पार्टी फुटको संघारमा ओलीको सन्देश बोकेर देउवा निवास पुगे नेम्वाङ


२१ असार २०७७, आईतवार
deuwa subash nembang

काठमाडौं, २१ असार । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच पार्टी विवाद समाधान गर्न बसेका अहिलेसम्मका छलफल ठोस निष्कर्षतर्फ अघि नबढेपछि दुई नेताबीचको विवाद विभाजनतर्फ आकर्षित हुँदै गएको छ ।

प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओली पार्टी फुटाउने तर दुबै पद नत्याग्ने अडानमा अडिग हुनु र अर्का अध्यक्ष प्रचण्ड ओलीले दुवै पद छाड्नु पर्ने अडानमा रहँदा विवाद समाधानको कुनै बाटो देखिन सकेको छैन ।

दुई अध्यक्षबीचको अडानसँगै नेकपाको राजनीतिले नयाँ मोड लिंदै गएको छ । नेकपा संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङ्गले आज (आइतबार) विहान प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग भेट गरेपछि नेकपाको राजनीति थप तरङ्गित बनेको छ ।

बिहीबार प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता गरेका प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई नेकपा संसदीय दलका उपनेता सुवास नेम्वाङले भेटेर लामो कुराकानी गरेका छन् ।

देउवालाई भेट्न नेम्वाङ आइतबार बिहान देउवा निवास बुढानिलकण्ठ पुगेका थिए । नेता नेम्वाङ प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीको सन्देश बोकेर देउवा निवास पुगेको स्रोतले जानकारी दिएको छ ।

‘झण्डै डेढ घण्टा उहाँहरुबीच छलफल भएको हो,’ देउवा निकट स्रोत भन्छ, ‘प्रधानमन्त्री ओलीको सन्देश लिएर उहाँ आउनु भएको हो ।’ देउवा र नेम्वाङबीच अन्य समसामयिक विषयमा पनि कुराकानी भएको छलफलमा सहभागी नेताले जानकारी दिएका छन् ।

नेकपाभित्रै प्रधानमन्त्री ओलीले दुवै पदबाट राजीनामा दिनुपर्ने माग उठिरहेका बेला ओलीका विशेष दूत बनेर नेम्वाङ सक्रिय भएका छन् । जुनसुकै बेला जस्तोसुकै निर्णय गर्न सक्ने बताउँदै मन्त्रीहरुलाई आफ्नो कित्ता प्रष्ट पार्न निर्देशन दिएका ओलीको कदमकाबीच भएको नेम्वाङ–देउवाको भेटलाई चासोका साथ नियालिएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७