‘कति डिग्रीमा फलाम तताएपछि हँसिया बन्छ डाक्टर साप ?’


३ असार २०७७, बुधबार
suman lyagun

डा. बाबुराम भट्टराईले जातीय विभेदविरूद्ध बोलिएको अभिव्यक्ति हामी सबैले नामको पछाडि ‘कामी’ लेखौं म मेरो नामको पछाडि कामी जात लेख्न तयार छु । डा. बाबुराम भट्टराईले आफ्नो नामको पछाडि किन लेख्ने निर्णय गरे हिन्दु वर्ण व्यवस्थाले कथित शुद्र वर्णभित्रको तथाकथित उच्च जात कामी ? जात फेर्दैमा विभेद हट्छ त ? प्रश्न यहाँ छ ।

महाकवि लक्ष्मीप्रसाद देवकोटाले लेखे ‘क्षेत्रीको छोरो यो पाउ छुन्छ घिनले छुदैन, मानिस ठूलो दिलले हुन्छ जातले हुदैन ।’ यहाँबाट थाहा हुन्छ कि लक्ष्मीप्रसाद देवकोटा आफै महाविभेदी थिए । ताकी लक्ष्मीप्रसाद देवकोटा आफू बाहुन थिए । आफू बाहुन भएकै कारण देवकोटाले आफूलाई एक श्रेणीमाथि नै राखे । त्यस कारण लेख्न सकेनन् ‘बाहुनको छोरो यो पाउ छुन्छ घिनले छुदैन, मानिस ठूलो दिलले हुन्छ जातले हुँदैन ।’

त्यस्तै डा. बाबुराम भट्टराईले हिन्दु वर्णव्यवस्थाको शुद्र वर्णभित्र कथित सबै भन्दा ठूलो कामी जात मेरो नामको पछाडि लेख्न तयार छु भन्दै गर्दा, बाहुनदेखि जैसी, क्षेत्री, सन्यासी, राई, लिम्बू आदि हुँदै कामीसम्मको कथित ठूलो भनिएका जातहरूले चरम विभेद र अछूत बनाइएका कामी जात भन्दा मुनिका कथित सानो जातहरूले सोचे होलान् त डा. बाबुराम भट्टराई जातीय विभेद मुक्तिको एक योद्धा हो भनेर ?

डा. बाबुराम भट्टराईले आफ्नो जात कामी लेख्छु भन्दै गर्दा कथित कामी जात भन्दा हिन्दु वर्ण व्यवस्थाले जब्बरजस्त सानो बनाइएका जातहरूले डा. बाबुराम भट्टराईलाई चरम विभेदी नै देख्छन् ।

किनकी कामी जात वर्ण व्यवस्थाले कथित शुद्र वर्णभित्रको सबै भन्दा उच्च जात बनाई दियो र कामीले त्यहाँ भन्दा मुनिका कथित सानो जात कँडारोलाई आफू भन्दा सानो हो भनेर विभेद गर्न सिकाइयो एवम् प्रकारले कँडारोले दमाईलाई, दमाईले सार्की हुँदै सबै भन्दा सानो जातलाई छुवाछूतसहितको जातीय विभेद गर्न सिकायो ।

त्यसैले हिन्दु जात व्यवस्थाभित्र एक अर्काे भन्दा अलिकति सानो वा ठूलो हुँदै सबै भन्दा ठूलो जात बाहुन र सबै भन्दा सानो जात शुद्र वर्णभित्रको फलानो जात भनेर किटान हुन गयो र त्यहि अनुरूप हदैसम्मको विभेद र प्रभुत्वको व्यवहार गर्न सिकायो ।

एकअर्काेमा त भन्दा म अलि ठूलो वा धेरै हुँ भन्ने दम्भको विकास भयो र आफू कथित ठूलो भएकै कारण छुवाछूतसहित निर्मम जातीय विभेद आफू भन्दा कथित साना जातलाई एक पछि अर्काे एक पछि अर्काे हुँदै एउटा सबै भन्दा कथित सानो जात सबै भन्दा पिंधमा हुन्छ र त्यो पिंधमा भएको कथित सानो जात यति धेरै उत्पीडित छ कि आफू भन्दा एक श्रेणी माथिको ठूलो जातदेखि सबै भन्दा ठूलो जात बाहुनसम्म सबै जातहरूको उत्पीडन सहेर पिंधमा बसेको हुन्छ ।

