यो पदको लडाई होइन, हामीसँग कुनै बदलाको भावना छैन

हामी फरक मत राखेर बस्दा हुने, अध्यक्ष फरक मतमा रहन सक्दैन ?


माधवकुमार नेपाल
प्रकाशित मिति : 6 August, 2020 7:14 pm

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)भित्रको शक्ति संघर्ष जारी छ । जारी समस्या समधानको निम्ती अध्यक्षद्धय केपी शर्मा ओली र प्रचण्डबीच अनेकौं छलफल र बसाई भए पनि समधानको शुत्र भेटिएको छैन । अन्तरबिरोध गहिरिदै गएको छ । यही मेसोमा २१ साउन २०७७ मा अध्यक्ष प्रचण्ड, वरिष्ठ नेताद्धय झलनाथ खनाल, माधवकुमार नेपाल र प्रवक्ता नारायणकाजी श्रेष्ठले नेकपा बिट हेर्ने पत्रकार र आफू निकटका पत्रकारलाई पछिल्लो अवस्थाको बारेमा ‘बिफ्रिङ्ग’ गरेका थिए । बहुचर्चित यो कार्यक्रममा वरिष्ठ नेताले के भनेका थिए ? वरिष्ठ नेताको भनाई जस्ताको तस्तै :

पार्टी एकताको पक्षमा उभिनु भएका, सबै खालका गुटबन्दीका बिरुद्धमा रहनु भएका, पार्टी बिभाजन गर्ने बिरुद्ध दृढताको साथ आफ्नो ठाउँबाट उभिरहनु भएका र पार्टीमा सबैलाई समेटेर एकताबद्ध बनाएर लैजाने पक्षमा उभिनु भएकाहरुलाई हामीले सम्झेका हौं । कतिपय साथीहरु छुट्नु भएको पनि होला । कम्युनिस्ट पार्टीलाई नेपाली जनताले ठूलो आशा र विश्वासका साथ मुलुकको बागडोर सम्हाल्न अवसर दिएका छन् । यो अवसरलाई हामीले योग्यता, क्षमता र सामूहिक बुद्धिको आधारमा अनि आजसम्मका अनुभवका प्रकाशमा हामीले जिम्मेवारी सम्हाल्नु छ । हामीले हाम्रो घोषणापत्र र पार्टी एकता गर्दा हामीले विचार अघि सारेका छौं, समाजवाद उन्मुख अर्थनीति बनाएर समाजवादको आधारशिला तयार गर्ने । यसैका आधारमा जनताले हामीलाई विश्वास गरेका छन् । जनताका ती अपेक्षाहरु, चाहनाहरु कति मात्रामा पूरा गर्न सक्यौं ? सक्यौं सकेनौं ? छलफल गर्ने उपयुक्त ठाउँ पार्टी कमिटी हुन्छ । केन्द्रको हकमा केन्द्रीय कमिटी हो । त्यो नससकेको अवस्थामा पोलिटब्यूरो हुनुपर्ने हो । पोलिटब्यूरोको नामैबाट तर्सिने भएकोले अहिलेसम्म बनेको छैन । विधानको सिधै उल्लंघन भएको छ । त्यसपछि रहेको स्थायी कमिटी त तर्साउने भूत भएको छ । बैठकको नाम लियो कि राति निद्रा नलाग्ने अवस्था भएको छ ।


