मुकेश चौरसिया हत्या प्रकरण : पूर्व सभासद गुप्तासहित १२ जनाविरुद्ध जाहेरी दर्ता

एक सातादेखि प्रदर्शन जारी, चौरसियाको शवको पोष्टमार्टम भोलि गरिने


१३ कार्तिक २०७७, बिहीबार
c3c5366065023ea10a21fe8ba7974d55 w1000 h500 cp 2

काठमाडौं, १३ कार्तिक । गत बिहीबार शपथ ग्रहण कार्यक्रममा नेकपाका दुई पक्षबीचको झडपमा परी मृत्यु भएका विन्दवासनी गाउँपालिकाका सचिव मुकेश चौरसियाको घटनामा संलग्नविरुद्ध आज (बिहीबार) सरकारी वकिल कार्यालय पर्सामार्फत जाहेरीसहितको निवेदन दर्ताको भएको छ ।

जिल्ला सरकारी वकिल कार्यालय पर्सामार्फत जिल्ला प्रहरी कार्यालय पर्सामा नेकपाका पूर्व सभासद राजकुमार गुप्तासहित १२ जनालाई कारबाहीको माग राख्दै जाहेरीसहितको निवेदन दर्ताको भएको हो ।

mukesh vFiIMJfWmI

गुप्ता प्रधानमन्त्री एवम नेकपा अध्यक्ष केपी शर्मा ओली निकट नेता मानिन्छन् । घटनाका बेला आक्रमण गर्ने दुई जना उनको घरबाट पक्राउ परेका थिए । त्यसैले नेकपा कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षले मुख्य योजनाकार गुप्ता नै भएको आरोप लगाइरहेका छन् ।

नेकपाकै दुई पक्षबीच झडप हुँदा गम्भीर घाइते भएका चौरसियाको उपचारको क्रममा मृत्यु भएको हो।सरकारी वकिल कार्यालयमार्फत मृतकका भाइ महेश चौरसियाले जाहेरीसहितको निवेदन दर्ता गराएको पर्सा जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी उपरीक्षक गंगा पन्तले जानकारी दिएकी छिन् ।

उनले मृतक चौरसियाको घटनामा संग्लनविरुद्ध वकिल कार्यालयमार्फत आएको जाहेरीसहितको निवेदनमा अनुसन्धान गरेर कारबाही अगाडि बढाइने बताएकी छिन् । घटनामा संग्लनविरुद्ध शुरुमा पर्सा प्रहरीमा लगेको जाहेरीलाई नै सरकारी वकिल कार्यालयमार्फत जिल्ला प्रहरी कार्यालय पर्सामा दर्ता भएको सरकारी वकिल कार्यालयका वकिल पदम कार्कीले बताएका छन् ।
एक सातादेखि प्रदर्शन जारी
चौरसियाको घटनामा संलग्नविरुद्ध जाहेरी दर्ताको माग गर्दै एक सातादेखि प्रदर्शन हुँदै आएको छ ।
बिहीबार बिहान १२ बजेदेखि जिल्ला प्रहरी कार्यालयअगाडि नेकपा पर्साका नेता तथा कार्यकर्ताले घटनामा संलग्नविरुद्ध जाहेरी दर्ताको माग राख्दै प्रहरीविरुद्ध प्रदर्शन गरेका छन् । उनीहरूले घटनामा संलग्न व्यक्तिलाई कर्तव्य ज्यान मुद्दाको जाहेरी दर्ता गर्न माग गर्दै प्रदर्शन गरेको बताए ।

mukesh

पर्सा प्रहरीले घटनाबारे आवश्यक अनुसन्धान गर्न ढिलासुस्ती गरेको भन्दै मृतकका परिवारजनले लाश बुझ्न मानेका छैनन् । तर, मुद्दा दर्ता भएपछि चौरसियाको पोस्टमार्टम पनि भोलि हुने भएको छ ।

नारायणी उपक्षेत्रीय अस्पतालमा राखिएको चौरसियाको शवको भोलि (शुक्रबार) बिहान पोस्टमार्टम हुने र आफ्नै गाउँमा अन्त्येष्टि गरिने भएको छ । जिल्ला प्रहरी कार्यालयअगाडि शान्तिपूर्ण प्रदर्शनमा सहभागीले दोषीलाई कारबाही नगरेसम्म आन्दोलन जारी रहने बताएका छन् ।

चौरसियाको घटनामा संलग्नलाई पर्सा प्रहरीले बचाउन हालसम्म जाहेरी दर्ता गर्नै नमानेको भन्दै पर्सा प्रहरीविरुद्ध प्रदर्शन गर्दै आएको बताएका हुन् । चौरसियाको घटनामा संलग्नविरुद्ध जाहेरी दर्ता गर्न प्रहरीको माथिल्लो निकायबाट निर्देशन आए पनि पर्सा प्रहरी आलटाल गरिरहेको आरोप उनीहरूको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७