त्यो पिंधको कथित सानो जातले आफू भन्दा कथित ठूला जातहरूको विरूद्ध फर्किन सक्ने विद्रोह पाप र धर्म तथा परम्पराले खाईसकेको हुन्छ । त्यो पिंधको कथित सानो जातले नि खोज्छ कि म भन्दा सानो जात कोहि छ कि म त्यसलाई निर्मम छुवाछूतसहितको विभेदको पाइलाले टेकेर म त्यो सानो जात भन्दा ठूलो हुन्छु । यसरी गहिरिएर बुझेर हेर्दा हिन्दु वर्ण व्यवस्था यति भयानक छ । हिन्दु वर्ण व्यवस्थाको उत्पीडन कल्पनासम्म गर्दै आङ सिरिङ्ग हुन्छ ।

कामी जात आफैमा परम्परागत वैज्ञानिक हो । जसको सीप विना मानवीय जीवन शैली कल्पनासम्म गर्न सकिन्दैन । यो कुरा अकाट्य हो । कामी जातको शिल्प कति महत्वपूर्ण भन्ने तर्क त परैको कुरा व्यावहारिक रूपमा हेर्दा मान्छेको जन्म न्वरानको समेदा चिर्दाको धारिलो हतियारदेखि मृत्यु हुँदा बाँस काटेर घारो बनाउने धारिलो हतियार हुँदै चिहान खन्ने कोदालो अथवा चित्ता बनाउन दाउरा काट्ने धारिलो हतियारदेखि हिन्दु धर्म संस्कार अनुसार मृतकको श्रध्दाञ्जली अनुरूप मरेको दिनको तिथिमा बर्षको एक पटक श्राद्ध गर्ने चलन छ । श्राद्धको पिण्ड र बनाइएको समेदा कामीको सीप कुनै न कुनै प्रकारले नजोडिएसम्म हुनै सक्दैन ।

प्रत्येक मान्छेले यति कुरा बुझ्छ तर त्यहि कामीलाई अछूतको सजायसँगै मान्छे नै होइन भनेर चरम विभेद किन गरिन्छ ? कथित उच्च जातीय अहंकारीहरूले आधुनिक समाजको पाठ पढाउँदै गर्दा कथित उच्च जात भनिएका कुलङ्गार मानसिकताबाट प्रताडित मान्छेहरूको सामाजिक सञ्जालमा भएको हर्कतले नेपाली समाजको चेतनास्तर हदैसम्मको कमजोर छ भन्ने प्रमाणित गर्छ ।

कामी जात विभिन्न ग्रन्थमा परापूर्वककालदेखि नै उल्लेख गरिएको पाइन्छ । कामीले धरौटी उकास्न नसकेर बाहुनले वेद आफ्नो बनाएको हो भन्ने नियोजित कथादेखि समकालीन समयसम्म आउँदा हिन्दु धर्म परम्परा अनुसार जुनसुकै जातको विवाह हुँदा गोडा धुने साइतमा पण्डितले मन्त्र भन्छन् । ‘होत्रो सनासो जोर–जोर घन, कर्मको लागि गोडा धुन्छन् ।’

यस मन्त्रलाई आधार मानेर हेर्ने हो भने कामी जाति एक कर्म (काम) को प्रतीक हो । परापूर्वककालदेखि नै मानव जीवनमा अनिवार्य आवश्यक फलामको हातहतियार र युद्ध अस्त्रहरू आवश्यक गोलीगठा बनाउने काम नै गर्थे र कामी जातसँग कति डिग्रीमा फलामलगायत अन्य धातु तताएर आकार दिंदा औजार, युद्धअस्त्र र भाँडाकुँडा बन्छ भन्ने बैज्ञानिक ज्ञानले पूर्ण थिए जुन ज्ञान समकालीन समयसम्म वंशाणुगत पुस्तान्तरण हुँदै आएको छ ।

मानव जीवनमा अनिवार्य औजार हात हतियार निर्माण गर्ने जात अथवा परम्परागत वैज्ञानिकलाई दास बनाइयो । लेखिएको अक्षर पढ्न सिक्ने अधिकारबाट बन्चित गरियो । पठनपाठन गरेर गफ चुटेर खानेलाई मालिक बनाइयो । वैज्ञानिक काम गरे खानेलाई दास बनाइयो । पठनपाठनसँगै गफ गरेर खानेलाई पुस्तक भेटी गञ्छेअनुसार चढाउने र जो विज्ञानको काम गर्छ उसलाई एक मुठ्ठी चामल, दाल, दुन्द्रुक एक बर्षभरि काम गरेको अलिकति बाली दिइयो र दास बनाइयो ।

आजसम्म पनि परम्परागत वैज्ञानिकहरू दास नै छन् बालीघरे प्रथा यथावत नै छ । यसरी गफ चुटेर खानेलाई विद्वान अनि विज्ञान सम्बत काम गरेर मानव जीवनशैली नै सहज र सरल बनाउने वैज्ञानिक ज्ञान भएको मान्छेलाई दास त बनाइयो बनाइयो मान्छे भन्दा परको व्यवहार गरेर अछूत बनाइयो ।

