प्रचण्ड-माधव नेपाललाई ओलीको स्पष्ट जवाफ : राजीनामा दिन्न, के–के गर्न सक्नु हुन्छ गर्नुस्


१ श्रावण २०७७, बिहीबार
kp oli prachanda madhav
फाइल फोटो

काठमाडौं, १ साउन । पार्टीभित्रको विवाद हल गर्नका लागि आज (बिहीबार) बालुवाटारमा बसेको छलफलमा केपी शर्मा ओलीले आफ्नो पुरानो अडान कायम राखेका छन् ।

नेकपा बरिष्ठ नेता माधवकुमार नेपालसहित बसेको नेकपा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीचको छलफलमा ओलीले आफ्नो चट्टटानी अडान दोहोर्‍याउँदै आफू कुनै पदबाट राजीनामा गर्न तयार नरहेको स्पष्ट पारेका हुन् ।

आज (बिहीबार) को वालुवाटार छलफलमा अर्का अध्यक्ष प्रचण्डले पनि पुरानै माग दोहोर्‍याउँदै प्रधानमन्त्रीले राजीनामा माग गरेपछि अध्यक्ष एवं प्रधानमन्त्री ओलीले आफूले पदबाट कुनै हालतमा राजीनामा नदिने प्रष्ट गर्दै सकेको गर्न आफ्नाविरुद्धका नेताहरुलाई चुनौति दिएका छन् ।

ओलीको कार्यशैली र अभिव्यक्तिले पार्टी र सरकार दुबै संकटमा परेको निष्कर्ष निकाल्दै आएका अर्का अध्यक्ष पुष्पकमल दाहाल र माधव नेपाललाई ओलीले सकेको गर्न चुनौति दिएका हुन् ।

विवादको समाधान खोज्न भन्दै आफूसँग छलफल गर्न बालुवाटार आएका दाहाल र नेपाललाई उनले आफू स्थायी कमिटी मात्र होइन पार्टीका सबै कमिटी फेस गर्न तयार रहेको तर राजीनामा नदिने जवाफ दिएको स्रोतले जानकारी दिएको छ ।

स्थायी कमिटी लगातार स्थगित गरेर समाधान खोज्न भने पनि दुई अध्यक्षको संवादबाट हल ननिस्केपछि बिहीबार छलफलमा माधव नेपाल पनि थपिएका थिए ।

बैठकमा दाहाल र नेपालले प्रष्ट शब्दमा पुरानै माग राख्दै अब ओलीको राजीनामा बाहेक अरु विषयबाट समाधान ननिस्कने भएकाले पद त्याग्न आग्रह गरेका थिए ।

ओलीले ढाकछोप गर्न नसक्ने गरी राजनीतिक र कूटनीतिक कमजोरी गरेकाले राजीनामा बाहेक अर्को विकल्प नरहेको प्रचण्ड–नेपालको भनाई थियो । बिहीबारको बैठकमा पार्टी महासचिव विष्णु पौडेल र जनार्दन शर्मा पनि सहभागी थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७