बल्ल बढ्न थाले जलविद्युत् कम्पनीका शेयर मूल्य : महिना दिनमै ३ सय अंकले बढ्यो


२१ आश्विन २०७७, बुधबार
hydro power

काठमाडौं, २१ असोज । लामो समयदेखि निरन्तर घटिरहेको जलविद्युत् कम्पनीका शेयर मूल्य बल्ल बढ्न थालेको छ ।

दुई महिनाअघिसम्म अंकित मूल्यभन्दा निकै तल रहेको जलविद्युत् कम्पनीका शेयरमा अहिले लगानीकर्ताको आकर्षण बढ्न थालेको छ । बजार निरन्तर बढेर अन्य समूहका शेयर मूल्य उक्लिएपछि लगानीकर्ता जलविद्युत् कम्पनीतिर मोडिएका हुन् ।

एक महिना अघिसम्म कतिपय कम्पनीको शेयर मूल्य सय रुपैयाँभन्दा निकै कम थियो । गत ६ सेप्टेम्बरमा १ हजार ७६ दशमलव ४८ अंकमा रहेको उपसूचक २९५ अंकले बढेर ६ अक्टुबरमा १ हजार ३७१ दशमलव ३० मा पुगेको छ ।

बढी मूल्य भएकाहरूको पनि अन्य समूहका कम्पनीको भन्दा तुलनात्मक रूपमा कम छ । यही कारण लगानीकर्ताको आकर्षण जलविद्युत् क्षेत्रमा बढेको हो ।

दुई महिनाअघिसम्म दोस्रो बजारमा सूचीकृत कम्पनीमध्ये १८ वटा जलविद्युत् कम्पनीको शेयर मूल्य अंकित मूल्यभन्दा निकै तल झरेको थियो । तर, अहिले सबै कम्पनीका सेयर मूल्य बढेर सय रुपैयाँमाथि नै कारोबार भइरहेका छन् ।

कोरोना भाइरसको प्रभावबीच पनि जलविद्युत् क्षेत्रमा अन्य क्षेत्र जस्तो बृहत् प्रभाव नपरेका कारण यसतर्फ लगानीकर्ताको आकर्षण बढेको नेपाल इन्भेस्टर फोरमका अध्यक्ष छोटेलाल रौनियार बताउँछन् । उनले भने, ‘उत्पादित बिजुली अहिले प्राधिकरणले किनिरहेका कारण आयोजनामा आम्दानी भइरहेको छ ।’

अर्कोतर्फ अहिले सरकारले जलविद्युत् क्षेत्रलाई प्राथमिकतामा राख्दै आएको छ । बैंक तथा वित्तीय संस्थाले पनि सस्तो ब्याजमा लगानी गर्नुका साथै सेयर लगानीकर्ताले समेत सस्तो ब्याजमा लगानी गर्न पाएका छन् ।

जलविद्युत् आयोजनालाई दिने भनेको सहुलियत अर्थात् ५० लाखको प्याकेज समेत सरकारले दिने प्रतिबद्धता गरेको छ । जुन केहीले पाइसकेका छन् । यसकारण जलविद्युत्मा लगानीकर्ताको आकर्षण बढेको अध्यक्ष रौनियारले बताए । राजधानी दैनिकबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७