उपत्यकामा आइसोलेसन निर्माणमा अलमल, सक्रिय संक्रमितमध्ये ६० प्रतिशत होम आइसोलेसनमा


१३ भाद्र २०७७, शनिबार
korona 4

काठमाडौं, १३ भदौं । कोरोना भाइरसको संक्रमण सबैभन्दा बढी काठमाडौं उपत्यकाकै जिल्लाहरूमा देखिन थालेको छ । संक्रमितहरू होम आइसोलेसनमा बसिरहेका छन् । तर, संघीय राजधानी भए पनि आइसोलेसनको व्यवस्था भने हुन सकेको छैन ।

काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले ३ भदौमा विज्ञप्ति जारी गर्दै भनेका थिए, ‘उपत्यकामा एक साताभित्र पाँच हजार बेड आइसोलेसन बनाउँछौँ ।’ त्यही दिन काठमाडौं जिल्ला कोभिड– १९ संकट व्यवस्थापन केन्द्रले पनि आइसोलेसन बेड थप्नुपर्ने आवश्यकता रहेको औँल्याउँदै केन्द्रलाई सुझाब पठाएको थियो । तर, एक सातापछि पनि आइसोलेसन बेड थप्ने प्रक्रिया अघि बढेको छैन ।

शुक्रबार पनि आइसोलेसन निर्माणका विषयमा छलफल भएको छ । यसअघि बिहीबार स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकाल र उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलसँग काठमाडौंका मेयर शाक्यसहित उपत्यकाका मेयर र विज्ञहरूको टोलीले आइसोलेसन बेड थप्नेबारे छलफल गरेको थियो ।

‘उपत्यकामा थप ६ हजार बेड आइसोलेसन निर्माण गर्नेबारे छलफल भएको छ,’ काठमाडौंका मेयर शाक्यले भने, ‘स्वास्थ्य मन्त्रालयले दुई हजार बेड निर्माण गर्ने र बाँकी चार हजार बेड प्रदेश र स्थानीय सरकारले निर्माण गर्ने निर्णय भएको छ ।’

मन्त्री तथा मेयरहरूको छलफलले गरेको आइसोलेसन बेड निर्माणसम्बन्धी निर्णय पनि तत्काल कार्यान्वयन हुने भने देखिएको छैन । अब यस विषयमा कोभिड– १९ केन्द्रीय संकट व्यवस्थापन केन्द्रले मन्त्रिपरिषद्लाई सिफारिस गर्नेछ भने मन्त्रिपरिषद्ले निर्णय गरेपछि मात्रै कार्यान्वयन हुनेछ ।

‘आइसोलेसन बेड तत्कालै आवश्यक छन्, तर निर्णय प्रक्रिया लामो छ,’ मध्यपुरठिमी नगरपालिकाका मेयर मदनसुन्दर श्रेष्ठले भने, ‘सायद मन्त्रिपरिषद्ले निर्णय गरेर कार्यान्वयनमा जाँदा सोमबारसम्म लाग्छ कि ।’

उपत्यकामा आठ सय ९० मात्रै आइसोलेसन बेड
संक्रमितको संख्या बढे पनि सरकारले त्यहीअनुसार आइसोलेसन बेडहरू तयारी राखेको छैन । उपत्यकामा सरकारले भने जस्तो होम आइसोलेसन पनि सहज देखिँदैन । काठमाडौं उपत्यकामा करिब ४० लाख मानिस बस्छन् । एकै घरमा धेरै परिवार बस्ने भएकाले संक्रमितलाई होम आइसोलेसनमा बसाल्दा झन् जोखिम बढ्ने जनाएको छ ।

अहिले उपत्यकामा सरकारको निगरानी तथा व्यवस्थापन रहेका आठ सय ९० बेड आइसोलेसन छन् । खरिपाटी तालिम केन्द्रमा दुई सय आठ, भक्तपुर अस्पतालमा २५, शुक्रराज अस्पतालमा ५०, एपिएफ अस्पतालमा एक सय २०, टिचिङ अस्पतालमा आठ, पाटन अस्पताल, कीर्तिपुर आयुर्वेद अस्पताल र काठमाडौं मेडिकल कलेजमा एक–एक सय, ह्याम्स अस्पतालमा ३०, ग्रान्डी अस्पतालमा १९, वीरेन्द्र अस्पतालमा ८० र नेपाल पुलिस अस्पतालमा ५० बेड आइसोलेसन छन् । त्यस्तै, सरकारले काठमाडौंको कान्तिपुर अस्पताल र जनमैत्री अस्पताललाई पनि कोभिड अस्पतालको रूपमा सञ्चालन गर्ने भएको छ ।

