दिल्ली क्यापिटल्समाथि कोलकाताको सानदार जित


८ कार्तिक २०७७, शनिबार
PN 0759

काठमाडौं,८ कार्तिक । इन्डियन प्रिमियर लिग (आइपिएल) को ४२ औं खेलमा कोलकाता नाइट राइडर्सले दिल्ली क्यापिटल्समाथि ५९ रनको सानदार जित निकालेको छ ।

जितका लागि १ सय ९५ रनको विजयी लक्ष्य पछ्याएको दिल्लीले २० ओभरमा ९ विकेटको क्षतिमा १ सय ३५ रन बनाउन सक्यो । स्पिनर वरुण चक्रबर्तीले उत्कृष्ट प्रर्दशन गर्दै पाँच विकेट लिएपछि सानदार जित निकालेकाे हाे । दिल्लीले पहिलो ओभरको पहिलो बलमै ओपनर अजिंक्या रहाणेलाई शून्यमा गुमाएको थियो । रहाणेलाई प्याट कमिन्सले शून्यमा एलबिडब्लू आउट गरेका थिए । तेस्रो ओभरको तेस्रो बलमा कमिन्सले शिखर धवनलाई ६ रनमा बोल्ड आउट गर्दै कोलकातालाई उत्कृष्ट सुरुवात दिलाएका थिए ।

तेस्रो विकेटका लागि कप्तान श्रेयस ऐर र ऋषभ पन्तले ६३ रनको साझेदारी गर्दै इनिङ सम्हाल्न खोजेपनि स्पिनर बरुण चक्रबर्तीले पूरा हुन दिएनन् । १२ औं ओभरको दोस्रो बलमा बरुणले पन्तलाई सुभमन गिलबाट २७ रनमा उत्कृष्ट क्याच आउट गराउँदै उक्त साझेदारी तोडेका थिए । पन्तले ३३ बलमा २ चौका र १ छक्का प्रहार गरे ।

बरुणको १४ औं ओभरको दोस्रो बलमा शिम्रन हेटमायर राहुल त्रिपाठीबाट १० रनमा क्याच आउट हुन पुगे । लगत्तै अर्को बलमा ऐर कमलेश नगरकोटीबाट ४७ रनमा क्याच आउट भएपछि दिल्लीको जित टाढिएको थियो । ऐरले ३८ बलमा ५ चौका प्रहार गरे ।

चक्रबतीले १६ औं ओभरमा मार्कस स्टोइनिस र अक्षर पटेलको विकेट लिदै जित सहज बनाएका थिए । १६ औं ओभरको पहिलो बलमा स्टोइनिस ६ रनमा त्रिपाठीबाट क्याच आउट भए । चार बलपछि अक्षर पटेल ९ रनमा बोल्ड आउट हुन पुगे ।

तल्लोक्रममा कागिसो रबाडा ९ र तुषार देशपान्डे १ रनमा आउट भए । रविचन्द्रन आश्विन १४ रनमा अविजित रहे । स्पिनर बरुण चक्रबर्तीले ४ ओभरमा २० रन खर्चेर ५ विकेट लिदै जित पक्का गराए । प्याट कमिन्सले ४ ओभरमा १७ रन खर्चेर ३ विकेट लिए । लोकी फर्गुसनको नाममा एक विकेट रह्यो ।

त्यसअघि शेख जायद स्टेडियम आबूधाबीमा टस हारेर ब्याटिङको निम्तो पाएको कोलकाताले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १ सय ९४ रन बनाएको थियो । कोलकातालाई बलियो योगफलमा पुर्याउन नितेश राणा र अलराउन्डर सुनिल नारायणले शतकीय साझेदारी गरेका थिए । उत्कृष्ट ब्याटिङ गरेका नितेशले ५३ बलमा १३ चौका र १ छक्का सहित ८१ रनको योगदान दिए ।

