लकडाउनका वावजुत ९ सय मेगावाटको अरुण तेस्रोमा काम शुरु


२५ चैत्र २०७६, मंगलवार
hydropower 2

सङ्खुवासभा, चैत २५ । लकडाउनका कारण रोकिएको निर्माणाधीन अरुण तेस्रो जलविद्युत् आयोजनाको काम शुरु भएको छ।

सङ्खुवासभाको मकालु र चिचिला गाउँपालिकामा निर्माणाधीन नौ सय मेगावाटको सो आयोजनालाई काम गर्न अनुमति दिएकाले सुरक्षा सतर्कता र नयाँ कामदार नथप्ने समझदारीपछि काम थालिएको प्रमुख जिल्ला अधिकारी जीवनप्रसाद दुलालले जानकारी दिए।

कोरोना भाइरस नियन्त्रणका लागि गरिएको लकडाउनले काम प्रभावित भएपछि कामदार नथप्ने र निर्माण स्थलमा भएकालाई परिचालन गरी काम थालिएको कम्पनीका कार्यकारी निर्देशक अरुन धिमानले बताए।

अधिकांश मजदूर बाहिरी जिल्ला र भारत भएका कारण घर फर्किन सम्भव नभएको बताइएको छ। भारतीय निर्माण कम्पनी सतलजले निर्माणको काम गरिरहेको छ।

आयोजना स्थलमा रहेका करिब १ हजार ५ सय कामदारले काम थालेका हुन्। यस अघि आयोजनामा ३ हजार कामदार रहेपनि कोरोनाको त्रासले धेरैजसो घर गएको निर्माण कम्पनीले जनाएको छ। अधिकांश कामदार भारतीय छन्।

कामदारको स्वास्थ्य सुरक्षालाई प्राथामिकता दिदै काम शुरु गरिएको जनाइएको छ। विद्युत गृह र बाँधलगायतका विभिन्न सुरुङमा विस्फोटको काम थालिएको जनाइएको छ। लकडाउनले आयोजनामा चाहिने सिमेन्ट, डण्डी लगायतका निर्माण सामग्रीको अभाव हुने देखिएको छ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७