बुटवलमा एक कोरोना संक्रमितको मृत्यु


५ भाद्र २०७७, शुक्रबार
butwal hospital

बुटवल, ५ भदौं । बुटवलमा एक कोरोना संक्रमितको मृत्यु भएको छ । बुटवलस्थित धागो कारखानास्थित कोरोना विशेष अस्पतालमा प्यूठानका ६४ वर्षीय मानबहादुर गौतमको कोरोना संक्रमणका कारण मृत्यु भएको कोरोना विशेष अस्पतालका फोकल पर्सन डा.सुदर्शन थापाले जानकारी दिएका छन् ।

उनी स्वर्गद्वारी नगरपालिका–७, सोत्रेका हुन् । उनी भदौ १ गते कोरोना विशेष अस्पतालमा भर्ना भएका थिए । भारतबाट रोजगारी गरेर फर्किएका गौतम नगरपालिकाले बनाएको क्वारेन्टिनमा बसेका थिए ।

स्वाव जाँच गर्दा उनमा कोरोना पुष्टि भएको थियो । त्यसपछि उनको प्यूठानमै उपचार भइरहेको थियो तर, संक्रमण पुष्टि भएपछि उनमा खोकी लाग्ने ज्वरो आउने र स्वाश प्रस्वासमा समेत समस्या देखिएपछि बुटवल ल्याइएको थियो । यहाँ उनको भेन्टिलेटरमा राखेर उपचार जारी थियो ।

सुगर र उच्च रक्तचापको विरामी समेत रहेका उनको आज बिहान साढे ६ बजे निधन भएको डा.थापाले जानकारी दिए । उपचारकै क्रममा गौतमलाई निमोनिया पनि देखिएको अस्पतालले जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७