अब पार्टीका बिभिन्न निकायहरु । पार्टीका निकायहरु सचिवालय होस्, स्थायी कमिटि होस् वा केन्द्रीय कमिटि । प्रदेशको हकमा प्रदेश कमिटिहरु, जिल्लाको हकमा जिल्ला किमिटिहरु, स्थानीय तहका कमिटिहरु, बिभिन्न जनवर्गीय संगठनसम्बद्ध कमिटीहरु नियमितरुपमा सञ्चालित हुनुपर्ने हो । तर, आज अवस्था के छ भने पार्टी एकीकरणको काम अघि बढ्न सकेको छैन । पार्टी एकीकरणका काम टुंग्याउने भनेर धेरैपटक प्रतिवद्धता जाहेर गरियो, त्यो समयमा कहिल्यै हुन सकेन । जबकि एकीकरणको यो काम टुंग्याउन कुनै गाह्रो छैन । पहिलो दिन बसेर एउटा विधि तोकिदिएको भए एक हप्तामा गर्न सकिन्थ्यो । यो एकीकरणको पहिलो अनुभव होइन । हाम्रो आफ्नै अनुभवका आफ्नै श्रृखला छ । विगतमा पनि हामीले बडो कुशलताका साथ काम गरेका छौं । अहिले पनि गर्न सकिन्छ । तर, विधिमा पर्छ ।

पारदर्शी ढंगले नचल्ने, म नै राज्य हुँ, म नै पार्टी हुँ भन्ने मान्यता भएकाले एकीकरणको काम पूरा हुन सकेको छैन । अहिलेसम्म पनि सल्लाहकार परिषद्, जेष्ठ कम्युनिष्ट मञ्च, लेखा, निर्वाचन किमटि, अनुशासन कमिटि यी कुनै पनि कमिटी बनेको छैन । यो सबै हेर्दा एक प्रकारले लठिभद्र अवस्था छ । एकप्रकारले पार्टी कागजमा सीमित हुन पुगेको छ । हजारौं हजार कार्यकर्ता असंगठित अवस्थामा छन् । र हप्ता, दिन महिना होइन वर्ष बितिसकेको छ । चिन्ता हुनुपर्ने ठाउँमा चिन्ता छैन । यी सबैले गर्दा हामी चिन्तित बनेका छौं । तर, अझ के ब्याख्या गर्न खोजिँदैछ भने म त महाधिवेशनबाट आएको हुनाले कसैले हटाउन सक्दैन । यसबारे धेरै बताइरहनु पर्लाजस्तो लाग्दैन ।

तत्कालिन दुई पार्टीका अध्यक्षलाई आ आफ्नो केन्द्रीय कमिटिको तर्फबाट अधिकार प्रदान गरियो । प्रापत अधिकारको आधारमा दुबै पार्टी विघटन गरियो । दुबै पार्टी बिघटन गरिएपछि नयाँ पार्टी र त्यसको संगठनात्मक स्वरुप अगाडि सारियो । केन्द्रीय समिति घोषणा गरियो । केन्द्रीय कमिटिको बैठक बस्यो र अनुमोदन र्गयो । र, त्यसकै आधारमा विधान बन्यो र सिंगो पार्टी त्यही विधानबाट चल्नुुपर्छ । कसैको मनोगत व्याख्याबाट चल्न सक्दैन ।
तपाईहरुले के बुझ्नुपर्छ भने यो पार्टी कुनै व्यक्तिविशेषले चलाइरहेको छ कि ? यो भ्रममा रहनुहुँदैन । हामी सबैको आ–आफ्नो जिम्मेवारी होला, त्यो जिम्मेवारी विधानले गरेको व्यवस्था अनुसार होला । विधान पल्टाएर हेरौं, पार्टी अध्यक्षका अधिकारहरु के–के छन् ? पार्टीको घोषणामा के लेखिएको छ ? हिजो मात्रै एकजना सम्मानित व्यक्ति मकहाँ आएर भन्नुभयो, दुईनेताका बीचमा सहमति हुन नसक्दा, महाधिवेशनसम्म सहमतिबाटै चल्नुपर्ने भएकाले कमरेडले विचौलियाको भूमिका खेल्नुपर्यो । मलाई पो विचौलिया बन्न भन्यो । यहाँ विचौलियाहरु बदनाम भइरहेका छन् । मैले पो विचौलियाको भूमिका खेल्नुपर्ने रे । मैले पो सेटिङ्ग गर्दै हिड्नुपर्ने रे ।

