यो वर्षको चिकित्सा विज्ञानतर्फको नोबेल पुरस्कार ‘हेपाटाइटिस सी’ भाइरस पत्ता लगाउने तीन वैज्ञानिकलाई


१९ आश्विन २०७७, सोमबार
thumb 1

काठमाडौं, १९ असोज । सन् २०२० को चिकित्सा विज्ञानतर्फको नोबेल पुरस्कार तीन जना वैज्ञानिकलाई दिइने भएको छ । सोमबार एक कार्यक्रमका बीच स्विडिस एकेडेमी चिकित्सातर्फको नोबेल पुरस्कार विजेता घोषणा गरेको हो ।

यस वर्षको चिकित्सातर्फको नोबेल पुरस्कार ‘हेपाटाइटिस सी’ भाइरस पत्ता लगाउने तीन जना वैज्ञानिक हार्भी जे एल्टर, माइकल हटन र चाल्र्स एम राइसलाई दिइएको हो । विजेतालाई स्वर्ण पदक र संयुक्त रुपमा ११ लाख १८ हजार अमेरिकी डलर दिइनेछ ।

सन् २०१९ मा चिकित्सा विज्ञानतर्फको नोबेल पुरस्कार बेलायतका सर पिटर ऱ्याक्लिफ तथा अमेरिकाका विलियम कायलिा र ग्रेग सिमेन्जालाई दिइएको थियो । उनीहरुलाई कोषहरुले अक्सिजनको मात्रालाई कसरी चिन्छन् र अंगीकार गर्छन् भन्ने कुरा पत्ता लगाएका कारण नोबेल पुरस्कार दिइएको थियो ।

चिकित्सा विज्ञानतर्फ पहिलो नोबेल पुरस्कार सन् १९०१ मा इमिल भोन बेहरिङले पाएका थिए । ‘सिरम थेरापी’ विकास गरेका कारण उनलाई चिकित्सातर्फको नोबेल पुरस्कार दिइएको थियो । त्यस्तै चिकित्सा विज्ञानका लागि कम उमेरमा नोबेल पुरस्कार पाउने व्यक्ति फ्रेडरिक ब्यान्टिङ हुन् ।

उनले सन् १९२३ मा जोन जेम्स रिकार्ड म्याकलिओडसँगै चिकित्सा विज्ञानका लागि नोबेल पुरस्कार पाएका थिए । नोबेल पुरस्कार पाउँदा उनी ३२ वर्षका थिए ।

यस वर्षको भौतिक शास्त्रतर्फको नोबेल पुरस्कार अक्टोबर ६, रसायनशास्त्रतर्फको अक्टोबर ७, साहित्यतर्फ अक्टोबर ८, शान्तिका लागि अक्टोबर ९ र अर्थशास्त्रका लागि अक्टोबरमा १२ विजेता घोषणा गरिनेछ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७