नागरिकतासम्बन्धी नेकपाको निर्णय मधेसी जनताको भावना विपरीत : प्रभु साह


७ असार २०७७, आईतवार
Prabhu Sah CPN

काठमाडौं, ७ असार । नागरिकता विधेयकको विषयमा सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठकले गरेको निर्णयप्रति नेकपा प्रदेश–२ ले असन्तुष्टि व्यक्त गर्दै सो निर्णय सच्याउन माग गरेको छ ।

शनिबार बसेको नेकपा सचिवालय बैठकले विदेशी बुहारीलाई ७ वर्षपछि मात्रै वैवाहिक अंगीकृत नागरिकता दिने निर्णय गरेको छ । उक्त निर्णय मधेसी जनताको भावना विपरीत रहेको भन्दै नेकपा प्रदेश–२ का अध्यक्ष प्रभु साहले पुनर्विचार गर्न पार्टी नेतृत्वसंग आग्रह गरेका छन् ।

उक्त निर्णयले नेपाल–भारतबीच परापूर्वकालदेखि चल्दै आएको रोटी–बेटीको सम्बन्ध बिथोल्ने र मधेसमा अविश्वासको वातावरण सिर्जना हुने नेता साहको भनाई छ । नेता साहले ढिलागरी नागरिकता दिंदा त्यसले राष्ट्रियता बलियो बनाउने तर्कमा कुनै तुक नभएको बताए ।

‘नेपाली नागरिकसंग विवाह गरेको विदेशी महिलालाई विवाहको ७ वर्षपछि मात्र नागरिकता दिने पार्टीको निर्णय मुलभूत रुपमा मधेसी जनभावना विपरीत छ ।

७ वर्षपछि नागरिकता दिंदा नेपाली राष्ट्रियता बलियो हुने र विगतमाझैं भारतीय नागरिकता त्यागेपछि नागरिकता दिदाँ राष्ट्रियता कमजोर हुने तर्कमा कुनै तुक देखिदैन’ नेकपा प्रदेश २ अध्यक्ष साहले भने, ‘यस निर्णयले परापूर्वकालदेखी चलदै आएको हाम्रो रोटी–बेटीको सम्बन्धलाई बिथोल्ने मात्र नभई मधेसी जनतामाथि अविश्वास तथा असहयोग गरेको समेत झल्किनेछ । त्यसैले यस निर्णयबारे पुनर्विचार गर्नुपर्छ ।’

सहज वैवाहिक सम्बन्धले कहीं कतै राष्ट्रियतामा नै असर नपरेको बताउँदै उनले एक त नेपालीहरू अहिले आफै विकसित देशहरूमा पलायन भईरहेको र अर्का पहिलेको तुलनामा नेपालमा विवाह गर्ने भारतीय जनताको इक्छा घटदै गईरहेको सन्दर्भमा यो प्रावधानले मधेसी जनतामा नकारात्मक असर निश्चित रहेको बताए ।

तराई मधेसका नेकपाका नेताहरुसंगको परामर्शपछि अन्तिम निष्कर्षमा पुग्दा राम्रो हुने बताउँदै साहले यो निर्णयलाई पुर्नविचार गर्न पार्टी नेतृत्वको समयमैं गम्भीर ध्यानाकर्षण गराएका छन् ।

२ वर्षदेखि नागरिकता विधेयक अडकेको बेला शुक्रवार मात्र नेता साहले सदनमा नागरिकता नपाएर अन्योलमा रहेका जनताका हितमा विधेयक अगाडि बढाउन आग्रह गरेका थिए । सर्वमान्य र सबैको हितमा विधेयक अगाडि बढाउनु पर्नेमा उनको जोड छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७