पत्नी र पैसा लुटिएका एक सिपाहीको कारुणिक पीडा


३ भाद्र २०७७, बुधबार
army 1

धुलिखेल, ३ भदौं । ‘म एक पीडित सिपाही हुँ, घर धुलिखेल–१० काभ्रे हो । एक वर्ष अगाडि शान्ति मिसन जाँदा मेरी श्रीमतीलाई लठ्याउने औषधि ख्वाएर शारीरिक सम्बन्ध राख्न बाध्य बनाउने धुलिखेल नगरपालिका–१० का कुमार धिमाल अहिले फरार छ ।

उसले भिडियो खिची बारम्बार गरगहना र मैले कमाएको सबै पैसा लुट्ने काम गर्‍यो । श्रीमतीले विष सेवन गरी बाँचेपछि घटनाबारे विस्तृत थाहा पाएका श्रीमान्को कारुणिक कथा हो यो ।

शुक्रबार बिहान १०.०९ बजे । फेसबुकमा स्टाटस पोस्ट भयो । केही मिनेटभित्रै स्टाटस धेरैले शेयर गरे । पीडा सहन नसकेर उनले श्रीमतीबारे आफ्नै वालमा पोस्ट गरे । दाजु सन्तोष भण्डारीले भाइको पीडामा मल्हम लगाउन २०७७ साउन २६ जिल्ला प्रहरी कार्यालय भक्तपुरमा दर्ता नम्बर ११ अन्तर्गत मुलुकी अपराध संहिता २०७४ को करणीसम्बन्धी कसुरअन्तर्गत मुद्दा दर्ता गरेका छन् ।

साविक शारदा बतासे गाविस–७, हालको धुलिखेल नगरपालिका–१० घर भएका कुमार धिमालले सन्तोष भण्डारीकी भाउजूमाथि गरेको जबरजस्ती करणीमा उजुरी दर्ता भएको हो । धिमाल नेपाली कांग्रेसको वडा समिति सभापति हुन् ।

श्रीमान विदेश गएका, जागिरमा भएका तर नियमित घर नआउने अवस्थाका महिलाको घरमा प्रवेश गर्ने, सहयोग जस्तो गर्ने र बेहोस बनाउने औषधि सेवन गराएर शारीरिक सम्वन्ध राख्ने, भिडियो समेत खिचेर पटक–पटक ब्लाकमेलिङ गर्ने कुमार धिमाल फन्दामा परेका छन् । कोरोनाको त्रास छ । नेपाली सेनाका एक होनहार सिपाही भने आफ्नै श्रीमतीमाथि भएको अत्याचारमा कारवाहीका लागि हारगुहार मागिरहेका छन् ।

घटना विवरणअनुसार, २०७७ असार २२ गते दिउँसो १ बजे भक्तपुर जिल्ला सूर्यविनायक नगरपालिका–१० स्थित रोज रेस्टुरेण्टमा कुमार धिमालले जबरजस्ती करणी गरेका थिए । एक छोरा र छोरी छन् । ०७६ भदौ ५ गते एक वर्षअघिको कुरा हो । एक्लै धन्दा गरी बसेको र परिवार घर बाहिर भएको मौका छोपी कुमार धिमाल महिलाको घरमा दिउँसो १२ बजे पसेर करणी गरेका हुन् । करणी मात्र नगरी फोटो र भिडियो समेत खिचियो ।

महिलाले कसैलाई भन्न सकिनन् तर कुमार धिमालले धेरैलाई यो कुरा भन्न थाले । उल्टै ब्लाकमेलिङ गर्न थाले । पुनः २०७७ असार २२ गते घरमै बसिरहेको अवस्थामा धिमालले सुन्थान चोकमा बोलाए । आउने भए आऊ, नआउने भए अस्ति खिचेको भिडियो र फोटो सार्वजनिक गरिदिन्छु भने । महिला बाध्य भएर गइन् ।

चोकमा पुगे लगत्तै धिमालले आफ्नो स्कुटरमा राखेर भक्तपुरको सूर्यविनायक नगरपालिका–१० ताथलीस्थित रोज रेस्टुरेन्टमा पुर्‍याई कोठा नम्बर १ मा करणी गरे । करणीपश्चात पुरानै शैलीमा भिडियो र फोटो खिचेर स्कुटरकै पछाडि राखी पनौती बसपार्कमा ल्याएर छाडिदिए । महिलाले मानसिक तनाव झेल्न सकिनन् । अनेक दबाब भए ।

त्यही क्रममा २०७७ असार २३ गते श्रीमानले फोन गरी बनेपामा तलब निकाल्न गएर फर्किएसँगै पुनः कुमार धिमालले फोन गरेर धम्क्याए । उसले पटक–पटक केही नगद, केही सुन समेत लिएको छ । समूहबाट ऋण निकालेर समेत उसलाई पैसा दिइएको छ । शरीर त लुट्यो–लट्यो श्रीमानले विदेशबाट कमाएर ल्याएको, तलबको रकम समेत बाँकी राखेन ।

महिलाले त्यही दिन असार २३ गते राति किरा मार्न घरमा ल्याएर राखेको विष सेवन गरेर आत्महत्याको प्रयास गरिन् । आत्महत्याबाट बालबाल बचिन् । तत्काल धुलिखेल अस्पताल पु¥याइयो । त्यहाँ नसक्ने बताएसँगै काठमाडाैंको केएमसी लगियो ।

त्यहाँबाट वीरेन्द्र सैनिक अस्पताल छाउनी पुर्‍याइयो । केही दिनको उपचारपछि निको भयो । विस्तारै कारण खुल्दै गए । सोधखोज भयो । सुरक्षा गर्ने र अपमान नहुने शर्तमा महिलाले घटनाबारे सम्पूर्ण विवरण सुनाएको खबर जनआस्था साप्ताहिकले छापेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७