भारतमा ३४ वर्षपछि नयाँ शिक्षा नीति, कक्षा ५ सम्म मातृभाषामा पढाइ


१५ श्रावण २०७७, बिहीबार
indian education policy

काठमाडौं, १५ साउन (एजेन्सी) । भारतले ३४ वर्षपछि नयाँ शिक्षा नीति ल्याएको छ । त्यहाँको केन्द्रीय मन्त्रिपरिषद्ले यसअघि लागु हुँदै आएको नीतिलाई झण्डै ३४ वर्षपछि विस्थापित गर्ने गरी राष्ट्रिय शिक्षा नीति २०२० पारित गरिएको हो ।

मन्त्रिपरिषद्को मङ्गलबार बसेको बैठकले नयाँ नीति पारित गरेको केन्द्रीय मन्त्री प्रकाश जावडेकरले आज पत्रकार सम्मेलनमा जानकारी दिए । उनले २१औँ शताब्दी सुहाउँदो नयाँ नीतिमा धेरै व्यवस्थाहरू समावेश गरिएको बताए ।

उनले नयाँ शिक्षा नीतिलाई सरोकारवाला र विज्ञहरूले स्वागत गर्ने र सकारात्मक रूपमा लिने विश्वास पनि उनले व्यक्त गरे । भारतले ल्याएको नयाँ शिक्षा नीतिले विश्वकै शिक्षा क्षेत्रलाई प्रभावित पार्ने पनि मन्त्री जवडेकरले दाबी गरे ।
त्यसैगरी उच्च शिक्षा सचिव अमित खारेले नयाँ शिक्षा नीति पारित भएको दिनलाई ऐतिहासिक भएको बताएका छन् । “मन्त्रिपरिषद्ले पारित गरेको नयाँ शिक्षा नीतिले शैक्षिक क्षेत्रको पुनः संरचना र गुणस्तर वृद्धिका लागि ठूलो सहयोग गर्ने विश्वास लिइएको छ,” उनले भने ।

नयाँ शिक्षा नीतिमा अनुगमन, प्रशासन, आर्थिक व्यवस्थापन, पारदर्शीतालगायतका विषयमा केही सुधार गर्ने प्रयास गरिएको शिक्षा सचिव खारेले जानकारी दिए । “हाम्रो देशमा सम्बन्धन प्राप्त ४५ हजारभन्दा बढी क्याम्पस छन् । उनीहरूका लागि स्वायत्ततासहितका विषेश व्यवस्थाहरू गरिएको छ,” उनले भने ।

यस्तै भारतको ‘केन्द्रीय मानव संसाधन विकास मन्त्रालय’को नाम परिवर्तन गरेर ‘शिक्षा मन्त्रालय’ नाम राखिएको छ । केन्द्रीय मानव संसाधन विकास मन्त्री रमेश पोखरियाल अब शिक्षा मन्त्री हुनेछन ।

नयाँ शिक्षा नीतिमा कक्षा ५ सम्म मातृ भाषामा पढाइ

नयाँ शिक्षा नीतिमा पाँच कक्षासम्म मातृभाषा, स्थानीय वा क्षेत्रीय भाषाको माध्यमबाट पढाइ हुने उल्लेख छ । त्यसलाई कक्षा आठ वा त्योभन्दा माथिल्लो कक्षासम्म पनि निरन्तरता दिन सकिने छ । विदेशी भाषाको पढाइ भने माध्यमिक तहबाट सुरु हुने छ ।

यद्यपि नयाँ शिक्षा नीतिमा कुनै पनि भाषालाई नथोपरिने उल्लेख छ । क्षेत्रीय भाषामा पठनपाठन गराउन सकिने गरी अनलाइन पाठ्यक्रमको समेत व्यवस्था नयाँ शिक्षा नीतिमा गरेको छ ।

नयाँ शिक्षा नीतिले हाल शिक्षाबाट बन्चित दुई करोड बालबालिकालाई मूलधारमा ल्याउने उल्लेख छ । त्यसका लागि विद्यालयको ढाँचा र नयाँ शिक्षा केन्द्रहरुका स्थापना गरिने छ । नयाँ प्रणालीमा १२ वर्षको विद्यालय शिक्षा हुनेछ भने तीन वर्षको प्री–प्राइमेरी कक्षालाई राखिएको छ । अघिल्लो चरणमा तेस्रो, चौथो र पाँचौं कक्षालाई राखिएको छ ।

त्यसपछि मिडिल स्कुल अर्थात ६–८ कक्षामा विषयको परिचय गराइने छ । सबै विद्यार्थीले केवल ३, ५ र ८ कक्षामा परीक्षा दिने छन् । १० र १२ कक्षाको बोर्ड परीक्षा पहिलेकै जस्तै जारी रहने छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७