अनि मैले उहाँलाई विधान पढेर सुनाएँ । दङ्ग पर्नुभयो । ल हेर्नुस्, मसँग ओरिजिनल कागज छ, यहाँ त प्रष्ट लेखेको छ, की पार्टी भनेको लेलिनवादी संगठनात्मक सिद्धान्तको आधारमा, सामुहिक नेतृत्व र व्यक्तिगत उत्तरदायित्वका आधार प्रणालीको आधारमा सञ्चालित हुनेछ । पार्टीका सबै निर्णयहरु संगठनात्मक प्रणालीका आधारमा हुनेछन् । विधानले गरेको आन्तरिम व्यवस्थाका आधारमा हुने छ । बिधानको धारा ६० मा आँखा गयो । चस्माको पावर कम हुनेले पनि पढ्न सक्ने गरी बोल्डमा लेखेको रहेछ । बहुमतको निर्णय पार्टीको निर्णय । केही कन्फ्युजन नरहने गरी त्यो बेला कस्तो बुद्धि पुयाइएछ । शीर्षक नै लेखिएको रहेछ, बहुमतको निर्णय पार्टीको निर्णय । तर, अहिले स्थायी कमिटीमा भएकाहरुले कस्तो ब्याख्या गर्दैछन् भने महाधिवेशनसम्म जम्मै कुरो सहमतिबाट हुन्छ । ती मित्रले बिर्सिए, माधव नेपाल पनि यही कमिटीको एउटा महत्वपूर्ण व्यक्ति हो । सुरुदेखि कराइरहेको छ । फरक मत राख्नुस् भनेपछि खुरुक्क राखेर बसेको छ । अनि हामी फरक मत राखेर बस्दा हुने, अध्यक्ष फरक मतमा रहन सक्दैन ? अध्यक्षको पनि फरक मतमा रहन सक्छ ।

सचिवालय छ भने ५ जनाले गर्ने कमिटीको निर्णय हुन्छ । विवाद भयो भने स्थायी कमिटीमा जान्छ । त्यहाँबाट बहुमतले गर्ने निर्णय पार्टीको हुन्छ र केन्द्रीय कमिटीमा जान्छ । महाधिवेशन अगाडि केन्द्रीय कमिटी अन्तिम निकाय हुन्छ र बहुमतले निर्णय गर्न सक्छ । यसबारे तपाईहरु पनि प्रष्ट हुनुस्, पार्टी विचार, नीति र पद्दतिबाट चल्छ । र, यो सबैले पालना गर्नुपर्छ । आफ्नो आफ्नो तहको कमिटीभित्र कमिटी प्रणालीबाट चल्नुपर्छ । अहिले यसमै समस्या खडा भएको छ ।

समाजवादको कुन मोडलमा जाने ? बहुदलीय जनवादबारे के लेखिएको छ ? पार्टीमा बहस गर्न सकिन्थ्यो । यसबारे जेठ ३ को घोषणामा प्रष्ट देखिएको छ । हाम्रा लागि राष्ट्रको हित पहिलो हो । दोस्रो, जनताको हित हाम्रो केन्द्रविन्दुमा हुनेछ । तेस्रो, हामी कम्युनिस्ट भएकाले कम्युनिस्ट पार्टीको हित केन्द्रमा हुनेछ । त्यसबाटै हामी गाइडेड हुनुपर्छ । सबै व्यक्ति गौण हुन्छ । मान्छे आउँछन्, जान्छन्, आन्दोलन चलिरहन्छ ।

