मकालुमा पहिरो झरेपछि अरुण नदी थुनिएर ताल बन्यो


७ असार २०७७, आईतवार
arun

संखुवासभा, ७ असार । दिनहुँजसोको बर्षाका कारण संखुवासभाको मकालु गाउँपालिका– २ र ५ मा पर्ने बोयामफेदीमा पहिरो झर्दा अरुण नदीको केही भाग थुनिएको छ ।

केही दिन अघिदेखिको अविरल वर्षाका कारण गए राति गएको पहिरोले आंशिक रूपमा अरुण नदी थुनिएको जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरी नायव उपरीक्षक नवराज मल्लले जानकारी दिएका छन् । उनका अनुसार गए राति गएको पहिरोले स्थानीय ललितबहादुर राई र उनको छोरा जयप्रकाश राईको सात जनाको परिवार विस्थापित भएको छ ।

विस्थापित परिवारलाई घरबाट केही टाढाको समथर भू–भागमा प्रहरी र गाउँलेले उद्धार गरेका छन् । ललितबहादुरको घरमुनिबाट करिब ६ सय मिटर लामो पहिरो झर्दा अरुण नदी थुनिंन गई पानी जमेर करिब तीन सय मिटरको ड्याम बनेको छ ।

ललितबहादुरका साथै २ नम्बर वडा सदस्य हीरालाल राई र बिर्खबहादुर राईको गोठ समेत उच्च जोखिममा परेको छ । पहिरोका कारण स्थानीयहरू त्रसित बनेका छन् । आंशिक अझै पनि पहिरो झरिरहेको प्रहरीले जनाएको छ । घटनाको सम्पूर्ण विवरण आइनसकेको जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरी नायव उपरीक्षक मल्लको भनाइ छ ।

अरुण थुनिएपछि बहुचर्चित नौ सय मेगावाटको अरुण तेस्रो आयोजनाको ड्याम साइड फ्याक्सिन्दा र पुखुवा आसपास क्षेत्रहरू समेत जोखिममा परेका छन् । त्यसका साथै अरुण नदीसँगै हेलुवाबेंसी, चेवाबेंसी, मनकामनालगायतका क्षेत्रका नदी आसपासका स्थानीयहरूमा जोखिम बढेका छन् ।

त्यसैले स्थानीय प्रशासनले सतर्क र सचेत रहन समेत आग्रह गरेका छन् । उक्त क्षेत्रमा गत वर्ष पनि ठूलो पहिरोले धेरै ठूलो क्षति गरेको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७