नक्सामा लिम्पियाधुरा समेटे पनि कालापानीसम्मै छैन हाम्रो पहुँच


३० असार २०७७, मंगलवार
kalapani APF

दार्चुला, ३० असार । नेपालले आफ्नो भूभाग लिम्पियाधुरा समेटेर नयाँ नक्सा जारी गरिसकेको छ । तर, त्यसभन्दा करिब ५० किलोमिटरयता कालापानीसम्मै अझै नेपालीको पहुँच छैन । सर्वसाधारणको त कुरै छाडौं, नेपाली सुरक्षाकर्मीले समेत कालापानी टेक्न–देख्न पाउँदैनन् ।

दार्चुलाको व्यास–१ छाङरुस्थित बोर्डर अब्जरभेसन पोस्ट (बीओपी) बाट कालापानी हिंडेको सशस्त्र प्रहरीको टोली गत जेठ १८ गते त्यहाँभन्दा १.२ किलोमिटर वरैबाट फर्किएको छ । सशस्त्र प्रहरी निरीक्षक लिलीबहादुर चन्द नेतृत्वको टोली करिब ६ घण्टा हिँडेर मल्लो (माथिल्लो) कौवाभन्दा केही माथिको क्षेत्रसम्म पुगेको हो ।

भारतले बनाएको नक्कली काली मन्दिरभन्दा १.२ किलोमिटरयता भारतीय फौजसँग उनीहरूको भेट भएको थियो । भारतीय पक्षले ‘निषेधित क्षेत्र’ भन्ने जानकारी दिए । र, नेपाली टोली त्यहींबाटै फर्कियो ।

‘हामी तल्लो कौवा, माथिल्लो कौवा हुँदै कालापानी क्षेत्र नजिक पुगेका थियौं’, एक सुरक्षाकर्मीले भने, ‘भारतीय सुरक्षाकर्मीले निषेधित क्षेत्र भनेपछि अगाडि जान चाहेनौं ।’ छाङरुबाट कालापानी १४ किलोमिटर दूरीमा पर्छ ।

उक्त घटनाले कालापानी, लिपुलेक, गुन्जी, नाभी, कुटी, लिम्पियाधुरा अझै हाम्रो पहुँचमा नरहेको देखाएको छ । छाङरुमा गत वैशाख ३१ गते सशस्त्र प्रहरीको बोर्डर अब्जरभेसन पोस्ट बीओपी स्थापना गरिएको थियो । त्यसपछि निरन्तर सीमा क्षेत्रमा गस्ती, पेट्रोलिङलाई तीव्रता दिइएको सशस्त्र प्रहरीले जनाएको छ । मल्लो कौवा, तल्लो कौवा, टिंकरलगायत क्षेत्रमा सशस्त्र प्रहरीले गस्ती गरिरहेको छ ।

नेपाली सुरक्षा फौजले नेपाल–चीन सीमास्थित १ नम्बर पिलर पुगेर गस्ती गरिरहेको छ । छारुङबाट उक्त पिलर २१ किलोमिटर दूरीमा छ । छारुङबाट टिंकर भञ्ज्याङ ११ किलोमिटर दूरीमा पर्छ । व्यास–२ दुम्लिङ अनि मालिकार्जुन–७ जोलजिवी र लेकम गाउँपालिका–३ लालीमा पनि बीओपी स्थापना गरिएका छन् । माथिल्लो कौवा र टिंकरमा बीओपी राख्ने तयारी छ ।

सशस्त्र प्रहरी बलको ५० नम्बर गुल्म दार्चुलाका प्रमुख सशस्त्र प्रहरी नायब उपरीक्षक डम्बरबहादुर विष्ट (दीपेन्द्र)ले सीमा क्षेत्रमा सशस्त्रको गस्ती र पेट्रोलिङ भइरहेको बताए । माथिल्लो कौवा, तल्लो कौवा, टिंकरलगायत क्षेत्रमा नियमित गस्ती भइरहेको उनले जानकारी दिए । उनका अनुसार सीमावर्ती क्षेत्र सीतापुलमा २४ घण्टा गस्ती भइरहेको छ ।

नयाँ नक्सा जारी गरिएपछि भारतीय पक्षले कालापानी जान नेपालीमाथि थप कडाइ गरेको पाइएको छ । हुन त अहिले मात्र होइन, विगतमा अनेरास्ववियुको टोलीले कालापानी नजिक पुगेर मार्चपास गरेदेखि भारतीयले त्यहाँ नेपाली प्रवेशमा रोक लगाउँदै आएका छन् ।

कालापानीमा नेपाली भूभाग अतिक्रमण गरी सन् १९६२ आसपासदेखि नै भारतीय फौज बस्दै आएको छ । नेपाली भूभाग कालपानी, नाभीडाङ, गुन्जी, नाभीमा भारतले ठूलो संख्यामा सुरक्षा फौज राखेको छ ।

उसले कालापानीमा नक्कली काली मन्दिर बनाएको छ । नक्कली कुण्ड र नक्कली काली नदीसमेत बनाइएको छ । त्यहाँभन्दा ५० किलोमिटर पश्चिम लिम्पियाधुराबाट आउने नदीचाहिँ वास्तविक काली नदी हो । सुगौली सन्धिअनुसार काली नदीसहित त्यसभन्दा पूर्वको भूभाग नेपालको हो ।

सशस्त्र प्रहरी टोली कालापानी पुग्न नपाएकोबारे छाङरु बीओपीले जिल्लास्थित सुरक्षा निकाय हुँदै गृह मन्त्रालयमा जानकारी पठाइसकेको छ । असार ३ गते व्यास क्षेत्र निरीक्षणमा गएका प्रधानसेनापति पूर्णचन्द्र थापा र सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनाललाई त्यति बेलै भारतीय अवरोधबारे जानकारी गराइएको सुरक्षा स्रोतले जनाएको छ । नेपाली र भारतीय सुरक्षा अधिकारीबीच बेलाबेला सीतापुलमा छलफल चल्ने गरेको छ । सीतापुल छाङरु बीओपीबाट एक किलोमिटर दूरीमा छ ।

दार्चुलाका प्रमुख जिल्ला अधिकारी शरदकुमार पोखरेलले यो मामिलामा जानकारी नभएको प्रतिक्रिया दिए । सरकारले छाङरु र टिंकरका स्थानीयका लागि हेलिकप्टरबाट रासन ढुवानी थालेको छ ।

छाङरु र टिंकरमा १२ सय २० जनसंख्या छ। छाङरुमा ११९ घर छन् भने टिंकरमा ७० घर । तर, त्यहाँ ५० प्रतिशत मात्रै पुगेका छन्। त्यहाँका बासिन्दा चिसोका कारण ६ महिना सदरमुकाम दार्चुला झर्छन् । त्यसमाथि लकडाउनका कारण समस्या परेको छ । यहाँका बासिन्दालाई सुपथ मूल्यमा खाद्यान्न उपलब्ध गराइने भएको छ ।

सशस्त्रको बीओपी राख्ने भनिएको कौवामा समतल भूभाग छ । तर, त्यहाँ मानव बस्ती छैन । नेपाली भूभाग कालापानी, लिपुलेक र लिम्पियाधुरा भारतले ६० वर्षदेखि अतिक्रमण गर्दै आएको छ । भारतले सडक बनाउने क्रममा पहाड फोड्न विस्फोटक पड्काउँदा नेपालतर्फ बाटो बनाउन अवरोध हुँदै आएको छ । अन्नपूर्ण पोष्ट दैनिकबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७