कोरोना पुष्टि भएका युवालाई ठीक भयो भनेर घर पठाइयो, विचलित युवाले गरे आत्महत्या


१८ श्रावण २०७७, आईतवार
janakpurdham2020 08 02 03 18 03

जनकपुरधाम, १८ साउन । कोरोना संक्रमणपछि पनि ज्यान जोगाएका धनुषाका एक युवाले घर फर्केपछि आत्महत्या गरेका छन् । कोरोना लागेको भनेर आइसोलेसनमा राखिए पनि विना परीक्षण सन्चो भएको भनेर घर पठाइएको भन्दै उनी असन्तुष्ट थिए ।

धनुषाको मिथिला बिहारी नगरपालिका–२ बस्ने ३६ वर्षीय विश्वेश्वर यादवलाई कोरोना संक्रमण भए पनि विनापरीक्षण घर जान भनिएकाले परिवार र छिमेकीहरू पनि त्रसित थिए । सबै जना आफूसँग डराएकाले उनले आफूलाई ठीक भएको हो कि होइन भनेर परीक्षण गरिदिन आग्रह गरेका थिए । तर, सुुनुवाइ भएन, आइसोलेसनबाट घर फर्किएपछि उनले आत्महत्या गरेका छन् ।

भारतको राजस्थानको होटेलमा काम गर्ने उनी कोरोनाबाट ज्यान जोगाउन गत १४ असारमा घर फर्किएका थिए । ‘उनले २५ हजार भारु खर्च गरेर राजस्थानदेखि महोत्तरीको भित्तामोडसम्म गाडी बुक गरेका थिए, त्यत्रो खर्च गरेर आएका युवालाई आफ्नो ज्यानको माया थिएन भन्नै मिलेन, तर यहाँको सिस्टम देखेर उनी दिक्क थिए,’ आइसोलेसनमा उनीसँगै बसेका अर्का युवाले भने ।

नाकाबाट उनलाई मिथिला बिहारी नगरपालिकाले पठाएको गाडीमा स्थानीय पर्शुराम तलाउस्थित सामुदायिक विद्यालयस्थित क्वारेन्टाइनमा लगिएको थियो । तर, १२ दिनपछि मात्र उनको नमुना संकलन भएको थियो ।

‘एक सातापछि १ साउनमा रिपोर्ट आयो, उनलाई कोरोना संक्रमण भएको पुष्टि भएपछि प्रदेशिक अस्पताल लग्नुको सट्टा नगरपालिकले गंगुलीमा सञ्चालन गरिएको आइसोलेसन सेन्टरमा भर्ना गरियो,’ उनको परिवारको भनाइ छ, ‘त्यहाँ १० दिन राखेपछि घर जान भनियो, फेरि जाँच नगरी घर पठाइएकाले गाउँका मान्छे डराए, उहाँ आफै पनि डराउनुभयो ।’

नगरपालिकाले विना जाँच कोरोना ठीक भयो भनेर घर पठाए पनि आइसोलेसनमा नै बस्न भनेको थियो । ‘उनी घर आए, तर घरभित्र बस्न पाएनन्, टोल–छिमेकले पनि शंकाको दृष्टिले हेर्न थाले । त्यसैले विश्वेश्वरले नगरपालिकामा फोन गरेर मेरो जाँच गरिदिनोस् भनेका थिए, तर सुनुवाइ भएन । त्यसपछि उनले आत्महत्या गरेछन्,’ उनका साथीको भनाइ छ ।

विश्वेश्वरले कोरोना जाँच गरिदिनोस् भनेर आफूलाई फोन गरेको मिथिला बिहारी नगरपालिकाका मेयर अनिल यादवले पनि स्विकारे । ‘मलाई, परिवार र समाज सबैलाई डर भयो, मेरो पिसिआर टेस्ट गराइदिनोस् भनेर फोन गरेका थिए, मैले हुन्छ पनि भनेको थिएँ, तर उनले आत्तिएर आत्महत्या गरेछन्,’ मेयर यादवले भने । कोरोना संक्रमण पुष्टि भइसकेकाले मानसिक दबाबका कारण विश्वेश्वरले आत्महत्या गरेको हुन सक्ने मेयर यादवले बताए ।

मृतक विश्वेश्वरका दुई छोरा र दुई छोरी छन् । सरकारले जाँच नगरिदिएकाले आफ्नो श्रीमान्को ज्यान गएको श्रीमती मञ्जु यादवको भनाइ छ । ‘कोरोना लागेको छ भनेर भर्ना ग¥यो, तर जाँच नगरी ठीक भयो भनेर पठाई दियो । घरमा भए पनि बालबच्चासँग नजिक हुन पाउनु भएन, छिमेकी पनि डराए । यस्तो कतिन्जेल हुन्छ भनेर उहाँ चिन्तित हुनुहुन्थ्यो, अन्तिममा आफ्नो ज्यान दिनुभयो,’ मञ्जुले भनिन्, ‘उहाँको ज्यान गयो, चार बच्चाबच्ची छन्, हाम्रो जीवन बर्बाद भयो ।’

उता प्रदेशिक अस्पताल जनकपुरले यादवको उपचारमा कुनै लापरबाही नभएको दाबी गरेको छ । ‘स्वाब संकलनदेखि १४ दिनसम्म आइसोलेसनमा राखेपछि कोरोनाको कुनै लक्षण नदेखिएपछि मात्रै घर पठाइएको हो,’ अस्पतालको आइसोलेसन वार्डका इन्चार्ज डा. जामुन सिंहले भने ।

आइसोलेसनबाट घर पठाउँदा पुनः स्वास्थ्य परीक्षण किन गरिएन भन्ने जिज्ञासामा उनले भने, ‘लक्षण नदेखिएका मानिसलाई पुनः जाँच गर्न निर्देशन छैन, यो नीति नेपाल सरकारको हो । त्यसकारण आइसोलेसनबाट डिस्चार्ज गर्ने वेलामा स्वास्थ्य परीक्षण गरिँदैन ।’

आत्महत्याको विषयमा उनले भने, ‘आत्महत्याको कुनै एउटै कारण हुँदैन, अनेक कारण हुन्छन्, त्यसको जिम्मेवारी हामीले लिँदैनौं, परीक्षण नभएकै कारण आत्महत्या गरेको भन्न सकिन्न, त्यसै पनि पछिल्लो समय आत्महत्याको केस ५० प्रतिशतले वृद्धि भएको छ ।’ नयाँ पत्रिका दैनिकबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७