दसैंमा कोरोना संक्रमण गाउँ-गाउँमा फैलिन सक्छ, २४ घण्टामै २७२२ जनामा संक्रमण


१७ आश्विन २०७७, शनिबार
korona 1 1

काठमाडौं, १७ असोज । संक्रमण लकडाउनकै बखत तीव्र रूपमा बढ्दै गएको र यो चाडपर्वसँगै गाउँका कुनाकुनामा पुग्ने स्थिति रहेको जनस्वास्थ्य विज्ञहरुले औंल्याएका छन् ।

राष्ट्रिय इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका पूर्वप्रमुख डा. बाबुराम मरासिनीले अहिलेकै जस्तो लापरबाही हुने हो भने दसैं-तिहारमा पहाडी जिल्लामा समेत फैलिने स्थिति रहेको बताए । ‘दसैं आउँदैछ, अब घर जानेहरूले गाउँ-गाउँमा पुर्‍याउने स्थिति छ,’ उनले भने। दैनिक ७० भन्दा बढी जहाजबाट आउनेका कारण पनि संक्रमण गाउँगाउँमा पुग्ने स्थिति रहेको उनको विश्लेषण छ ।

यही अवस्थामै थप फैलिन नदिन सरकारले आवतजावत गर्नेहरुको २४ घण्टे पिसिआर रिपोर्ट हेरेर मात्र पठाउने र रिपोर्ट नहुनेलाई बाटैमा जाँच गरी आइसोलेसनमा राख्ने व्यवस्था मिलाउनुपर्ने सुझाए । ‘लक्षण नभएकाको छिटो परीक्षणका लागि शुल्क घटाएर ७ सय ५० लिनुपर्‍यो, लक्षण भएकाको निःशुल्क गर्नुप-यो,’ उनले भने ।

संक्रमितमध्ये १० देखि १५ प्रतिशतमा मात्र कडा लक्षण देखिने भएकाले यो समूहका लागि उपचार व्यवस्थापनमा ध्यान दिनुपर्ने डा. मरासिनी र राष्ट्रिय इपिडिमियोलोजी महाशाखाकै जनस्वास्थ्य अधिकृत उत्तमकुमार कोइरालाको सुझाव छ ।

आइसोलेसनमा बस्नेका लागि भन्दा अस्पताल भर्ना हुनेका लागि आइसियु, अक्सिजन र भेन्टिलेटर भएका शड्ढयामा वृद्धि गर्नुपर्छ,’ कोइरालाले भने । उपचार सेवा प्रभावकारी भए संक्रमितको मृत्युदरमा कमी ल्याउन सकिने उनीहरूको तर्क छ ।

हाल उपत्यकाका हकमा बैंक, प्रहरी, स्वास्थ्यकर्मी, मालपोत जस्ता सेवा प्रवाह गर्ने कार्यालय, सपिङ मल र बजारबाट बढी संक्रमण फैलिरहेको पाइएकाले यी ठाउँलाई पूणर् रूपमा संक्रमणविहीन बनाउने मापदण्ड लागू हुनुपर्ने डा. मरासिनीको सुझाव छ । ‘शून्य संक्रमणयुक्त सेवा दिनेगरी यी ठाउँमा मापदण्ड पालना हुनुपर्छ,’ उनले भने ।

२४ घण्टामै २७२२ जनामा संक्रमण
उपत्यका र बाहिरका मुख्य सहरहरूमा कोरोना संक्रमणले तीव्रता पाएपछि दैनिक संक्रमित संख्या तीव्र गतिले बढेको छ । असोज ९ गते १३ सय ३१ जना नयाँ संक्रमित थपिएकोमा शुक्रबारसम्म आइपुग्दा दैनिक संक्रमित संख्या २ हजार ७ सय २२ पुगेको छ । शुक्रबार थपिएका कुल संक्रमितमध्ये उपत्यकामा मात्र ६० प्रतिशत छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकअनुसार शुक्रबार काठमाडौंमा १ हजार २ सय ८० जना, भक्तपुरमा १ सय ९६ र ललितपुरमा १ सय ६२ गरी १ हजार ६ सय ३८ जना थप संक्रमिति भेटिए । दैनिक संक्रमितको यो संख्या अहिलेसम्मकै उच्च हो ।

एक महिनादेखि काठमाडांै उपत्यका, प्रदेश २ र मोरङमा केन्द्रित संक्रमण अहिले अन्य ठूला सहरमा पनि तीव्र रूपमा फैलिँदै गएको तथ्यांकले आंैल्याएको छ । गत २४ घण्टामा मोरङ, बाँके, सुर्खेत, रूपन्देहीलगायत जिल्लामा पनि संक्रमण दरमा वृद्धि भइरहेको छ ।

शुक्रबार भएको संक्रमण दर परीक्षणमध्ये १८.४६ प्रतिशत हो। गत २४ घन्टामा १४ हजार ७ सय ३९ वटा नमुना परीक्षण भएका थिए । दैनिक वृद्धि भइरहेको कोरोना संक्रमणका कारण मृत्यु संख्या पनि दैनिक एक दर्जनको हाराहारीमा छ । गत २४ घन्टामा थप ११ जनाको मृत्यु भएको छ ।

कुल संक्रमितमध्ये हालसम्म ६० हजार ६ सय ९६ जना अर्थात् ७३.६ प्रतिशत निको भएका छन् । हाल सक्रिय संक्रमितको संख्या २१ हजार २ सय ३४ छ । तीमध्ये ११ हजार ७ सय ६० जना होम आइसोलेसन र ९ हजार ४ सय ७४ जना संस्थागत आइसोलेसनमा छन् । गम्भीर लक्षण भएका २ सय १० जना आइसियुमा र २९ जना भेन्टिलेटरमा उपचाररत छन् ।

कोरोना संक्रमणको दर वृद्धि हुँदै गएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले वृद्ध र जोखिम समूहलाई जोगिन र जोगाउन अनुरोध गरेको छ । तर आफ्नो नियन्त्रण रणनीति भने अघि सारेको छैन । ‘कोही घरमा आए नजिक नजानू, वृद्धवृद्धालाई मास्क लगाएर दुई मिटर टाढाबाट भेट्नू,’ मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले भने । नागरिक दैनिकबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७