सभामुखले बोलाएको बैठकमा संसदीय छानबिन समिति बनाउनेबारे जुटेन सहमति


२५ बैशाख २०८१, मंगलवार
savamukh ra shirsa neta ko baithak suru

काठमाडौं । सभामुख देवराज घिमिरेले सिंहदरबारमा राखेको शीर्ष नेताहरूको बैठक विना निष्कर्ष सकिएको छ । बैठकमा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सहकारी प्रकरणमा संसदीय छानबिन समिति गठन गर्नुपर्ने अडान दोहोर्‍याएको छ ।

बैठकपछि प्रमुख सचेतक रमेश लेखकले संसदीय छानबिन समिति गठनको माग नै दोहोर्‍याइएको बताए । ‘सहकारीमा लाखौं बचतकर्ताको रकम अपचलन भएको छ । यसमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको संलग्नता रहेको कुरा देखिएको छ,’ उनले भने, ‘हामीले गृहमन्त्रीको राजीनामा मागेको छैन । मुद्दा अहिले नै चलाउनु पर्छ भनेको छैन । तर उहाँबारे कुरा उठेपछि संसदीय छानबिन समिति बनाउनु पर्छ भनेका छौं ।’

तर सत्ता पक्षले समग्रतामा सहकारी प्रकरणबारे अनुसन्धान गर्न तयार रहेको बताएका थिए । बैठकमा सत्तारूढ नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले गृहमन्त्रीले संसदमा बोल्न पाउनुपर्ने बताएका थिए । कांग्रेसले अघिल्लो अधिवेशनमा पनि सहकारी प्रकरणमा गृहमन्त्री जोडिएकोले संसदीय समिति गठनको माग गरेको थियो । मंगलबारको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली, रास्वपा सभापति रवि लामिछानेलगायत सहभागी थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७