डब्ल्युएचओले कोरोनाविरुद्ध अचूक औषधि कहिले नबन्न पनि सक्छ भन्नुको संकेत के ?


२० श्रावण २०७७, मंगलवार
who director general scaled

काठमाडौं, २० साउन । विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ) का प्रमुख डा. टेड्रोस एडहानम गेब्रियससले कोरोनाविरुद्ध खोप आउने आशा त छ तर, अहिलेसम्म यसको कुनै अचूक औषधि बनिसकेको छैन र सायद कहिले नबन्न पनि सक्छ भनेका छन् ।

उनले यसअघि पनि धेरै पटक कोरोना भाइरस कहिले निर्मूल नहुन पनि सक्ने भएकाले योसँगै बाँच्न सिक्नु पर्छ भनिसकेका छन् । उनले यो पनि भनिसकेका छन् कि कोरोना एकदमै फरक किसिमको भाइरस हो, यसले आफ्नो रूप परिवर्तन गरिरहन्छ । अनि यसलाई मौसम परिवर्तनले पनि कुनै असर पार्दैन किनकि यो मौसमी फ्लु होइन ।

तसर्थ यसबाट बच्न शारीरिक दूरी कायम गर्ने, राम्रोसँग साबुनपानी हात धुने तथा मास्क लगाउनेजस्ता नियम पालना गर्न विश्वका मानिसलाई डा. टेड्रोसको सुझाव छ ।

उनले भनेका छन्, ‘धेरै वटा खोप तेस्रो चरणको परीक्षणमा छन् र हामीलाई आशा छ, कुनै एउटा खोप कोरोना संक्रमणबाट मानिसलाई बचाउन प्रभावकारी हुनेछ । तर अहिलेसम्म यसको कुनै अचूक औषधि पत्ता लागिसकेको छैन र कहिले पत्ता नलाग्ने सम्भावना पनि उत्तिकै छ । यसर्थ हामीले कोरोना परीक्षण, आइसोलेसन र मास्कका माध्यमबाट कोरोना रोक्ने काम जारी राख्न जरुरी छ ।’

साथै उनले जुन आमालाई कोरोना संक्रमणको आशंका छ वा पुष्टि भएको छ, उनलाई स्तपान गराउन रोक लगाउन आवश्यक छैन ।

डा. टेड्रोसले यसअघि जुन महिनामा पनि भनेका थिए, ‘हामीलाई थाहा छ कि ठूलो मान्छेको तुलनामा बच्चालाई कोरोनाको जोखिम कम हुन्छ । तर बच्चालाई अन्य त्यस्ता धेरै रोगको जोखिम हुन सक्छ, जसलाई स्तनपानबाट रोक्न सकिन्छ । डब्ल्युएचओ प्रमाणका आधारमा के सल्लाह दिन्छ भने बच्चालाई कोरोनाको जोखिमभन्दा स्तनपानको फाइदा बढी छ ।’ एजेन्सी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७