लोकतान्त्रिक गठबन्धन बन्नेमा कांग्रेसभित्रै शंका


२० आश्विन २०७४, शुक्रबार
nepali congress flag

काठमाडाैं : लोकतान्त्रिक गठबन्धनमा रहेका ६ दललाई उनीहरूले दाबी गरेअनुसार सन्तुष्ट बनाएर निर्वाचनमा जान सक्नेमा कांग्रेसभित्रै शंका गर्न थालिएको छ । गठबन्धनमा नीति, सिद्धान्त, मुद्दा नमिल्ने दलहरू रहेकाले केही ठाउँमा चुनावी तालमेल गरेर जानुपर्ने विषय कांग्रेसमा उठेको छ ।

nepali congress flag

कमल थापा नेतृत्वको राप्रपाले १२ देखि १५ सिटमा दाबी गरेको छ । पशुपतिशमशेर राणा नेतृत्वको राप्रपाले पनि योभन्दा कम संख्यामा चित्त बुझाउने सम्भावना देखिँदैन । स्थानीय तहको निर्वाचनमा चौथो शक्तिका रूपमा उदाएको उपेन्द्र यादव नेतृत्वको समाजवादी फोरमले पनि राप्रपाको भन्दा धेरै सिट माग्ने देखिएको छ ।

६ दल मिलेर बनेको राजपाले पनि फोरमभन्दा कममा चित्त बुझाउँछ भन्ने छैन । फोरम लोकतान्त्रिक र अन्य दललाई समेट्दा कांग्रेसलाई आधाभन्दा बढी सिट छाड्नुपर्ने देखिन्छ । ‘दलहरूको आकांक्षा धेरै देखिन्छ,’ नेता महतले भने, ‘यस्तोमा गठबन्धन नै बन्ने सम्भावना कम छ । आवश्यकताका आधारमा तालमेल भने हुन सक्छ ।’

समाजवादी र राजपा पनि दोधारमा
संघीय समाजवादी फोरम र राष्ट्रिय जनता पार्टी नेपाल कांग्रेस अगुवाइको लोकतान्त्रिक गठबन्धनका लागि बनाइएको कार्यदलमा छन् । तर, सहज रूपमा गठबन्धन बन्ने र तालमेल हुनेमा आशावादी भने भइसकेका छैनन् । ‘हामी गठबन्धनको विपक्षमा छैनौँ, तर सहज रूपमा गठबन्धन बन्ने सम्भावना जटिल देखिन्छ,’ राजपा नेता केशव झाले भने । खासगरी एमाले र माओवादी दुई ठूला दल मात्र हुँदा सहजता भए पनि कांग्रेस अगुवाइमा धेरै दल हुँदा सबैलाई चित्त बुझाउन सहज नहुने झा बताउँछन् ।

राजपा नैतिकताका आधारमा माओवादी मन्त्रीले सरकार छाड्नुपर्ने पक्षमा छ । ‘एउटा पार्टी सत्ता र प्रतिपक्ष दुवैमा एकैपटक बस्न नैतिकताले मिल्दैन,’ झाले नयाँ पत्रिकासँग भने, ‘माओवादीले छाडिसक्नुपथ्र्यो, किन ढिलाइ गरिरहेको छ, हामी अचम्मित छौँ ।’

ढिलो गरी बन्यो आठ सदस्यीय कार्यदल
एमाले, माओवादी र नयाँ शक्तिले वाम गठबन्धन बनाएपछि कांग्रेसको अगुवाइमा संघीय समाजवादी फोरम, फोरम लोकतान्त्रिक, राजपा, राप्रपा र राप्रपा प्रजातान्त्रिक सम्मिलित ६ दलीय मोर्चाले बुधबार नै कार्यदल बनाउने समझदारी भएको थियो । जसमा कांग्रेसका दुई र अन्य पाँच दलबाट एक–एक सदस्य रहने भनिएको थियो । तर, अब कार्यदलमा कांग्रेसका तीन सदस्यसहित आठ सदस्य रहने भएका छन् । कांग्रेसबाट विमलेन्द्र निधि, पूर्णबहादुर खड्का, डा. मिनेन्द्र रिजाल, संघीय समाजवादीबाट राम साह यादव, राजपाबाट सर्वेन्द्रनाथ शुक्ल, फोरम लोकतान्त्रिकबाट गोपाल दहित, राप्रपाबाट बुद्धिमान तामाङ र राप्रपा प्रजातान्त्रिकबाट विक्रम पाण्डे सदस्य छन् ।
कार्यदलले निर्वाचनमा गर्न सकिने तालमेलका आधार तय गर्ने जिम्मेवारी पाएको छ । हालै सम्पन्न स्थानीय तहको निर्वाचनमा दलहरूले पाएको मतका आधारमा चुनावी तालमेल गर्न सकिने गरी मापदण्ड बनाउने जिम्मेवारी पाएको कार्यदल सदस्य डा. रिजालले जानकारी दिए । कार्यदलको औपचारिक बैठक शुक्रबार बिहान बालुवाटारमा बस्नेछ ।

नयाँ पत्रिका दैनिकबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७