कोरोनाबाट थप १२ जनाको मृत्यु, नेपालमा मृतक संख्या ७२७ पुग्यो


प्रकाशित मिति : १ कार्तिक २०७७, शनिबार ००:००

काठमाडौं, १ कार्तिक । पछिल्लो २४ घण्टायता १२ जना कोरोना संक्रमितको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ७२७ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यसअघि शुक्रबार २१ जना कोरोना संक्रमितको मृत्यु भएको थियो ।

काठमाडौं उपत्यकामा १७ सय ४६ सहित देशभर थपिए ३१ सय ६७ कोरोना संक्रमित
पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप १७ सय ४६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले उपत्यकाका तीन जिल्लामा थप १ हजार ७४६ जनामा कोरोना पुष्टि भएको बताए । प्रवक्ता गौतमले काठमाडौँमा १ हजार ४५१ भक्तपुरमा १४३ ललितपुरमा १५२ संक्रमित भएको बताए ।

नेपालमा पछिल्लो २४ घण्टामा थपिएका ३१ सय ६७ कोरोना संक्रमितमध्ये काठमाडौं उपत्यकाका १७ सय ४६ जना हुन् । पछिल्लो २४ घण्टामा एक हजार ८०० संक्रमित निको भएर घर फर्किएका छन् ।

नेपालमा अहिले सक्रिय संक्रमितको संख्या ३८ हजार ७३७ रहेको छ । नेपालमा कोरोना संक्रमितको संख्या एक लाख २९ हजार ३०४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्