यसै सन्दर्भमा मैले हेरेँ चर्चा गर्न खोजेको थिए, समस्या कहाँ छ त ? पार्टीको बैठक समयमा नबस्ने । तपाईहरु देख्दै हुनुहुन्छ, अहिले हाम्रा अध्यक्ष र वरिष्ठ नेता सधैं धाइरहनुभएको छ बालुवाटारमा फकाउनका लागि । एकजना कमरेडले (म्यासेज) पठाउनुभएको थियो, बैठकबाट डराउने नेता, पानीबाट डराउने किसान को केही काम छैन । पार्टीको बैठकमा त हामी जस्तोसुकै विषयमा छलफल गर्दै आएका छौं । ताततातो भएको छरातोपिरो भएको छ । टेबुल ठोकाठोक भएको छ र, हल पनि भएको छ । सहमतिबाट भए सहमतिबाट, नभए बहुमतबाट हल हुन्छ । हामी कहिले बहुमतमा रहेका छौं, कहिले अल्पमतमा रहेका छौं । आफ्नै कमिटीका मान्छेले मान्दैनन् भने जबरजस्ती गर्न पाइँदैन । त्यसो हुनाले केही असमझदारी, अविश्वास छ भने बसौं, छलफल गरौं र सहज ढंगले पार्टीलाई अगाडि बढाउने काम गरौं । हाम्रो जोड यही हो ।

नियमित बैठक बसौं भनेका थियौ तर बैठक बसे पनि गम्भीर छलफल नहुनु, बीचबाटै छाडेर जानु र निरन्तर गुटगत क्रियाकलाप जारी राख्नु समस्या हो । पार्टी विधिसम्मतरुपमा नचलाउनु र पार्टी कागजमा सीमित हुनु, जनवर्गीय संगठनको एकता टुंगो लगाउन नसक्नु, आफूखुसी आफ्ना गुटका अयोग्य मान्छे वा गोजीबाट फुत्त निकाल्दै नियुक्ति दिने गरेको भ्रष्ट र आसेपासेहरुको संरक्षण हुने गरेको, पार्टीमा असहिष्णु व्यवहार हुने गरेको, पार्टीलाई बिसर्जनको अवस्थामा लाने गरेको छ सरकार सञ्चालनबारे पार्टीमा सल्लाह नहुनु जस्ता समस्या पनि देखिएका छन् ।

सरकारका कामबारे जनतामा गम्भीर प्रश्न खडा भएको छ । कुनै पनि सुझाव र आलोचनाप्रति असहिष्णु भएको, पार्टीमा चरम व्यक्तिवाद र कूटनीतिक मामिलामा समेत अयोग्यता प्रदर्शन गर्दै देशलाई गम्भीर नोक्सान पुर्याउने काम भएको छ । विषय यो हो ।तर, बिषय पदको हारलुछ हो । पदको लडाई हो भनेर प्रचार गरिएको छ । त्यसका लागि माधव नेपाल बालुवाटार गएर प्रभु मलाई प्रधानमन्त्री वा अध्यक्ष बनाउनुर्पयो भनेर भन्यो भनेर समाचार सम्प्रेष्ण गरिएको छ । यो सबै गलत हो ।

मैले प्रष्ट भनेको छु, हामीले प्रष्ट पारेका छौं, यो पदको लडाइँ होइन । यो सुबिधाको लडाई होइन । पार्टीलाई क्रान्तिकारी बनाउने, गतिशिल बनाउने विधिसम्मत रुपमा सञ्चालन गर्न राम्रो संस्कार हुर्काउन, जनतामा आशा जगाउन र जनतामा नयाँ आशा र विश्वास जागृत गराउने हो ।हामी पदका लागि लडेका पनि छैनौं । हामीले कुनै आग्रह÷पूर्वाग्रह पनि पालेका छैनौं, बदलाको भावना पनि छैन । राम्रो होस् भन्ने सोचाईका साथ लागेका छौं । बैठकमा जानुर्पयो, छलफल गर्नुर्पयो । सहमति भए सहमति, नभए बहुमतको निर्णय मान्नुर्पयो । अनि आफूलाई अनुशासन नलाग्ने, अरुबारे चाहिँ कुरा गरेर केही अर्थ छैन । यही शिलशिलमा अहिले बहस जारी छ ।

प्रतिक्रिया दिनुहोस्