यो राम होस्, अल्लाह होस्, जिसस् होस्
या होस् जर्ज डब्लु बुस

हामी तिम्रो पद्धतिका
सबैभन्दा ठूला व्यवधान हौं
अब के गर्छाै तिमी ?
हामीलाई निर्वासनमा पठाउन
मुस्ताङतिर एउटा साइबेरिया खडा गर्छाै ?
या गर्छाै हाम्रो हत्या ?

ठीकै छ– हाम्रो त हत्या गरौला रे लौ
तर, के गर्छाै हाम्रा असहमतिलाई
हाम्रा कवितालाई ?


जन्ड वेश्याको वक्तव्य

तिमी जैरीहरूको जस्तो
शरीर
मेरो अन्तिम सत्य होइन

हरेक दिन खेल–तमासामा सरिक हुन्छु म
तर तिमीहरू जस्तो
होइन म खेलौना कसैको

हतकडी जस्तो आलिंगन
पिँजडा जस्तो प्रेम
झ्यालखाना जस्तो दाम्पत्य

बन्धन, साँघुरोपन र कैद
तिमीहरूका
हावा, अन्न र पानी हुन्
जीवन निर्वाहका लागि, थप–
तिमीहरू पतिदेवका लातहरू खान्छौ

तिमीहरू जस्तो
पिशाचका चरणमा
दासीझैँ घोप्टो परेर सहस्र नर्कमा जाकिने जातकी होइन म
नर्कै भए पनि
म यसकी साम्राज्ञी हुँ
र, उत्रिन्नँ कहिल्यै निःशर्त नग्नतामा म

नियत र स्वार्थका हिसाबले
मेरा ग्राहकहरू
खुद्रा पतिहरू हुन्
तिमीहरूका पतिहरू
थोक ग्राहकहरू हुन्

त्यो जग्गे हो या काँडे तारबार ?
फासीको तख्ता हो या शुभ कार्यको मण्डप ?
पञ्चैबाजा किन निकालिरहेको हुन्छ
एकोहोरो शंखध्वनि ?
घोप्टे जुँगा भएको त्यो मान्छेको ओठमा दौडिरहेको हुन्छ
मैलो न मैलो मुस्कान
त्यो जल्लाद हो या अरू नै कोही ?
त्यो वरमाला हो या फूलहरू पहिरिएको डोरी ?
सिन्दूरको धर्काे कोरेपछि उसका आँखा
किन बलात्कारीका जस्ता घातक देखिन्छन् ?

तिमीहरूलाई स्वास्नी, र
मलाई वेश्या बनाउने
सिस्टम एउटै हो
संसार एउटै हो
शास्त्रहरू उनै हुन्

जैरी हो,
हामी यसभन्दा धेरै लायक थियौँ ।

 

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७