सांसद साहले आफ्नो निर्वाचन क्षेत्रमा निजी खर्चमा स्वास्थ्य सामग्री प्रदान गर्ने


२५ चैत्र २०७६, मंगलवार
Prabhu Sah CPN

रौतहट, २५ चैत । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता तथा रौतहट क्षेत्र नम्बर ३ का सांसद प्रभु साहले आफ्नो निर्वाचन क्षेत्र अन्तर्गतका सबै स्थानीय तहलाई स्वास्थ्य सामग्री उपलब्ध गराउने भएका छन् ।

कोरोना भाइरसको महामारी नियन्त्रण गर्न स्थानीयतहलाई स्वास्थ्य सामग्री अभाव भएको बेला सांसद साहले आफ्नो निर्वाचन क्षेत्रमा ६ वटा स्थानीय तहलाई निजी स्रोतबाट स्वास्थ्य सामग्री उपलब्ध गराउँदा काममा थप प्रभावकारिता आउने विश्वास लिइएको छ ।

सांसद साहले एक हजार थान सर्जिकलमास्क, ५० थान एन९५ मास्क, एक हजार थान ग्लब्स, २ सेट पिपिई र ५–५ लिटर सेनिटाइजरलगायतका स्वास्थ्य सामग्री उपलब्ध गराउन भएका हुन् । उनको निर्वाचन क्षेत्र मौलापुर नगरपालिका, कटहरीया नगरपालिका, फतुवाविजयपुर नगरपालिका, गुजरा नगरपालिका, देवाहीगोनाही नगरपालिका र गरुडा नगरपालिका पर्दछ ।

ppe

बजारमै नपाएपछि सबै स्थानीय तहमा स्वास्थ्य सामग्री अभावका कारण भाइरस नियन्त्रण गर्न जटिल भईरहेको छ । सांसद साहले उपलब्ध गराएको सामग्री ती स्थानीय तहहरुका लागि उपयोगी हुनेछ ।

कोरोना भाइरसको महामारी नियन्त्रणका लागि आफ्नो तर्फबाट स्वास्थ्य सामग्री उपलब्ध गराउनेबारे नेता साह भन्छन, ‘कोरोना भाइरसविरुद्धको लडाइमा तपाईं हाम्रो ऐक्यबद्धता र साथको जति जरुरी छ, त्यति नै जरुरी यस विपदको घडीमा आफ्नो स्थानबाट गर्न सकिने सहयोगको हो ।’

उनले थपे, ‘कोरोना भाइरसको संक्रमण रोक्न फिल्डमा खटिएका स्वास्थ्यकर्मीलगायतका साथीहरूलाई अत्यावश्यक मेडिकल सामग्रीको अभावले थप जटिलता सिर्जना गरेको छ । यस महासंकटको बेला मैले सानो प्रयासस्वरुप स्वास्थ्य सामग्री उपलब्ध गराउँदै छु । स्वास्थ्य सामग्री अभावको बीच स्थानीय तहलाई काम गर्न थोरै भए पनि सहज हुने विश्वास लिएको छु ।’

नेकपा प्रदेश नम्बर २ का अध्यक्ष समेत रहेका सांसद साहले लकडाउनको अवधिभर घरमै बसेर कोरोना भाइरस नियन्त्रणको अभियानमा साथ दिन पुनः आग्रह गरेका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७