कोरोना कहर : भारतबाट लुकिछिपी आवतजावत गर्नेहरूका कारण गाउँ नै आक्रान्त


२७ श्रावण २०७७, मंगलवार
korona

सप्तरी, २७ साउन । भारतसँग सीमा जोडिएको सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका–२, लौनियामा मात्र ४२ जनामा सङ्क्रमण पुष्टि भएको छ । नजिकको भारतीय बजार कुनौलीमा आवतजावत गरेका कारण लौनियामा यति ठूलो संख्यामा सङ्क्रमित भेटिएको हो ।

राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा गरिएको पीसीआर परीक्षणमा पछिल्लो पटक थप पाँच जनामा कोरोना सङ्क्रमण देखिएपछि लौनियामा सङ्क्रमितको संख्या ४२ जना पुगेको स्वास्थ्य कार्यालय सप्तरीका निमित्त प्रमुख दुनियालाल यादवले बताए ।

तिलाठी कोइलाडी गाउँपालिका भरिमा भने १२ महिलासहित ८८ सङ्क्रमित छन् । सप्तरी जिल्लामा सङ्क्रमितको संख्या ६७ महिलासहित ५७६ पुगेको छ । सप्तरी जिल्लामै सबभन्दा बढी सङ्क्रमित भएको स्थानीय तहमा तिलाठी कोइलाडी दोस्रो स्थानमा छ ।

तिलाठी कोइलाडीमा भएका सङ्क्रमितको आधा संख्या लौनियामै छन् । लौनियाका पान पसले, चिया पसले, कपाल काटने ठाकुरसहित २५ जना सर्वसाधारणको साउन १८ गते एकै दिन सङ्क्रमण पुष्टि भएको थियो । त्यसपछि लौनियामा समुदायस्तरमै स्वाब सङ्कलन परीक्षण गरिएको थियो ।

विषसेवनपछि गम्भीर अवस्था भएका लौनियाका ५० वर्षीय एक व्यक्तिलाई गजेन्द्रनारायण सिंह अस्पतालको आकस्मिक कक्षमा उपचार भएको थियो । उपचारकै क्रममा उनमा साउन ९ गते कोरोना भाइरस (कोभिड १९) सङ्क्रमण पुष्टि भएको थियो ।

त्यसपछि ट्रयाकिङ र ट्रेसिङ गर्दै जाँदा उनको परिवारका पाँच जना, सम्पर्कमा आएका पुरुष र उनको उपचारमा संलग्न तीन स्वास्थ्यकर्मीमा सङ्क्रमण पुष्टि भएको थियो ।

खुला सीमानाका कारण भारतको कुनौली बजारमा लुकिछिपी आवतजावत गर्नेहरूका कारण गाउँ आक्रान्त बनेको भन्दै गाउँपालिका अध्यक्ष सतिशकुमार सिंहले अवस्था नियन्त्रण गर्न कुनौली नाकामा भइरहेको आवतजावतलाई रोकिएको बताए । गोरखापत्र दैनिकबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७