६० प्रतिशत संक्रमित होम आइसोलेसनमा
काठमाडौं उपत्यकामा शुक्रबार एकैदिन अहिलेसम्मकै धेरै चार सय १५ जना संक्रमित थपिए । शुक्रबार काठमाडौंमा तीन सय ५०, ललितपुरमा ११ र भक्तपुरमा ५४ जना संक्रमित थपिएका हुन् ।

योसँगै उपत्यकामा चार हजार आठ सय ११ तथा काठमाडौंमा तीन हजार आठ सय पाँच, भक्तपुरमा चार सय १९ र ललितपुरमा पाँच सय ८७ जना संक्रमित पुगेका छन् । उपत्यकामा संक्रमितमध्ये तीन हजार नौ सय २७ जना सक्रिय संक्रमित छन् । तीमध्ये काठमाडौंमा तीन हजार ९३, भक्तपुरमा तीन सय १७ र ललितपुरमा पाँच सय १७ जना छन ।

समुदायस्तरमै संक्रमण फैलिन थालेपछि संक्रमणको दर पनि बढेको र अधिकांशले होम आइसोलेसनमै बस्ने चाहना राख्न थालेको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. वासुदेव पाण्डेले बताए ।

‘संक्रमितमध्ये लक्षण देखिएकालाई हामीले अप्सन नै दिँदैनौँ, उहाँहरूलाई अस्पताल ल्याइन्छ,’ डा. पाण्डेले भने, ‘लक्षण नदेखिएका संक्रमितलाई स्थानीय तहको समन्वयमा होम आइसोलेसनमै बस्ने स्वीकृति दिइरहेका छौँ । सक्रिय संक्रमितमध्ये ६० प्रतिशतभन्दा बढी घरमै हुनुहुन्छ ।’

क्वारेन्टिन बनाउन ठाउँ खोजिँदै
उपत्यकामा लक्षण नदेखिएका र विदेशबाट आएकालाई राख्ने गरी एकीकृत क्वारेन्टिन निर्माणका लागि गृह मन्त्रालयका सचिव महेश्वर न्यौपानेको नेतृत्वमा रहेको समन्वय समितिले काम थालेको छ ।

तीनै जिल्लामा कोभिड– १९ संकट व्यवस्थापन केन्द्रमार्पmत क्वारेन्टिन निर्माणका लागि सम्भावित ठाउँहरूको पहिचान सुरु भएको मन्त्रालयका प्रवक्ता चक्रबहादुर बुढाले बताए । ‘स्वास्थ्य मन्त्रालयले अस्पतालहरूमै थप दुई हजार बेड आइसोलेसन बढाउने र प्रदेश तथा स्थानीय तहले बाँकी चार हजार बेड क्वारेन्टिन बनाउने गरी काम सुरु भएको छ,’ उनले भने ।

प्रवक्ता बुढाका अनुसार उपत्यकामा क्वारेन्टिन बनाउन उपयुक्त हुने खाली भवन, विद्यालय, क्याम्पसका छात्रवासको पहिचान गर्न थालिएको छ । ‘आइसोलेसनका लागि नयाँ संरचना निर्माण गर्न सम्भव छैन, भएका हल, भवन र आवासहरूलाई प्रयोग गर्नेबारे छलफल भएको छ,’ काठमाडौंका मेयर शाक्यले भने । काठमाडौंमा पनि जिल्ला संकट व्यवस्थापन केन्द्रले क्वारेन्टिन स्थल बनाउन ठाउँ खोजिरहेको छ ।

भक्तपुरमा सानोठिमी र बोडेमा एक सय ९१ बेड क्वारेन्टिन निर्माण गर्ने तयारी भइरहेकोे प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले बताइन् । सानोठिमीस्थित प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटी)अन्तर्गतको प्राविधिक प्रशिक्षण प्रतिष्ठान (टिआइटिआई)मा ५०, सानोठिमीकै युसेफ नेपालको होस्टेलमा ७५ र बोडेस्थित कृषि बैंकको तालिम केन्द्रमा ६६ बेडको क्वारेन्टिन बनाउने तयारी भएको प्रजिअ पाण्डेले बताइन् । अन्य कलेज, विद्यालय र सम्भावित ठाउँमा क्वारेन्टिन वा आइसोलेसन बनाउनेबारे निरन्तर छलफल भइरहेको उनले जानकारी दिइन् ।