यस्तो गैरमानवीय व्यवहार कायम नै छ । यसलाई अत्य गर्न १० बर्षे सशस्त्र युद्धदेखि बाहेक पटक–पटक संविधानमा लेखेर आँखामा छारो हाल्ने काम शिवाय केही नै भएको छैन । तै पनि हाम्रा नेताहरू भन्छन्, ‘हाम्रो संविधान वैज्ञानिक समाजवाद निर्माणको मार्गदर्शन हो ।’ वर्तमानका दलितहरूले परम्मरागत विज्ञान जसरी हाँकेर वर्तमान समयसम्म ल्याए ।

उनीहरूलाई उचित सम्मान र न्याय गर्न नसक्ने संविधानले वैज्ञानिक समाजवाद स्थापना गर्छ भन्ने हावा कुरा कसले पत्याउने र कसरी पत्याउने ? जबसम्म कामीलगायत अन्य दलितहरू चाहे नेवारी समुदायको होस्, चाहे मधेसी मुलको होस् यसभित्रको सबै परम्मरागत विज्ञानलाई विश्वविद्यालयको ज्ञानसँग जोड्न सकिंदैन तबसम्म नेपाली समाजको समृद्धि वालुवाको पानी हुन्छ ।

डा. बाबुराम भट्टराईको कामी थर लेख्ने अभिव्यक्तिपछि सामाजिक सञ्जालमा कामी शब्दको रोइलो बर्षियो । हाम्रो समाजमा बस्ने एकल चिन्तकहरूले कामी जातलाई नै मजाकको रूपमा उडाउनु उडाए । ती मजाकमा उडाउने मान्छेहरू हाम्रो सामाजिक धरातलको रूपरेखा अलिकतिसम्म नबुझ्ने पढे लेखेका पटमूर्ख हुन । तिनीहरू दक्षिण एशियाली समाजको दीर्घकालीन कोरोना भाइरस भन्दा शक्तिशाली भाइरस हुन् ।

जुन सुन्दर समाज व्यवस्था निर्माणको लागि तगारो हुन । युगौँदेखि कामीलगायत दलित समुदायले विज्ञान सम्बत् समाज हाँकेर ल्यएको प्रमाण आँखा अगाडि जीवित छ तर, सामाजिक रूपमा जुन समुदाय ३ हजार ३५ सय वर्षदेखि सामाजिक बहिष्करणमा पारिएको छ । त्यहि समुदायलाई मजाकमा उडाउने मान्छेहरूमा चेतनाको घटियापन र पटमुर्खता प्रष्ट देखिन्छ र इतिहासदेखि देखिदै पनि आएको छ ।

वैज्ञानिक आविष्कारक जसलाई कामी भनेर हेला होचो र हदैसम्मको विभेदपूर्ण व्यवहार गर्दै आइएको छ । कामी हेलाहोचाको शब्द र जात होइन । कामी एउटा वैज्ञानिक नाम हो । जसले परापूर्वककालदेखि समाजको विज्ञान हाँकेर ल्यायो । मानव जीवन शैली सहज र सरल बनाए ।

एउटा कामी जातले कथित उच्च भनिएका जातहरूलाई अब प्रश्न गर्छ । तिमी उच्च जाति हुँ भन्नेहरूले यो समाज निर्माणमा म कामी जातले जतिकै हैसियत राख्न सक्छौं ? यदि हैसियत राख्न सक्दैनौं भने म कामी जातले गरेको समाज निर्माणमा युगौंको वैज्ञानिक योगदान मजाकमा उडाउने पनि हैसियत छैन ।

अब बोल्ने पालो कामी जातको हो । कथित कामी जातलाई सानो बनाएर कामी जातको पसिना र रगत युगौंयुग चुसेर तिमी समृद्ध बन्यौं । अब कथित तिमी ठूला जातिहरूले चुसेको कामी जातको पसिनाको मूल्य तिर्न हैसियत राख्ने कि नराख्ने ?

कामी जात षड्यन्त्रको जालो बुनेर समाजमा लुटेर खाने जात होइन । कामी जात समाज सुन्दर बनाउन अमिलो पसिनाको सुगन्ध छर्ने समाजको एक सम्मान र सौन्दर्य हो । यो कुरा प्रत्येक पटमुर्खहरूले नि बुझ्न जरूर छ । अन्त्यमा डा. बाबुराम भट्टराई ! कति डिग्रीमा फलाम तताएर पिट्दा हँसिया बन्छ भन्ने वैज्ञानिक ज्ञान छ भने मात्र लेख्नुहोस् कामी जात ?

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७