देशको हित नहुने भयो भन्ने लागे अर्को फड्को हान्छु : प्रचण्ड


२७ माघ २०७४, शनिबार
prachanda

चितवन, २७ माघ : नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले देशको हित नहुने भएमा आफूले फड्को हान्ने बताएका छन् ।  महाबौद्ध गुम्बा, तीनखोलेको उद्घाटन समारोहलाई शनिबार सम्बोधन गर्दै प्रचण्डले देशलाई अप्ठ्यारो पर्न लाग्यो भने कुनै उपाय निकालेर अगाडि बढ्ने बताए।

Puspa Kamal Dhal parchanda
फाइल तस्बिर

 

राजनीतिमा आफ्नो कुनै स्वार्थ नभएको बताउँदै प्रचण्डले देश संकटमा परेको बेला विगतमा र अहिले पनि आफूले सबै समूह, शक्तिबीचको तिक्तता र विवादलाई साम्य गरी निकासतर्फ अघि बढाउने भूमिका खेलेको बताए। उनले भने, ‘म अहिले जुन किसिमले हिँडेको छु, यसबाट देश र जनतालाई फाइदा पुग्ने लागेन भने म फडको मार्न सक्छु।’ उनले थपे, ‘अब प्रचण्ड भनेकै त्यही भइसक्यो। माओवादी भनेकै त्यही भइसक्यो। अप्ठ्यारो पर्न लाग्यो भने कुनै न कुनै उपाय निकालेर अगाडि बढ्ने।’

देश समुन्नत र समृद्ध बनाउनु आफ्नो उद्देश्य रहेको उनको भनाइ थियो। उनले भने, ‘शान्तिपूर्ण र समृद्ध नेपालका लागि नै मैले आफ्नो जीवन समर्पित गरेको छु।’ देशमा अल्पसंख्यक, जनजाति, मधेसी, महिला, दलित, भौगौलिकरुपमा उत्पीडित जनता, किसान र मजदूरका पक्षमा लामो लडाई लडेर आफू शान्ति प्रक्रियामा आएको बताउँदै प्रचण्डले प्रश्न गरे, ‘१२ बुँदे समझदारी र शान्ति सम्झौता नगरेको भए देश कहाँ पुग्थ्यो?’ एमाले र माओवादीबीच पार्टी एकीकरणमा ढिलाइ भइरहेको बेलामा प्रचण्डको यस्तो भनाइ आएको छ। पार्टी एकीकृत भइसकेपछि प्रधानमन्त्री एमाले अध्यक्ष केपी शर्मा ओली बन्ने निश्चित भइसके पनि पार्टी अध्यक्ष को बन्ने भन्ने निश्चित भएको छैन।

पार्टी अध्यक्ष र प्रधानमन्त्री दुबै नेताले बाँड्नुपर्ने माओवादी पक्षको दावी छ। एमालेका दोस्रो तहका नेताहरुले दुबै पद अध्यक्ष ओलीलाई हुनुपर्ने बताइरहेका बेला प्रचण्डको यस्तो भनाइ सार्वजनिक भएको हो। कार्यक्रममा प्रचण्डले बुद्ध धर्मको संरक्षण गर्न अधिकार सम्पन्न प्राधिकरण आवश्यक भएको बताए। गुम्बा निर्माण समितिभन्दा प्रभावकारी र शक्तिशाली निकाय आवश्यक परेको भन्दै उनले प्राधिकरण निर्माणमा जोड दिए।

बुद्ध धर्म प्रगतिशील

संविधानले सबै धर्मलाई समान रुपमा सम्मान गरेको उल्लेख गर्दै प्रचण्डले हाम्रो संस्कार त्यस्तो बनिनसकेको बताए। राजनीतिले कुनै धर्मलाई काखा र कुनै धर्मलाई पाखा गर्न नहुने बताएका उनले जनताको आफ्नो आस्था नखोसियोस् भनेर राज्यलाई धर्मनिरपेक्ष घोषणा गरिएको बताए। प्रचण्डले झड्केलो सन्तानका रुपमा अरु धर्मलाई हेरिने गरेको बताउँदै भने, “सिद्धान्तमा स्थापित छ, तर व्यावहारिक बनाउन सकिएको छैन।”

बुद्ध धर्म प्रगतिशील भएको बताउँदै उनले शान्तिका लागि बुद्धधर्मले महत्वपूर्ण भूमिका खेलेको बताए। चितवनको विकास, राजनीति र भाषाभाषीलाई चासो र चिन्ताका रुपमा आफूले लिएको बताउँदै उनले सुन्दर, सभ्य जिल्लाका रुपमा विकास गर्न गुरुयोजना बनाएर काम गर्न सकिने बताए।

कांग्रेससँग संवाद र सहकार्य नगरी विकास अगाडि बढ्न नसक्ने बताउँदै प्रचण्डले सबैलाई सहमतिमा ल्याएर देशको विकास गर्न आवश्यक रहेको बताए। कार्यक्रममा शिक्षा राज्यमन्त्री शेषनाथ अधिकारीले राजनीतिक पद्धतिको लडाइँको अन्त्य भएको भन्दै अब विकासका लागि अघि बढ्नुपर्ने बताए। अब बन्ने वाम गठबन्धनको सरकारलाई विकासको चुनौती रहेको बताउँदै उनले जनताको आशा र अपेक्षाअनुसार काम गर्नसमेत आग्रह गरे।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७