कोरोनासम्बन्धी प्रविधि विकासका लागि ३३ वैज्ञानिकलाई अनुसन्धान वृत्ति


३ श्रावण २०७७, शनिबार
corona2020 07 18 05 26 26

काठमाडौं, ३ साउन । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) ले कोरोना भाइरससँग सम्बन्धित प्रविधि विकास कार्य थालेको छ । यसका लागि ३३ जना वैज्ञानिकलाई अनुसन्धान वृत्ति प्रदान गरेको छ ।

नास्टले ‘समृद्धिका लागि नवप्रवर्तन’ कार्यक्रमअन्तर्गत वैज्ञानिकलाई खोज, अनुसन्धान र अभ्यास गर्न अनुसन्धानवृत्ति प्रदान गरेको जनाएको छ । यसका लागि ‘समृद्धिका लागि नवप्रवर्तन केन्द्र’ स्थापना गर्न लागिएको उपकुलपति डा. सुनिलबाबु श्रेष्ठले बताए । ‘समृद्धिका लागि नवप्रवर्तन केन्द्र स्थापनाको तयारी अन्तिम चरणमा पुगेको छ,’ उपकुलपति डा. श्रेष्ठले भने ।

नास्टले कोभिड–१९ सँग सम्बन्धित प्रविधिको विकासका लागि अनुसन्धान प्रस्ताव आह्वान गरेको थियो । जसमा पेस भएका एक सय १८ प्रस्तावमध्ये २० वटा स्वीकृत भएका छन् । प्रस्तावमा आधारित भएर नास्टले अनुसन्धानवृत्ति उपलब्ध गराएको बताउँदै उपकुलपति डा. श्रेष्ठले भने, ‘यसमा नयाँ खोज, अनुसन्धान र आविष्कार गर्न चाहने युवा वैज्ञानिकहरू हुनुहुन्छ ।’

कोरोना प्रतिरोधी प्रविधि विकास गर्न २० जनालाई एक करोड २४ लाख १४ हजार रुपैयाँ उपलब्ध गराइएको छ । यो अनुसन्धानवृत्ति पाउने वैज्ञानिकहरू विशेष खनाल, अजिकुमार कर्ण, रामलक्ष्मण रिमाल, गौरव न्यौपाने, शर्मिला तण्डुकार, देवराज जोशी र रसिला लामिछानेले रहेका छन् ।

त्यस्तै, वैज्ञानिकहरू रेश्मा तुलाधर, रामचन्द्र थापा, असिम ढकाल, अभिषेक कार्की, विजय भट्टराई, प्रज्ज्वल आचार्य, रूपेशदही श्रेष्ठ, नसिर मुल्ला, युवराज केसी, विकास गुरुङ, रौनक मिश्र, गृड नेपाल, बाबुराजा श्रेष्ठ र साकार निरौलाले पनि अनुसन्धानवृत्ति पाएका छन् ।

त्यस्तै, ‘समाजका लागि प्रविधि’ विकास गर्न चाहने १३ जनालाई ९६ लाख रुपैयाँ उपलब्ध गराएको नास्टका प्रवक्ता डा. सुरेशकुमार ढुंगेलले बताए । यसमा एक सय ६२ वटा प्रस्ताव थिए ।

यो अनुसन्धानवृत्ति पाउने वैज्ञानिकहरू विवेकानन्द महत, सन्तोष दाहाल, विप्लव कार्की, दिपेशप्रसाद गुरागाईं, सन्देश सुवेदी, लक्ष्मण मोत्रा, कपिल ज्ञवाली, अस्मिता पाण्डे, खिलबहादुर बयलकोटी, हरि दर्लामी र नवराज भट्टराई रहेका छन् । यस्तै, रोबोटिक्स एसोसिएसन नेपालले पनि अनुसन्धानवृत्ति पाएको छ ।

‘दुवै अनुसन्धान र नव प्रवर्तनका कार्य हुन्, छनोट भएका वैज्ञानिकले वृत्ति प्राप्त गर्नुभएको छ,’ प्रवक्ता डा. ढुंगेलले भने, ‘एक वर्षसम्म उहाँहरूले आफ्नो प्रस्तावनाबमोजिमको प्रविधि विकासमा समय दिनु हुनेछ ।’

नास्टले ज्वरो परीक्षण गर्ने थर्मोग्राफिक क्यामेरा बनाउन, न्यून लागतमै परीक्षण गर्न सकिने पिसिआर प्रविधि, खाद्य सुरक्षाका लागि सोलार प्रविधिमा आधारित ड्रायर सिस्टम, अस्पताल र क्वारेन्टाइन डिसइन्फेक्सनका लागि माइक्रोबायोलोजिकल रोबोट र कोभिड–१९ पत्ता लगाउने एक्स–रे प्रविधि विकास गर्न अनुसन्धानवृत्ति दिएको छ ।

यस्तै, कृषि उत्पादनको डिजिटल मार्केटिङ मोबाइल एप, कोरोनाका कारण मृत शरीर व्यवस्थापनका लागि रोबोट भ्यान, एआईमा आधारित डेलिभेरी रोबोट, औषधि र खानेकुरा लैजाने रोबोटलगायत प्रविधि निर्माणका लागि अनुसन्धान तथा नवप्रवर्तन वृत्ति उपलब्ध गराएको नास्टले जनाएको छ ।

यसमा स्मार्ट एग इन्क्युबेटर, खानेकुराका लागि स्वदेशी किटको औद्योगिक उत्पादन, औषधि छर्कने ड्रोन, क्वाइड बाइक, अटोनोमस मेडिकल ड्रोन प्रविधि, ई–भोटिङ प्रणालीलगायत पनि छन् । नयाँ पत्रिका दैनिकबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७