महिला स्वास्थ्यकर्मी कुटिइन्, कुटपिट गर्ने युवक फरार


२६ श्रावण २०७७, सोमबार
nurse ykOrTwf4eQ

बैतडी, २६ साउन । बैतडीमा महिला स्वास्थ्यकर्मीमाथि कुटपिट भएको छ । जिल्लाको पुर्चौडी नगरपालिका–३ स्थित न्वादेउ स्वास्थ्य चौकी अन्र्तगतको नकाली नगर स्वास्थ्य केन्द्रमा कार्यरत २५ वर्षीया अनमी जानकी भट्टमाथि कुटपिट भएको हो ।

स्वास्थ्य केन्द्रमै बिरामीको उपचार गरिरहेका बेला आफूमाथि स्थानीय दुई युवकले कुटपिट गरेको भट्टले बताइन् । पुर्चौडी नगरपालिका–३ का २४ वर्षीय मोहन कुँवर र २१ वर्षीय वीरेन्द्र कुँवरले कुटपिट गरेको हो ।

स्थानीय एक बृद्धा बिरामीलाई स्लाईन चढाइरहेका र सोही बेला ती युवकले कुटपिट गरेको उनले बताइन् । उनले भनिन्, ‘बृद्धा आमा कान नसुन्ने र उहाँसँग ठूलो स्वरले बोल्दा स्वास्थ्यकर्मीले सेवा दिने तरिका यही हो भनेर गालीगलौच गर्दै कुटपिट गरे ।’ ती युवाको कुटपिटबाट जानकीको हातको औला भाचिँएको, मुख, छाती र टाउकोमा चोट लागेको छ । उनको हाटमा उपचार भइरहेको छ ।

आफू अहिले न्यायको खोजीका लागि नगरपालिकामा पुगेको जानकीले बताइन् । कुटपिट गर्ने ती युवकले स्वास्थ्य केन्द्रमा कार्यरत स्वीपर (कार्यालय सहयोगी) बिमला कुँवरमाथि पनि हातपात गर्नुका साथै कार्यालयमा रहेका कागजात पनि च्यातेको बताइएको छ ।

कुटपिटपश्चात जानकीले ती युवालाई पक्राउ गरी आवश्यक कार्वाहीका लागि प्रहरी चौकी पुरघाटमा निवेदन दिएकी छिन् ।

स्वास्थ्यकर्मीमाथि स्वास्थ्य संस्थामै कुटपिट र दुर्व्यवहार भएकाले आफू असुरक्षित रहेको न्वादेउ स्वास्थ्य चौकीका इञ्चार्ज गणेश धानुकले बताए । उनले भने, ‘स्वास्थ्यकर्मीमाथि कुटपिट गर्ने जोसुकैलाई पनि कानूनी कार्वाही हुनुपर्छ, स्वास्थ्यकर्मीलाई काम गर्ने वातावरण बन्नु पर्छ ।’

कुटपिट गर्ने युवक फरार
यसैबीच कुटपिट गर्ने ती दुबै युवक फरार रहेका छन् । फरार रहेका मोहन कुँवर र वीरेन्द्र कुँवरको खोजी जारी रहेको प्रहरीले जनाएको छ ।

महिला स्वास्थ्यकर्मीमाथि कुटपिट भएको भन्ने उजुरी आएको र घटनाको थप अनुसन्धान भइरहेको बैतडीका प्रहरी प्रमुख, प्रहरी नायव उपरीक्षक नारायणप्रसाद अधिकारीले जानकारी दिए । फरार रहेका युवकलाई नियन्त्रणमा लिएर घटनाबारे अनुसन्धान हुने जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७