नारायणले ३२ बलमा ६ चौका र ४ छक्का सहित ६४ रनको योगदान दिए । चौथो विकेटका लागि नितेश र सुनिलले १ सय १५ रनको शतकीय साझेदारी गरेपछि कमजोर सुरुवातको बाबजुद उत्कृष्ट पूनरागमन गर्दै कोलकाताले बलियो योगफल तयार पारेको हो ।

तीव्र गतिका बलर एनरिच नोर्कियाले दोस्रो ओभरको पाँचौ बलमा ओपनर सुभमन गिललाई अक्षर पटेलबाट ९ रनमा क्याच आउट गराउँदै पहिलो सफलता दिलाएका थिए । नोर्कियाले छैटौं ओभरको चौथो बलमा राहुल त्रिपाठीलाई १३ रनमा बोल्ड आउट गर्दै दोस्रो सफलता दिलाए । आठौं ओभरको दोस्रो बलमा कागिसो रबाडाले पन्तबाट दीनेश कार्तिकलाई तीन रनमा क्याच आउट गराएपछि कोलकाता ४२–३ को कमजोर अवस्थामा पुगेको थियो ।

तर चौथो विकेटका लागि सुनिल नारायण र नितेश राणाले उत्कृष्ट साझेदारी गरेपछि कोलकाताले दिल्लीसामु बलियो लक्ष्य प्रस्तुत गरेको हो । यी दुईबीचको साझेदारी रबाडाले १७ औं ओभरको चौथो बलमा अजिंक्या रहाणेबाट नारायणलाई क्याच गराउँदै तोड्न पुगेका थिए । ठूलो सट खेलेका नारायण स्क्वायर लेग बाउन्ड्री नजिक समातिन पुगेका थिए ।

नितेशलाई अन्तिम ओभरको पाँचौ बलमा मार्कस स्टोइनिसले तुषार देशपान्डेबाट क्याच आउट गराएका थिए । नितिशले अर्धशतक प्रहार गरेपछि शुक्रबार ज्यान गुमाएका आफ्ना ससुरा सुरिन्दरको नाम अंकित जर्सी देखाउँदै उनलाई समपर्ण गरेका थिए । अन्तिम बलमा ठूलो सट खेलेका कप्तान ओईन मोर्गन ९ बलमा २ चौका र १ छक्का सहित १७ रनमा रबाडाबाट क्याच आउट हुन पुगे ।

एनरिच नोर्कियाले ४ ओभरमा २७ रन खर्चेर २ विकेट लिए । कागिसो रबाडाले ४ ओभरमा ३३ रन खर्चेर २ विकेट लिए । मार्कस स्टोइनिसले ४ ओभरमा ४१ रन खर्चेर २ विकेट हात पारे । दिल्लीले अव मंगलबार सनराइजर्स हैदराबादसँग खेल्ने छ । कोलकाताले किंग्स इलेभेन पन्जाबसँग सोमबार खेल्ने छ ।

आइपिएलको अंक तालिका

मुम्बई १० खेलमा ७ मा जित र ३ मा हार सहित १४ अंकका साथ शीर्षस्थानमा छ । दिल्ली क्यापिटल्स ११ खेलमा ७ मा जित र ४ मा हार दोस्रो स्थानमा छ । बेंगलोर १० खेलमा ७ मा जित र ३ मा हार सहित तेस्रो स्थानमा छ । कोलकाता ११ खेलमा ६ मा जित र ५ मा हार सहित चौथो स्थानमा छ । सनराइजर्स हैदराबाद १० खेलमा ६ मा हार र ४ मा जित सहित पाँचौ स्थानमा छ ।

पन्जाब १० खेलमा ६ मा हार र ४ मा जित सहित ८ अंक जोड्दै छैटौं स्थानमा छ । राजस्थान ११ खेलमा ७ मा हार र ४ मा जित सहित सातौं स्थानमा पुगेको छ । चेन्नई सुपर किंग्स ११ खेलमा ८ मा हार र ३ मा जित सहित पुछारमा छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७