यस्तै, ललितपुरमा पनि स्टाफ कलेजमा ९०, तुलसीराम स्मृति प्रतिष्ठानमा ८५, पशु अनुसन्धान प्रयोगशाला खुमलटारमा ९३, भैँसेपाटी तालिम केन्द्रमा ३२, ज्यापू समाजमा ५० बेड क्वारेन्टिन व्यवस्थापन गर्ने निर्णय भएको सहायक प्रमुख जिल्ला अधिकारी ललित बस्नेतले बताए ।

ललितपुर महानगरले यसअघि नै एन्फा कम्प्लेक्समा ५० बेड क्वारेन्टिन सञ्चालन गरेको छ । त्यसलाई बढाएर सय बेड बनाउने तयारी छ । ‘यीमध्ये कतिपय ठाउँमा पहिल्यै क्वारेन्टिनका रूपमा तयारी छन्, संक्रमित बढ्दै गए लक्षण नदेखिएका संक्रमितलाई राख्ने गरी आइसोलेसनका रूपमा पनि प्रयोग गर्न सकिन्छ,’ बस्नेतले भने ।

२४ घन्टामा १२ संक्रमितको मृत्यु

पछिल्लो २४ घन्टामा कोरोना संक्रमितबाट १२ जनाको मृत्यु भएको छ । यससँगै संक्रमणबाट मृत्यु हुने संख्या एक सय ९५ पुगेको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार शुक्रबार मोरङका ५६ र ६५, भक्तपुरका ६४ तथा मकवानपुरका ७१ वर्षीया महिलाहरूको मृत्यु भएको छ । त्यस्तै, उदयपुरका ५२, पर्साका ७२, धनुषाका ४५, सिराहाका ५५, झापाका ८३, चितवनका ५१, कास्कीका ५२ र रूपन्देहीका ६० वर्षीय पुरुषको पनि मृत्यु भएको छ ।

मन्त्रालयका अनुसार शुक्रबार देशभर नौ सय २७ नयाँ संक्रमित देखिएका छन् । यससँगै संक्रमितको संख्या ३६ हजार चार सय ५६ पुगेको छ । निको हुनेको संख्या केही दिनयता न्यून छ । अहिले देशभर १६ हजार १९ सक्रिय संक्रमित छन् । उनीहरूमध्ये ६ हजार चार सय ४६ जना घरमै बसिरहेका छन् । त्यस्तै, अस्पताल भर्ना भएकाहरूमध्ये एक सय ८६ जना आइसियूमा छन् । देशभरका क्वारेन्टिनमा आठ हजार नौ सय ३९ जना बसिरहेका छन् ।

थप तीन निजी अस्पतालमा कोरोनाको उपचार
स्वास्थ्य मन्त्रालयले थप तीन निजी अस्पताललाई कोभिड अस्पताल बनाएको छ । मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार वीरगन्जको नेसनल मेडिकल कलेज शिक्षण अस्पताल, काठमाडौंको कान्तिपुर अस्पताल र जनमैत्री अस्पताललाई कोभिड अस्पतालका रूपमा सूचीकृत गरिएको हो । अन्य अस्पतालहरूलाई पनि क्रमशः कोभिड अस्पतालका रूपमा सूचीकृत गर्दै लैजाने मन्त्रालयले जनाएको छ ।

काठमाडौंको घट्टेकुलोस्थित प्रस्तावित काठमाडौं नेसनल मेडिकल कलेजको भवन खाली छ । सो भवनमा अत्याधुनिक उपकरणसहितका चार सय शैंया रहेका छन् । कलेज सञ्चालकले आफ्नो भवन निःशुल्क प्रयोग गर्न पटक–पटक अनुरोध गरेका छन् । तर, स्वास्थ्य मन्त्रालयले त्यसतर्फ चासो देखाएको छैन ।

मन्त्रालयले कोरोना उपचारका लागि काठमाडौं उपत्यकामा एक हजारसहित देशभर एक हजार नौ सय ५७ शैंया थप गरेको जनाएको छ । संक्रमितको संख्या बढ्न थालेपछि सरकारले अस्पतालमा बेडसंख्या बढाएको हो । नयाँ पत्रिका दैनिकबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७