चेन्नईसँग पराजित हुँदै पन्जाब लिगबाट बाहिरियो


१६ कार्तिक २०७७, आईतवार
Chennai punjab 1024x629 1

काठमाडौं, १६,कार्तिक । इन्डियन प्रिमियर लिग (आइपिएल) मा किंग्स इलेभेन पन्जाब लिग चरणबाटै बाहिरिएको छ । आइतबार साँझ चेन्नई सुपर किंग्ससँग ९ विकेटले पराजित हुँदै पन्जाब जारी आइपिएलमा लिग चरणबाटै बाहिरिने दोस्रो टोली बनेको हो ।

चेन्नई यसअघि नै आइपिएल इतिहासमा पहिलो पटक लिग चरणबाट बाहिरिसकेको थियो । जितका लागि १ सय ५४ रनको विजयी लक्ष्य पछ्याएको चेन्नईले १८.५ ओभरमा १ विकेटको क्षतिमा पूरा गर्दै सुखद अन्त्य गरेको हो ।

युवा ब्याट्सम्यान रितुराज गायकवाड ४९ बलमा ६ चौका र १ छक्का सहित ६२ रनमा अविजित रहे । रितुराजको यो लगातार तेस्रो अर्ध शतक हो । अम्बाती रायुडु ३० बलमा २ चौका सहित ३० रनमा अविजित रहे । ओपनर फाफ डु प्लेसिस ३४ बलमा ४ चौका र २ छक्का सहित ४८ रनमा क्याच आउट भएका थिए ।

चेन्नईका ओपनर फाप डु प्लेसिस र रितुराज गायकवाडले पहिलो विकेटका लागि ९।५ ओभरमा ८२ रन जोड्दै उत्कृष्ट सुरुवात दिलाएका थिए । यी दुई ओपनरबीचको साझेदारी क्रिस जोर्डनले फाप डु प्लेसिसलाई कप्तान राहुलबाट क्याच गराउँदै तोडेका थिए ।

त्यसअघि शेख जायद स्टेडियम आबुधाबीमा टस हारेर ब्याटिङको निम्तो पाएको पन्जाबले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १ सय ५३ रन बनाएको थियो । दीपक हुडाले हुडा ३० बलमा ३ चौका र ४ छक्का सहित ६२ रनमा अविजित रहेपनि जितको लागि पर्याप्त रहेन । क्रिस जोर्डन ४ रनमा अविजित रहे ।

पन्जाबलाई ओपनर मयंक अग्रवाल र कप्तान लोकेश राहुलले राम्रो सुरुवात दिलाएका थिए । छैटौं ओभरको दोस्रो बलमा लुन्गी एनगिडीले अग्रवाललाई बोल्ड आउट गर्नुअघि ४८ रनको साझेदारी गरेका थिए । अग्रवालले १५ बलमा ५ चौका सहित २६ रनमा बोल्ड आउट भए । राहुललाई एनगिडीले नवौं ओभरको तेस्रो बलमा २९ रनमा बोल्ड आउट गरे ।

राहुलले २७ बलमा ३ चौका र १ छक्का प्रहार गरे । दुई ओभर पछि निकोलस पुरन २ रनमा क्याच आउट भएपछि पन्जाब समस्यामा परेको थियो । शार्दुल ठाकुरको ११ औं ओभरको चौथो बलमा पुरन धोनीबाट समातिन पुगेका थिए । पुरन आउट भएको अर्को ओभरमा अर्का प्रमुख ब्याट्सम्यान क्रिस गेल १२ रनमा एलबिडब्लू आउट भए । १९ बल खेलेका गेललाई इमरान ताहिरले १२ औं ओभरको पाँचौ बलमा एलबिडब्लू आउट गरेपछि चेन्नईले खेलमा पकड जमाएको थियो ।

पन्जाबका तल्लोक्रमका ब्याट्सम्यानले पनि ठूलो इनिङ खेल्न नसकेपछि मध्यम योगफलमा समेटिएको हो । १७ औं ओभरको दोस्रो बलमा मन्दीप सिंहलाई रविन्द्र जडेजाले १४ रनमा बोल्ड आउट गरे । मन्दीपले १५ बलमा १ चौका प्रहार गरे । जेम्स निसम २ रनमा क्याच आउट हुन पुगे । एनगिडीको बलमा ठूलो सट खेलेका निसम डीप मिडविकेटमा रितुराज गायकवाडले उत्कृष्ट क्याच लिएका थिए ।

चेन्नईका तीव्र गतिका बलर लुन्गी एनगिडीले ४ ओभरमा ३९ रन खर्चेर ३ विकेट लिए । इमरान ताहिरले ४ ओभरमा २४ रन खर्चेर १ विकेट लिए । रविन्द्र जडेजाले ३ ओभरमा १७ रन खर्चेर १ विकेट लिए । शार्दुल ठाकुरको नाममा एक विकेट रह्यो । मुम्बई शीर्षस्थानमा रहँदै प्ले अफमा पुगेको छ । चेन्नई र पन्जाब बाहेक अन्य पाँच टोली मध्य तीन टोलीले प्ले अफमा स्थान बनाउने छन् ।

आइपिएलको अंक तालिका

मुम्बई १३ खेलमा ९ मा जित र ४ मा हार सहित १८ अंकका साथ शीर्षस्थानमा छ । रोयल च्यालेन्जर्स बेंगलोर १३ खेलमा ७ मा जित र ६ मा हार सहित १४ अंक जोड्दै दोस्रो स्थानमा छ । दिल्ली १३ खेलमा ७ मा जित र ६ मा हार सहित १४ अंकका साथ तेस्रो स्थानमा छ । हैदराबाद १३ खेलमा ७ मा हार र ६ मा जित सहित १२ अंकका साथ चौथो स्थानमा उक्लिएको छ ।

किंग्स इलेभेन पन्जाब १४ खेलमा ६ मा जित र ८ मा हार सहित १२ अंकका साथ पाँचौ स्थानमा रहँदै बाहिरिएको छ । राजस्थान १३ खेलमा ६ मा जित र ७ मा हार बेहोर्दै १२ अंकका साथ छैटौं स्थानमा छ । चेन्नई १४ खेलमा ६ मा जित र ८ मा हार सहित १२ अंकका साथ सातौं स्थानमा रहेर बाहिरिएको छ । कोलकाता १३ खेलमा ७ मा हार र ६ मा जित सहित १२ अंकका पुछारमा रहेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७